गोकर्ण पौडेल
तुलसीपुर पुस १६ गते । तुलसीपुर उपमहानगरपालिका –१८ बिजौरीका घनश्याम कुँवर तीन दशकदेखि एउटै पेशामा जम्नुभएको छ । २०५१ सालमा बिजौरीमा सामान्य ढेब्लीमा शैलुन (कपाल काट्ने) व्यवसाय सुरु गरेका घनश्याम अहिले सोही पेशामा रमाएको बताउनुहुन्छ ।
उमेरले पाँच दशक पूरा गरिसकेका घनश्यामलाई शरीरले सक्दासम्म सोही पेशामै रम्ने सोचमा हुनुहुन्छ । घनश्याम भन्नुहुन्छ, ‘मेरो जीवन धान्ने पेशा नै यही बन्यो, जेहोस् स्वदेशमै सन्तुष्टि छ, अरु पेशामा जाने अब सोच छैन ।’
दैनिक १५ देखि ३० जनासम्मको दाह्री, कपाल काट्दै आउनुभएको छ । उहाँले दैनिक तीनदेखि पाँच हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यही पेशाबाटै छोरीलाई आयुर्वेद स्नातक तह (बिएएमएस) पढाएँ । घर परिवारको जोहो चलेकै छ ।’
घनश्याम पेशालाई आफूमा मात्र सीमित राख्नुभएको छैन, उहाँले दश जनालाई सोही सीप समेत सिकाउनुभएको छैन । घनश्याम भन्नुहुन्छ, ‘सीप आफूमा मात्र सीमित राख्नुहुँदैन, धेरैलाई सिकाएको छु । उहाँहरु समेत यही पेशामा आबद्ध हुनुहुन्छ ।’