आफन्त वा प्रियजनको मृत्युको खबर सबैलाई अप्रिय नै हुन्छ तर यस्तो खबरले सबै मानिसलाई समान रूपमा मर्माहतचाहिँ पार्दैन । मानिस संस्कृति र संस्कारले बाँधिएको हुन्छ । त्यसले बसालेको रीतिथिति अनुसार प्रियजनको मृत्युको शोक मनाउने र अन्त्येष्टि गर्ने तौरतरिका विश्वमा फरक तथा केही बिचित्र खालका छन् । कसैले जतिसक्दो चाँडो मुखाग्नि दिएर मृतकको अन्त्येष्टि गर्छन् त कसैले शव गाड्ने गर्छन् । विश्वमा कतिपय जनजाति यस्ता पनि छन् जसले मान्छे मरेपछि शवलाई घरमै राख्ने, केही दिनपछि शव गाड्ने, खुला ठाउँमा प्रकृतिलाई शव छाडिदिने आदि इत्यादि आआफ्नै विशेषता बोकेका संस्कृति/संस्कार छन् ।
इन्डोनेसियामा एउटा यस्तो जाति छ जसले आफन्तको शवलाई घरमै सुरक्षित राख्ने गर्छ । यो प्रथा बिचित्रको छ । तोराजा जातिले आफन्तको शवलाई घरमा राख्ने कार्य मात्र गर्दैन शवलाई नियमित रूपमा खुवाउने, जिउ सफा गरिदिने र लुगा फेरिदिने समेत गर्छ । लामो समय घरमै राखेर आफन्तको शव उनीहरूले गाड्छन् तर वर्षमा एक दिन उत्सव मनाउन शवलाई फेरि बाहिर निकाल्छन् ।
इन्डोनेसियाको पहाडी क्षेत्रमा बसोबास गर्ने तोराजाहरूले पहिले त आफन्तको शवलाई अनेक विधि अपनाएर सुरक्षित बनाउँछन् । अनि जीवितै रहेको मानेर घरमै शवको हेरचाह गर्छन् । तोराजाहरूले कस्तो विश्वास गर्छन् भने आफन्तको मृत्यु भएपछि उनको आत्मा घरमै रहन्छ । यस कारण मृतकलाई खाद्यवस्तु, लुगाफाटो, पानी तथा चुरोटसमेत दिएर मायाप्रेम दर्शाउने र स्याहार गर्छन् ।
मानिस मरेको केही दिनमै छाला र मासु सड्न सुरु नहोस् भनेर तोराजाहरूले पानीमा मिलाएर फर्मेल्डिहाइड शवमा दल्छन् । यसको गन्ध तीक्ष्ण हुन्छ । यस कारण परिवारका सदस्यले गन्ध कम गर्न शवसँगै सुकेका वनस्पति राखिदिन्छन् ।
तोराजा समुदायमा के विश्वास छ भने राम्ररी सुरक्षित राखिएको शवले सौभाग्य ल्याउँछ । यस कारण परिवारका सदस्यले शवलाई जतिसक्दो लामो समय रूप रङ बिग्रन नदिएर सुरक्षित राख्न भरमग्दुर प्रयन्त गर्छन् । तोराजाहरूले सानै उमेरदेखि नै शवलाई सुरक्षित राख्ने तौरतरिका सिक्छन् र यसलाई जीवनको एक सिकाइका रूपमा लिएर हुर्कन्छन् ।
तोराजाहरूमा हरेक दिन मृतकलाई खुवाउनुपर्ने अनिवार्य नियम छ । घरको बेग्लै कोठामा शवलाई त्यतिबेलासम्म जीवित मानिससरह सुताएर राखिन्छ जबसम्म परिवारले अन्त्येष्टिको खर्च बेहोर्न सक्दैन । यस विधिविधानमा परिवारले जतिसक्दो राँगाको बलिसमेत दिनुपर्ने हुन्छ । यस हिसाबले तोराजा जातिमा शवको अन्त्येष्टि कर्ममा कम्तीमा ५० हजार अमेरिकी डलर खर्च लाग्दछ ।
ढिलो अन्त्येष्टि गर्दा परिवारमा आइपरेको दुःखपीडा, वेदना कम गर्न सहयोग पुग्ने मान्यतासमेत तोराजाहरूको छ । नेसनल ज्योग्राफिकलाई तोराजा महिला योहाना पालाङ्दाले भनेकी थिइन्, “मेरी आमाको मृत्यु अचानक भयो । उनलाई यसरी गुमाउन हामी तयार थिएनौँ । म उनको शव चाँडै गाड्ने पक्षमा थिइनँ ।”
शवलाई समाधिस्थ गरेपछि वा ढुङ्गाको चिहान बनाएर गाडेपछि शवसँग परिवारका सदस्य र आफन्तको त्यो अन्तिम बिदाइचाहिँ हुँदैन । ‘पुर्खाको हेरचाह’ अर्थमा बुझिने ‘माने’ प्रथा, जुन परम्परागत रूपमा अगस्तमा मनाइन्छ, अन्तर्गत चिहानबाट शवलाई पुनः बाहिर निकालेर कीरा फाल्ने, धुलोमैला हटाएर सफा गरिने र नयाँ लुगा लगाएर गाउँमा लिएर आउँछन् ।
जसै शवलाई चिहानबाट बाहिर निकालिन्छ आफन्तहरूले सर्जिकल मास्क लगाएर शवलाई सफा गर्न थाल्छन् । त्यसपछि एकछिन घाम तपाउँछन् ।
परिवारका सदस्य र साथीभाइले आफ्नो प्रिय मृतकसँग भेटघाट गर्न कैयौँ किलोमिटर यात्रा गर्छन् । त्यस अवसरमा भोजभतेरको आनन्द उठाउँछन् । यो यस्तो समय पनि हुन्छ जब युवापुस्ताले आफ्ना पुर्खासँग भेटघाट गर्ने अवसर पाउँछन् । उनीहरूले प्रायः शवसँग तस्बिर खिच्ने गर्छन् । सबै कार्य सकेपछि तोराजाहरूले शवलाई पुनः चिहानमा गाड्छन् तथा आफन्तजनले त्यहाँ पितृलाई नयाँ घडी, चस्मा वा गरगहना अर्पण गर्छन् ।
तोराजाहरूमा यो प्रथा पुस्तान्तरण हुँदै आएको छ । यो प्रथा सुरु हुनुमा एउटा कथा त्यहाँ प्रचलित छ । धेरै वर्षपहिलेको कुरा हो पोङ रुमासेक नामका एक जना शिकारी तोराजाको पहाडी क्षेत्रमा शिकारको खोजीमा भौँतारिँदै थिए । त्यसक्रममा उनले एउटा रुखमुनि बेवारिसे मानव अवशेष देखेछन् । पोङले आफ्ना लुगामा त्यहाँ फेला परेका हड्डी बेरेर त्यहीँ गाडिदिए । यस कार्यले उनलाई जीवनभर फलिफाप र भाग्योदय भयो । भाग्यमानी शिकारीका बारेमा चारैतिर कुरा फैलिन थाल्यो । त्यसबेलादेखि तोराजाहरूमा एउटा विश्वासले घर बनायो, यदि आफ्ना पुर्खालाई सम्मान दिने र रेखदेख गर्ने हो भने आत्माले उनीहरूलाई धनधान्य दिने छन् । एक अनुमान अनुसार इसापूर्व नवौँ शताब्दीमा तोराजाहरूले यस प्रकारको मृत्यु संस्कार सुरु गरेका हुन् ।
इन्डोनेसियाको छिमेकी फिलिपिन्समा समेत विचित्रको मृत्यु संस्कार छ । बिबिसीमा उल्लेख गरिए अुनसार त्यहाँका इगोरोट समुदायमा प्राचीनकादेखि यस्तो मृत्यु संस्कार अभ्यासमा रहेको छ, जहाँ बुढापाकाले आफ्नो कफिन आफैँ तयार पार्छन् र मृतकलाई राखिएको कफिन भिरपाखामा झुन्ड्याएर राखिन्छ ।
फिलिपिन्समा ठूलो र धेरै आवादी भएको द्वीप उत्तरी लुजोन अन्तर्गत पर्ने कोर्डिलेरा सेन्ट्रल पहाडी क्षेत्रमा एक गाउँ छ सगाडा । राजधानी मनिलाबाट घुम्ती नै घुम्ती भएको बाटोमा करिब साढे आठ घण्टा गाडीयात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । जति विशिष्ट छ त्यत्ति नै डरलाग्दो प्राचीन प्रथा हेर्नका लागि जसले हिम्मत गर्छन् उनीहरूले पक्कै पनि सकसपूर्ण यात्रा गर्ने छन् ।
यो प्रथा दुई हजार वर्षदेखि प्रचलनमा रहेको विश्वास गरिन्छ । इगोरोट मानिसहरूले आफ्ना प्रियको मृत्यु भएमा हातले बनाएर सजाइएको कफिनमा शव राखेर त्यसलाई जमिनबाट धेरै माथि भिरपाखामा बाँधेर वा किला ठोकेर राख्छन् । गुरुत्वाकर्षणलाई चुनौती दिने यस चिहानले दिवङ्गत आत्मालाई आफ्ना पूर्वजको आत्माको नजिक जान सहयोग गर्ने विश्वास इगोरोटले गर्छन् ।
परम्परागत रूपमा बुढापाकाले आफ्ना लागि स्थानीय जङ्गलबाट काठ ल्याएर कफिन बनाउने प्रचलन छ । कफिनको एक छेउमा उनीहरूले आफ्नो नाम लेख्छन् । इगोरोटले मृतकको शव कफिनमा सुताइनुपहिले त्यसलाई काठको ‘मृत्यु मेच’ राखेर लहरा, पातले बाँधेर कम्बल ओढ्याएर राख्छन् । अनि शवलाई चाँडै सड्न नदिन धुवाँले सेक्ने तथा कैयौँ दिनसम्म आफन्तजनले श्रद्धाञ्जली दिने गर्छन् । विगतमा ‘मृत्यु मेच’ बाट शवलाई कफिनमा राख्ने परिवारका सदस्यले मात्र एक मिटर लामो कफिनमा शवलाई गर्भे शिशुको जसरी राख्न उसका हड्डी भाँच्नु पर्दथ्यो । जसरी गर्भमा भ्रूणको अवस्था हुन्छ र त्यस्तै अवस्थामा मृत्युपश्चात् पु¥याउने कर्मका रूपमा त्यसलाई बुझिन्थ्यो । अचेल दुई मिटरसम्म लामा कफिन बनाइने भएकाले त्यो गर्नु पर्दैन ।
शवलाई बेतका पातले बेरेर कफिनमा राख्ने गरिन्छ । भिरमा कफिन झुन्ड्याउन पुरुषले धातु किलाभिरका चट्टानमा ठोक्छन् । भिरमा कफिन झुन्ड्याइनु ठिकपहिले शोक मनाउनेले सड्दै गरेको शवबाट चुहिँदै गरेको पानी आफ्नो शरीरमा छर्कन्छन् । यसो गर्दा आफूहरूलाई सौभाग्य प्राप्त हुने उनीहरूको विश्वास छ ।
यसरी शव राखिएको कफिन भिरमा झुन्ड्याउने प्रथा फिलिपिन्समा मात्र होइन चीन र इन्डोनेसियाका केही भागमा समेत प्राचीन कालदेखि अभ्यासमा रहेको थियो तर सगाडामा मात्रै यो प्रथा चलनचल्तीमा छ ।
–युवामञ्च