• १३ पुस २०८१, शनिबार

जलेश्वर कारागार दुरवस्थामा

blog

महोत्तरीको जलेश्वर कारागार । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, पुस १३ गते । अव्यवस्था र उपेक्षाको सिकार बनेको जलेश्वर कारागार अनेकन समस्या, बेथिति र विसङ्गतिमा परेको  छ । करिब १३५ वर्ष पुरानो राणाकालीन यस कारागारमा सेवा प्रबन्ध खलबलिएको छ । पूर्वाधार जीर्ण छ । यहाँको अवस्था अस्तव्यस्त छ । कैदी भने थपिएका थपिएकै छन् । अहिले यो कारागारमा क्षमताभन्दा तेब्बर कैदी राखिएका छन् ।

कुनै मुलुक कति मानवीय छ भन्ने बुझ्न त्यहाँका कारागारको अवस्था हेरेर आकलन गर्नुपर्ने मान्यता छ । यो मानकको दृष्टिले जलेश्वर कारागारको अवस्था जर्जर र टिठलाग्दो रहेको यहाँका कर्मचारीको भनाइ छ । कारागार प्रमुख धनञ्जयप्रसाद दासका अनुसार १३५ जना क्षमता रहेको कारागारमा अहिले ५३८ जना कैदीबन्दी छन् । कैदी सङ्ख्या समालिनसक्नु भएपछि महिलातर्फ पनि पुरुष कैदी राख्न विवश भएको कारागार प्रशासनले जनाएको छ । यहाँका महिला कैदीलाई सिन्धुलीतर्फ स्थानान्तरण गरिएको छ ।

आफ्नै जिल्लामा कारागार हुँदाहुँदै पुर्पक्ष र सजाय भुक्तानका लागि सिन्धुली जानुपर्दा महिला कैदी र तिनका आफन्तले शारीरिक, मानसिक र आर्थिक समस्या झेल्नु परेको गुनासो गरेका छन् ।  कारागारका सूचना अधिकारी रविन ठाकुरका अनुसार यहाँका महिला कैदीलाई २०७८ असारदेखि नै सिन्धुली पठाउने गरिएको छ । त्यसयता महिलालाई राख्दै आएको भवनमा पनि पुरुष कैदी राखिन थालिएको हो । त्यति गर्दा पनि अझै कैदी कोचिएर बस्न बाध्य छन् । मानव अधिकार आयोगकी अनुसन्धान महाशाखा प्रमुख मञ्जु खतिवडाले भन्नुभयो, “नेपालको कानुनले कैदीबन्दीको अधिकार सुनिश्चित गरेको छ । राज्यले त्यसको प्रत्याभूति गर्नु पर्छ । जलेश्वर कारागारको यो दुरवस्था मानव अधिकार कानुनको सरासर उल्लङ्घन हो ।”

कारागारको दुरवस्थाका कारण कैदीबन्दीबिच बेला बेलामा झैझडा र झडपसमेत हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार गत आइतबार पनि यहाँ एक कैदीको मृत्यु भएको थियो । कमलामाई नगरपालिका–७, सिन्धुलीका २७ वर्षीय निसाज सुनुवारको मृत्यु भएको ठाकुरले बताउनुभयो । आइतबार बिहान अकस्मात् छातीमा समस्या देखिएपछि सुनुवारलाई जलेश्वरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । त्यहाँ पु¥याएको केही बेरमै सुनुवारको ज्यान गएको थियो । अस्पतालका चिकित्सकले हृदयाघातका कारण मृत्यु भएको बताएका छन् । जिल्ला अदालत महोत्तरीको आदेशले सुनुवार लागुऔषध ब्राउन सुगर मुद्दामा २०८१ साल असार २१ देखि पुर्पक्षका लागि थुनामा रहेको कारागार प्रशासनले जनाएको छ । 

सुनुवारको मृत्युलाई अनुसन्धानको दायरामा राखिएको प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हृदयाघातका कारण  मृत्यु भएको सुनेका छौँ । पोस्टमार्टम रिपोर्ट आएपछि यसबारे अनुसन्धान गरिने छ ।” कारागार प्रशासनका अनुसार यसअघि पनि त्यहाँ एक कैदीको मृत्यु भएको थियो । 

कैदीबन्दीको मृत्युको कारणबारे अहिलेसम्म कुनै निकायले खोजी र चासो नदिँदा कैदीको बाँच्न पाउने अधिकार कुण्ठित हुँदै गएको कैद भुक्तान गरेर फर्केकाको दुःखेसो छ । क्षमताभन्दा बढी भिडले जलेश्वर कारागारका कैदीबन्दी स्वास्थ्यलगायतका अधिकारबाट पनि कुण्ठित रहेको अधिकारकर्मीले उजागर गर्दै आएका छन् ।

कारागार प्रमुख दासका अनुसार अहिले बन्दीगृहका पाँच/छ जना कैदी क्षयरोगले ग्रस्त छन् । तिनको उपचार चलिरहेको छ । दाद, लुतो जस्ता चर्मरोग लागेका कैदी पनि धेरै रहेका उहाँले बताउनुभयो । केही बन्दीलाई श्वासप्रश्वासको समस्या छ । 

कारागार ऐन, २०७९ को दफा ६ को उपदफा (५) ले आफ्नो जिल्लाभित्र रहेका कारागारको रेखदेख, समन्वय र सुरक्षा प्रबन्ध मिलाउने जिम्मा सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुम्पेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जलेश्वर कारागारमा व्याप्त बेथिति र समस्याबारे आफू पूर्ण रूपमा अवगत रहे पनि समस्या निवारणका लागि नयाँ कारागार बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारको नयाँ संरचना निर्माणका लागि हामी जग्गा व्यवस्थापनको प्रयासमा छौँ । जलेश्वर नगर विकास समितिसँग सहमति पनि भएको छ । जग्गा प्राप्तिमा देखा परेका एकाध समस्या समाधानपछि नयाँ संरचना निर्माणको चरणमा प्रवेश गरिने छ ।”