नागेन्द्रकुमार कर्ण
महोत्तरी, पुस १६ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-६ मगरथानामा रहेको श्री नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठा थप भएपछि विद्यार्थीहरुको पढाइ सहज भएको छ । सोनमा गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक करोडको लागतमा ८ कोठे भवनको निर्माण भएपछि पढाईमा सहजता देखिएको हो ।
सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले कक्षाकोठा अभावमा विद्यार्थीहरुको पठनपाठनमा असहजता भइरहेको देखेपछि आफुले पहलकदमी लिई कक्षाकोठा थप गराएको सम्झिनुहुदै विद्यार्थीको चाप अनुसारको भवनको अभावलाई पुर्ती गर्न गाउँपालिका लागिपरेको बताउनुभयो । उहाँले विगतमा चदराको कक्षाकोठा हुदाँ गर्मी, वर्षात र चिसो मौसममा विद्यार्थीहरुलाई पठनपाठनमा अप्ठयारो हुने गरेकोले अब केही हदसम्म सो समस्याको समाधान भएको जानकारी दिनुभयो ।
कक्षा सातसम्म अध्ययन हुने सो विद्यालयमा करिब सातसयको हाराहारिमा विद्यार्थीहरु रहेको सोनमा गाउँपालिकाका शिक्षा सहसंयोजक धर्मेन्द्र कुमार यादवले जानकारी दिनुभयो । उहाँले विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरु कमी रहेको तथा खानेपानी, शौचालयको अभावलाई समेत पूर्ति गर्न पालिका लागिपरेको बताउनुभयो ।
पालिकाका शिक्षा संयोजक कौशलकुमार यादवले पालिकामा शिक्षकहरुको कमी हुन नदिन २५ जना शिक्षकको पदपूर्तिको सुचना प्रकाशन गरिसकिएको बताउनुहुदै सम्भवतः यही महिनामा नै शिक्षकहरु छनौट गरिने बताउनुभयो । शिक्षा संयोजक यादवले भन्नुभयो, "शिक्षकहरुको पदपूर्तिको सुचना प्रकाशन भइसकेको छ, सम्भवतः यही महिनामा नै शिक्षक छनौट गरेर विद्यालयमा पठाइने हाम्रो योजना छ ।"
यही शनिबार नवनिर्मित ८ कोठे भवनको उदघाटन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय सरकारका रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । सो अवसरमा मधेशको शैक्षिक स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै संघीय सरकारका रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले निःशुल्क शिक्षा र पूर्वाधार भएपनि गरीबी र जनचेतनाको आभावको कारण शैक्षिक स्तर खस्किदै गएको दावी गर्नुभयो ।
उहाँले तीनै तहको सरकारले मधेशको शैक्षिकस्तर सुधार्न सहयोग गर्नुपर्नेमा जोड दिनुहुदै उहाँले स्थानीय र प्रदेश सरकारले शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शिक्षाको अवस्था कमजोर हुनुमा सबभन्दा बढी संघीय सरकार नै दोषी रहेको आरोप लगाउनुभयो । शिक्षा सम्बन्धी कुनै पनि अधिकार प्रदेश सरकारलाई नदिई पंगु बनाएको कारणले प्रदेश सरकारले चाहेर पनि केही गर्न नसकेको आरोप मन्त्री तिवारीको थियो ।
कानुनमा ५० विद्यार्थीमा प्रति विषय एक शिक्षकको व्यवस्था रहेको छ तर मधेशमा त्यस्तो नरहेकोमा जोड दिनुहुदै उहाँले भन्नुभयो, "यहाँ आवश्यक्ता अनुसार शिक्षक राखिएको छैन, तर पहाडतिर २०-२५ जना मै एक शिक्षकको व्यवस्था गरेको छ । यो नै सबैभन्दा ठुलो विभेद हो ।"