चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्ममा उक्त परिमाणमा काठ (गोलिया) निकासी भएको हो ।
डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्सिर मसान्तसम्ममा कुल चार लाख २६ हजार २५३ क्युविक फिट काठ निकासी भएको छ । वन अधिकृत पासवानले निजी वनबाट सो काठ निकासी भएको बताउनुभयो । उत्तिस, चिलाउने, मलातोजस्ता प्रजातिका काठ निकासी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार निकासी भएको काठको उक्त परिमाण पाँच महिनाको विवरण भए पनि अधिकांश तीन महिनाभित्र निकासी गरिएका हुन् । बर्खा यामका कारण साउन र भदौ महिनामा खासै काठ निकासी नभएको तथा असोज, कात्तिक र मङ्सिरमा अधिकांश काठ निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यता सो परिमाणको काठ (गोलिया) निकासी हुँदा मूल्य अभिवृद्धि करअन्तर्गत एक करोड ३० लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै सोही काठ निकासीबाट प्रदेश सेवा शुल्कबापत एक लाख ६५ हजार रुपियाँ रकम सङ्कलन भएको सोमबार बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा वन अधिकृत पासवानले जानकारी दिनुभयो । उहाँले बैठकमा अन्य गतिविधिबारे पनि अवगत गराएको छ ।
गत वर्ष ताप्लेजुङबाट करिब १७ लाख क्युबिक फिट काठ निकासी भएको थियो । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा कुल १६ लाख ८३ हजार ३६३ क्युबिक फिट काठ निकासी भएको छ । सो परिमाण बराबरको काठ निकासी गर्न इजाजत दिएबापत डिभिजन वन कार्यालयले छ करोड ३५ लाख ३४ हजार ९२६ रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।