• २१ पुस २०८१, आइतबार

बुलिङटारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन

blog

नवलपरासी समाचारदाता

बुलिङटार (नवलपरासी), पुस १८ गते । नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिकामा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याइएको छ । केन्द्रीय लाइनबाट बिजुली बाल्न पाएपछि स्थानीयले बाजागाजासहित उल्लाससमेत मनाएका छन् । 

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले लेखनाथ वितरण केन्द्र पोखराबाट नियन्त्रित हुने गरी वितरण गरिएको विद्युत् बुलिङटार गाउँपालिकाका छ वटै वडामा पुगेपछि २५ हजार बासिन्दा लाभान्वित भएको बताउनुभयो । 

पूर्वमन्त्री महेन्द्रध्वज जिसीले जिल्लामा नै बुलिङटार गाउँपालिकामा पहिलो पटक बिजुली पुगेकोमा धन्यवाद दिँदै गण्डकी सरकार सबै क्षेत्रमा उज्यालो पुर्‍याउन लागिपरेको बताउनुभयो । उहाँले राजनीतिक रूपमा पूर्वाग्रही बनेर कसैले पनि विकास कार्यलाई नरोक्न आग्रह गर्नुभयो ।

स्थानीयको बृहत् उपस्थितिमा ‘स्विच अन’ गरी विद्युत् प्रसारण लाइन उद्घाटन भएको थियो । प्रदेशका एमाले सांसद रोशन गाहाले आफ्नो प्रतिबद्धता अनुसार काम पूरा गरेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले बुलिङटार गाउँपालिकाकालाई बस्नयोग्य र हेर्नलायक बनाउने योजनालाई प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो ।