• २५ पुस २०८१, बिहिबार

‘कलाकार राष्ट्रका अमूल्य सम्पदा’

blog

काठमाडौँ, पुस २४ गते  । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारिताको माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने कलाकार राष्ट्रका अमूल्य सम्पदा भएको बताउनुभएको छ । अरनिको स्मृति दिवसका अवसरमा नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा मङ्गलबार राजधानीमा आयोजित सङ्घको ३० औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अरनिकोको कलाशिल्पकै कारण विश्वले नेपालको कलाकारितालाई पनि चिनेको बताउनुभयो । उहाँले भन्नुभयो, “कला क्षेत्रमा संलग्न कलाकारको मुलुक निर्माणमा योगदान रहेकाले उहाँहरूको सम्मानजनक स्थान रहेको छ ।” 

कार्यक्रमका संयोजक प्रेम श्रेष्ठले सङ्घले विगत ३० वर्षदेखि डेरा भाडा तिर्दै व्यावसायिक कला प्रवर्धनका लागि वार्षिक योजना बनाएर काम गरिरहेकोमा राज्यले पनि कला क्षेत्रको उत्थानका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका संस्थापक अध्यक्ष भोलामणि हार्तमछालीले तीस वर्षअगाडि दक्षिणकालीमा वनभोजको आयोजना गरी स्थापना गरिएको संस्थाले अनवरत काम गरिरहेको र पुरस्कार, सम्मान थपिने क्रममा रहेको बताउनुभयो ।  

कलाकार राधेश्याम मुल्मीको संयोजकत्वमा गठन गरिएको निर्णायक समितिले देशभरका १५ जना कलाकारलाई छनोट गरेको थियो । सो अवसरमा सङ्घ अन्तर्गत स्थापना भएका १५ वटा पुरस्कार, सम्मान कलाकारलाई प्रदान गरिएको  थियो । कार्यक्रमा हेमगङ्गा युवा कला पुरस्कारबाट कलाकार केदार दाहाल, हेमगङ्गा नारी कला प्रतिभा पुरस्कारबाट इन्दु पन्त, क्यान आइडियल कला पुरस्कारबाट विपिन श्रेष्ठ र अमात्य कला पुरस्कारबाट सुन्दर लामा पुरस्कृत हुनुभयो ।

त्यसै गरी मुल्मी ग्राफिक्स डिजाइन अवार्डबाट राजन काफ्ले, निर्वाण कला मोफसल सम्मानबाट वीरगन्जकी कलाकार स्मिता श्रीवास्तव, सुरेन्द्र प्रधान दीर्घ कला–साधक सम्मानबाट वरिष्ठ कलाकार गोविन्दनारायण ज्यापू पुरस्कृत हुनुभयो । व्रmोधकला शिरोमणि पुरस्कारबाट मनबहादुर विक, क्यान सिग्देल आर्ट पुरस्कारबाट डा. कृष्ण ओझा, बालकृष्ण स्मृति पुरस्कारबाट देवेन्द्र पौड्याल, नारायणीदेवी स्मृति पुरस्कारबाट कला लेखक रवीन्द्रराज भण्डारी, राजेश मानन्धर कार्टुन एवार्डबाट पदम घले पुरस्कृत हुनुभयो । ज्ञानी शाह क्यान अमूर्त कलासम्मानबाट कलाकार रमेश खनाल, ठाकुरप्रसाद इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट भुवन थापा तथा ऋचा मैनाली रिजाल स्मृति पुरस्कारबाट प्रश्ना बुढामगर पुरस्कृत हुनुभयो । 

सङ्घका अध्यक्ष आइबी मल्लले कला सिर्जनासँगै व्यावसायिकताको पनि प्रवर्धन गर्दै कला क्षेत्रको विकासलाई सङ्घले काम गर्दै आएको बताउनुभयो । उहाँले सङ्घको स्थापनाकालदेखि नै विविध विधामा काम गर्ने  कलाकारको हौसला बढाउन कलाकारहरू स्वयंले स्वस्फूर्त रूपमा पुरस्कारकोव्यवस्था गरेको बताउनुभयो । 

Author

शिवा तामाङ