अर्जुन काफ्ले
स्याङ्जा, पुस १६ गते । देशमा सातौँ र जिल्लामा पहिलो पटक चार वर्षपहिला बालमैत्री घोषणा भएको नगरपालिका हो भिरकोट । नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेतनामूलक सन्देशले भरिए पनि भाषण र प्रचारमा जस्तो अनुभूति यहाँका बालबालिकाले गर्न पाएका छैनन् ।
शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने वडा नं. ५ मा रहेको गडीभन्ज्याङ आधारभूत विद्यालयमा कक्षाकोठाको अभावमा सिँढी र बार्दलीमा विद्यार्थीले पढ्नु परेको छ । बाहिरबाट हेर्दा पक्की भवन, सफा कक्षाकोठा, पर्याप्त खेलकुद सामग्री र फराकिलो खेल मैदान, सुन्दर फूलबारी, सफा शौचालय रहेको यहाँ विद्यार्थी कक्षाकोठाको अभावमा सिँढी र बार्दलीमा पढ्नुपर्ने बाध्यता रहेको हो ।
शिशु, केजी, १, २ र ३ कक्षा र भान्साकोठा र एक कार्यालय गरी सात वटा कक्षाकोठा आवश्यक रहने यहाँ पाँच वटा कक्षा रहेका छन् । आधारभूत विद्यालयको तुलनामा राम्रो ४५ जना विद्यार्थी रहेको यो विद्यालयमा कक्षा २ का चार विद्यार्थीले सिँढीमा र कक्षा ३ का छ विद्यार्थीले बार्दलीमा सात वर्षदेखि पढ्दै आएका छन् भने सिँढीमुनि नै विद्यार्थीलाई खाजा पकाउने भान्साको व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक सरला विकले भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही समय टिनले बारेर पठनपाठन गरिएको बताउनुभयो । वर्षाको समयमा त्यो पनि भत्किएपछि विद्यार्थीको कक्षाकोठा नै सिँढी र बार्दली भएको सुनाउनुभयो ।
बर्सातको समयमा बार्दलीमा हावाहुरी र पानीले समस्या हुने भएकाले अफिसमा राखेर पढाउने गरेको बताउँदै विकले कक्षाकोठा व्यवस्थापनका लागि नगरपालिकामा गुनासो गरे पनि सात वर्षसम्म काम हुन नसकेको उहाँले बताउनुभयो । विद्यालयका नाममा तीन रोपनी जग्गा रहेको बताउँदै प्रार्थना गर्न र खेल्नका लागि खेल मैदान नभएको विकको गुनासो थियो ।
विद्यालयसँगै जोडेर सडक खनिएको छ भने शौचालय जानसमेत सडक पार गरेर जानुपर्ने बाध्यता रहेको छ । सडककै कारण विद्यालयको चारकोठे भवनसमेत जोखिममा परेपछि वडाको बजेटमा हालै पर्खाल निर्माण गरिएको छ ।
विद्यालयमा फर्निचर र कार्पेटको अभाव रहेको बताउँदै प्रधानाध्यापक विकले विद्यालयका नाममा देउसीभैलो खेलेर उठाइएको एक लाख १० हजारबाट अत्यावश्यक फर्निचर खरिद गरिएको उल्लेख गर्नुभयो । वडाध्यक्ष कृष्णबहादुर थापाले बजेटको अभावमा पहिला केही गर्न नसके पनि अब समस्या समाधान हुने बताउभुयो ।