सन्तोष राउत
सोलुखुम्बु, पुस २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे छिट्टै हुने बताउनुभएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुग्नुभएका प्रधामन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय अहिले सञ्चालनमा आएको सडकले थप सहज भएको उल्लेख गर्नुभयो ।
तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत ३० औं पटक सगरमाथाको आरोहण गर्ने साहसीको जिल्ला भएको भन्दै उहाँले अब यस क्षेत्रको विकास र प्रगति हुने विश्वास विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामु शेर्पाको घर समेत अवलोकन गर्नुभएको छ ।
प्रधामन्त्री ओलीले भन्नुभयो, ‘‘हिउँ विश्वका धेरै स्थानमा पर्छ तर हिमालको हिउँले प्राकृतिक सन्तुलन कायम राख्नबेग्लै महत्त्व राख्दछ ।’’ आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका कारण हिमाल सङ्कटमा पर्दै गएको भन्दै यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको उहाँको भनाइ छ ।
विश्वलाई शीतलता प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुःखद भएको भन्दै सबै संवेदनशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको विश्वको सर्वाेच्च शिखर रहेको खुम्बु क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताउनुभयो ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय क्षेत्र जोड्ने तथा जनताका स्थानीय उत्पादन बजारसम्म लैजान आवश्यक स्थानका सडक निर्माणमा मन्त्रालयले विशेष प्राथमिकता राख्ने गरेको बताउनुयो । मन्त्री दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालोपत्रे गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै, रक्षामन्त्री मानवीर राईले जलविद्युत् र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वाङ्गिण विकासमा वर्तमान सरकार लागि परेको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान कचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, राष्ट्रियसभा सदस्य सोनामग्याल्जेन शेर्पा, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे लगायतको उपस्थिति थियो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु वडा नं. १ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न सुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएपछि पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।
थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ ।
बाटो खुलेसँगै अहिले दैनिक बस, सुमो र बलेरोले यात्रुलाई लुक्लामुनिको सुर्केसम्म पुर्याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दूरीमा पर्छ ।