• ८ वैशाख २०८२, सोमबार

गुणस्तर सुधार्न चियाको ‘कटिङ’

blog

कोकिला ढकाल

इलाम, पुस १६ गते । किसानका लागि वर्षभरि आम्दानीको स्रोत बन्ने चियाका बुट्यान काट्ने काम (कटिङ) सुरु भएको छ । चैतदेखि टिपाइ हुने चियालाई किसानले अहिले कटिङ गर्ने गरेका छन् । पुसभर चियाको कटिङ गरिने किसान बताउँछन् । 

चियालाई राम्रोसँग काँटछाँट मिलाउँदा नयाँ आउने मुना राम्ररी पलाउने चिया प्राविधिक बताउँछन् । “समयमा कटिङ गरेर मल र सिँचाइ गर्न सकियो भने गुणस्तरीय चिया उत्पादन गर्न सकिने लामो समय चियाको प्राविधिकमा काम गर्दै आउनुभएका इलामका शरद सुब्बा बताउनुहुन्छ । 

चिया उत्पादनदेखि प्रशोधनसम्मको काम गरिरहँदा धेरै किसानलाई चिया रोप्नेदेखि छाँटकाँट, टिपाइ सबैमा सचेत गराउन जरुरी रहेको सुब्बा बताउनुहुन्छ । विदेशमा बिक्ने किसिमको चिया तयार गर्न यो सिजनको कटिङदेखि ध्यान पुर्‍याउनुपर्ने रहेछ भन्ने हाम्रो सिकाइ भएको छ । 

“चियालाई कुन सिजनमा के गर्नु पर्छ, चुना लगाउने, मल हाल्ने, टिपाइ गर्ने, टिपेको कति समयभित्र कारखानामा पुर्‍याउने यी विषय किसानको जिम्मामा रहन्छ,” सुब्बाले भन्नुभयो, “बल्ल कारखानामा आएपछि त्यसपछिको गुणस्तरीय तयारी चिया कसरी बनाउने भन्ने जिम्मा यहाँका प्राविधिकको हुन्छ ।” जसबिरे चिया कारखाना सञ्चालन गरिरहनुभएका सुब्बाले आफूलाई चिया बिक्री गर्ने सबै किसान प्रनिनिधिलाई भेला गरेर चिया कटिङसम्बन्धी तालिम नै दिएको बताउनुहुन्छ ।

त्यसो त चिया कटिङ जोसुकैले गर्न निकै कठिन पनि छ । प्राविधिक ज्ञान र सिप भएकालाई भने चिया कटिङ रोजगारीको राम्रो पाटो भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ । “विगतमा हामीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा चिया कटाइसम्बन्धी प्राविधिक तयार गर्ने गरी तालिम चलाएका थियौँ । त्यो तालिमले चिया कटिङका लागि दक्ष जनशक्ति तयार भएको छ,” राईले भन्नुभयो ।

पछिल्लो समय नेपाली अर्थोडक्स चियाको माग विदेशबाट राम्रो आएपछि यो वर्ष आफ्नो उत्पादनलाई थप गुणस्तरीय बनाउन किसान तथा उद्योगीहरू पनि हौसिएका छन् । विगत वर्षमा भन्दा यो वर्ष नेपाली चियाको निर्यातसमेत बढेको छ । 

चालु आव २०८१/८२ को मङ्सिरसम्म दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपियाँको चिया निर्यात भएको झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क छ । यो समयमा एक करोड २७ हजार २१९ किलो चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही समय अर्थात् साउनदेखि मङ्सिरसम्म एक अर्ब ६४ करोड ७५ लाख ७३ हजार रुपियाँको मात्र चिया निर्यात भएको थियो । सो समयमा ६९ लाख ४० हजार ६६० किलो चिया निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।