काठमाडौं, पुस २२ गते । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् ।
सोमवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरु दर्ता गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी ३४ वटा उजुरीहरु अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । उजुरीहरुको बारेमा अध्ययन गर्नका लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ । उहाँले कतिपय उजुरीहरु समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म ५८ वटा उजुरीहरु सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरु समितिमा पुगेका छन् । उजुहरीहरुको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौं । कतिपय उजुरीहरु हाम्रो कार्य क्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरुको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौं ।’
बैठकमा अधिकांश सांसदले समितिमा प्राप्त उजुरीहरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राख्नुभयो । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरुमा सुनुवाइ गर्नुपर्ने बताउनु भयो ।