अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ । विज्ञका अनुसार यति चेतनाको अभावमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका बालबालिका ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाले दृष्टि गुमाउनुपर्ने एवं थप जटिलता हुन नदिन आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ ।
नेपाली कतिपय समुदायमा बालबालिकाको आँखामा सेतो टीका जस्तो देखिएमा त्यसलाई शुभका रूपमा लिइने गरिन्छ तर आँखामा देखिने त्यस्तो सेतो टीका देखिनु आँखाको क्यान्सरको लक्षण हुन सक्छ । त्यसो भएर रेटिनोब्लास्टोमा भएको थाहा पाउन सबैभन्दा पहिला सानो नानीले आँखा खोल्दा आँखाको कालो हुनुपर्ने भागमा सेतो टीका जस्तो देखियो भने सामान्य होइन भन्ने बुझ्नु पर्छ ।
आँखाको कालो हुनुपर्ने भाग कालै हुनु पर्छ र सेतो भाग सेतै हुनु पर्छ । अन्यथा भएमा शङ्का गरेर उपचारको बाटो खोज्नु पर्दछ । कुनै बालबालिकाको आँखा डेढो छ भने पनि क्यान्सरको शङ्का गर्न सकिन्छ तर डेढो आँखा हुनुभन्दा पहिला वा त्योसँगै आँखाको कालो भागमा सेतो टीका जस्तो ज्योति जस्तो देखिन थाल्छ अर्थात् डेढोपना र सेतो टीका जस्तो ज्योति देखिएको छ भने आँखाको क्यान्सरको शङ्का झन् बलियो हुन्छ ।
रेटिनोब्लास्टोमा बालबालिकामा मात्रै हुने गर्छ । जुन बच्चा जन्मेदेखि पाँच वर्षको उमेरसम्ममा देखा पर्छ तर अधिकजसो रेटिनोब्लास्टोमाको समस्या तीन वर्षको उमेरमा सुरु हुन्छ । विकसित देशमा शिशु अवस्थादेखि बर्सेनि नियमित आँखा जाँच्ने क्रममा विशेषज्ञले अप्थाल्मोस्कोप वा रेटिनोस्कोपबाट आँखाको नानीमा प्रकाश पार्दा सेतो दाग देखिने हुनाले समयमै पत्ता लाग्छ ।
लक्षण
आँखा असामान्य तवरमा रातो हुने, दुख्ने, पोल्ने, दृष्टि कमजोर हुने, आँखाको आकार ठूलो हुँदै जाने, एउटा वा दुइटै आँखा भित्रतिर धस्सिने, आँखा खोबिल्टो भन्दा बाहिरतिर आउने वा आँखाको गेडा नै निक्लेला जस्तो हुने, आँखा टेढो हुने, डेढो हुँदै जाने, आँखा सुक्दै जाने रेटिनोब्लास्टोमाका लक्षण हुन् ।
रेटिनोब्लास्टोमाबाट प्रभावित आधा जसो बालबालिकामा वंशाणुगत खराबी ‘जेनेटिक म्युटेसन’ का कारण क्यान्सर हुने गरेको छ भने अन्यमा क्रोमोजोममै खराबी भएर हुन्छ । सबैको शरीरमा जिन (वंशाणु) हुन्छ । मानिसको स्वास्थ्य सामान्य हुन जिन पनि सामान्य नै हुनु पर्छ तर कसै कसैको कुनै एउटा जिनमा खराबी भयो भने सोही अनुसारको क्यान्सर वा अन्य कुनै वंशाणुगत समस्या निम्तिने गर्छ ।
कतिपय बालबालिकामा आमाको गर्भमा छँदै यस्तो वंशाणुगत समस्या छ भने क्यान्सर छिटो देखा पर्छ तर अन्य कारणले हुन सक्ने आँखाको क्यान्सर ठूला व्यक्तिमा पनि हुन सक्छ ।
विश्वमा करिब १५ देखि २० हजार बालबालिकामध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ । नेपालमा प्रत्येक वर्ष करिब ५० जना बालबालिकामा रेटिनोब्लास्टोमा देखा पर्ने गर्छ भने अमेरिकामा दुई सय ५० देखि तीन सय जनामा, भारतमा करिब एक हजार पाँच सय जनामा यो क्यान्सर देखिने गरेको छ । यसरी यो बिरलै मात्र हुने क्यान्सर हो । आँखाको पर्दा (रेटिना) का अपरिपक्व कोष निकै छिटो वृद्धि भई क्यान्सरका रूपमा विकसित हुँदा यो समस्या देखा पर्छ ।
आँखाको जन्मजात समस्या, कोट्स डिजिज (आँखाको पर्दा पछाडि असामान्य तवरमा रक्तनली विकसित हुने अवस्था), आँखामा टोक्सोप्लाज्मा भन्ने परजीवीको सङ्क्रमण, महिना नपुगेर जन्मेका कम तौलका शिशुमा हुने रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीविन्दु, नोरी डिजिज (अन्धोपना गराउने अर्कोथरी वंशाणुगत समस्या) ले रेटिनोब्लास्टोमा हो कि भनेर झुक्याउन सक्छ ।
माथि उल्लेख गरे झैँ नियमित आँखा जाँचबाटै यो क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ । यसरी आँखा जाँच गर्दा असामान्य अवस्था भेटिए सिटी स्क्यान, एमआरआई एवं अल्ट्रासाउन्डबाट यो क्यान्सरको निक्र्योल गरिन्छ । कतै यो क्यान्सर अन्यत्र पनि फैलिसकेको छ, छैन थाहा पाउन हड्डीभित्रको रगतमासी एवं ढाडबाट पानी निकालेर जाँच्नुपर्ने हुन्छ ।
रेटिनोब्लास्टोमाबाट बाँच्ने वा आँखा बचाउन सकिने सम्भावना यसको गाम्भीर्यमा निर्भर रहन्छ । समयमै यो समस्या निदान गर्न सकिएमा शल्यक्रियाबाट आँखा नै निकालिन्छ भने अन्यत्र फैलिसकेको भए शल्यक्रियापछि केमोथेरापी आवश्यक हुन्छ । यदि ट्युमर अन्यत्र फैलिसकेको छैन भने सफल उपचार सम्भव छ । सुरुमा लक्षणलाई बेवास्ता गरिएमा वा उपचारमा ढिलाइ गरिएमा नतिजा खराब आउन सक्छ ।
आँखाको क्यान्सरको उपचार
आँखाको क्यान्सर पर्दामै मात्र सीमित छ, तीन मिलिमिटरभन्दा सानै छ, पाँच मिलिमिटरभन्दा सानै छ, आँखाको गेडाभित्र रहेको पानी रहने भागसम्म छोइसकेको छ, आँखाको पर्दा छुट्याउन थालेको छ, आँखाभित्र रक्तस्राव भइसकेको छ वा ट्युमरले लेन्स (आँखाको नानी) लाई नै छोइसकेको छ भन्ने आधारमा यो क्यान्सरको वर्गीकरण गरी उपचार पनि तय गरिन्छ ।
आँखाको ट्युमर सानै छ भने सुरुको अवस्थामा पत्ता लागेको अवस्थामा आँखा निकाल्नु पर्दैन । यो अवस्थामा केमो दिएर, ट्रान्सप्युपिलरी थर्मोथेरापी (टिटिटी) भन्ने लेजर उपचारबाट, केयोथेरापी गरेर वा आँखामै केमो लगाएर आँखा बचाउन सकिन्छ । त्यसका लागि बिरामी समयमै उपचारका लागि पुग्नु पर्छ । क्यान्सर निदान हुन अलि ढिलो भयो अथवा क्यान्सरले आँखाको ८० प्रतिशतभन्दा बढी भाग ढाकिसकेको अवस्था छ भने आँखै निकाल्नुपर्ने हुन्छ ।
त्यस्तै ट्युमर आँखाबाट बाहिर निस्किसकेको अवस्थामा बिरामीको ज्यानसमेत जान सक्छ । यो क्यान्सर आँखाबाट पछाडि मस्तिष्कमा पनि फैलिन सक्छ । त्यस्तै शरीरको अन्य भागमा पनि फैलिन सक्ने सम्भावना रहन्छ । उपचारमा निकै ढिलाइ भयो भने बच्चाको ज्यान जान सक्छ ।
रोकथाम
जिनेटिक म्युटेसनका कारण हुने भएकाले यसको रोकथाम गर्न सकिँदैन । यो ट्युमर महिला गर्भवती हुँदा उनले केही खानेकुरा खाएर वा नखाएर हुने भन्ने हुँदैन तर पहिलो बच्चाको दुवै आँखामा क्यान्सर भयो भने दोस्रो बच्चालाई आँखाको क्यान्सर हुने सम्भावना रहन्छ ।
कम्तीमा नेपालमा यो समस्या रोकथाम गर्न सकिने अवस्था छैन । त्यसैले शिशु जन्मिनेबित्तिकै शिशुमा कुनै लक्षण नदेखिए पनि बच्चा जन्मेको एक महिनाभित्रै आँखाको जाँच गराउनु पर्छ । यस क्रममा आमा वा परिवारजनले आँखाको नानी सेतो देख्नुभन्दा पहिला नै नानी फुलाएर आँखाको पर्दा जाँचेर आँखामा ट्युमर छ, छैन पत्ता लगाउन चिकित्सककहाँ लिएर जानु पर्दछ । ट्युमर सानै छ भने पनि पत्ता लगाउन सकिन्छ । यसरी ट्युमर सुरुको अवस्थामा पत्ता लगाउन सकियो भने प्रभावित शिशुको आँखा पनि जोगाउन सकिन्छ ।