• २१ पुस २०८१, आइतबार

बासखर्कमा सुन्तला महोत्सव हुने

blog

सुन्तला खेतीले पहेँलपुर जलजला गाउँपालिका १ बासखर्क गाउँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस १८ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गर्न लागेको हो । 

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गर्न लागिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । बासखर्कको गाउँभरी सुन्तला खेती गरिएको छ । अहिले सुन्तला पाकेर गाउँ नै पहेँलपुर भएको छ ।  

महोत्सवले सुन्तलाको बजारीकरणमा सहयोग र किसानलाई हौसला प्रदान गर्ने विश्वास गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । एक दिनमात्र आयोजना हुने महोत्सवको अवसरमा सबैभन्दा बढी सुन्तला फलाउने, परिश्रमी र पुराना किसानहरू मध्ये तीन जनालाई घरआँगनमै पुगेर बाजागाजा सहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, "सुन्तलाको बगैँचामा नै पुगेर हामीले महोत्सवको आयोजना गर्दैछौं । महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा, किसानलाई प्रोत्साहन र यहाँको स्वादिलो सुन्तलाको देशभर प्रचारप्रसार गर्ने आशा गरेका छौं ।" स्वाद र गुणस्तरका हिसाबले प्रदेशमा नै उत्कृष्ट मानिएको सुन्तला यहाँका किसानले फलाउने भएकाले यहाँको प्रचारप्रसार गरेर सुन्तला खेतीलाई थप विस्तार गर्ने पालिकाको योजना रहेको उहाँको भनाइ छ । 

महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सांसद र नगर तथा गाउँपालिकाका प्रमुख,संचारकर्मी लगायतलाई निमन्त्रणा गरेर यहाँको सुन्तला बगैँचा देखाउन र स्वाद चखाउने योजना रहेको पालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । 

बासखर्कका किसानले फलाएको सुन्तला अहिले पर्वत,म्याग्दी,बागलुङका साथै काठमाडौं, चितवन लगायतका सहरहरुमा पुग्ने गरेको छ । सुन्तला व्यापारीहरू किसानको बगैँचामा नै आएर अग्रिम रूपमा रकम भुक्तानी गरेर लैजाने गरेका छन् । 

बासखर्कका दुई सय १० घर परिवारले वर्षौदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएको वडाध्यक्ष जकबहादुर रोकाले बताउनुभयो । ३० घर परिवारले वार्षिक १० देखि १५ लाख रुपियाँ बराबरका सुन्तला बिक्री गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष सुन्तला बिक्रीबाट गाउँमा करिब पाँच करोड रुपियाँभन्दा भित्रिने गरेको वडाध्यक्ष रोकाको भनाइ छ । महोत्सवले यहाँको सुन्तलाको बजारीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको वडाध्यक्ष रोकाले बताउनुभयो । 

बासखर्क वासीहरूले पचास वर्षदेखि सुन्तला खेती गर्दैआए पनि पछिल्ला दुईदशकदेखि यता व्यावसायिक रूपमा सुन्तला खेती तर्फ किसान आकर्षित भएको उहाँको भनाइ छ । सुन्तला खेतीका लागि सरकारी स्तरबाट तालिम, मल, बिरुवा र औजारमा सहयोग पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषकहरू आकर्षित हुनथालेका हुन् ।