सप्तरी खडक नगरपालिका–३ का ८६ वर्षीय लक्ष्मी मोची सानै छँदा बुबाआमा ठुलो हैजाको प्रकोपमा बित्नुभयो । सानीआमाकै हेरचाहमा उहाँ हुर्किनुभयो । बुबाआमाको मृत्युपछि पुर्खौली सम्पत्ति छिन्नभिन्न भयो । टाठाबाठा उहाँको सम्पत्तिको मालिक भए । यतिसम्म कि उहाँको जमिनसमेत खनजोत गरेर खान थाले । लक्ष्मी ठुलो भएपछि गाउँका केही मानिसले यो कुराको जानकारी उहाँलाई दिन्छन् । त्यसपछि उहाँले केही मान्छेको सहयोगमा अड्डा अदालत धाउन थाल्नुहुन्छ र आफ्नो पुर्खौली सम्पत्तिको खोजी गर्न थाल्नुहुन्छ । सम्पत्तिको नाउँमा केही जग्गा फेला पर्छन् तर ती जग्गाहरू पनि कानुनी रूपमा अरूले आफ्नो बनाइसकेको, केही जग्गा आफू जोताहा भन्दै पहुँचको आधारमा मोहियानी हक लाग्ने खालको अधुरो कागजात खडा गरिसकेको र केही बाँझो अवस्थामा भेट्नुहुन्छ । यतिसम्म कि लक्ष्मी नाबालक हुँदा आफ्नै जमिनमा मजदुरी गराएर मोहियानी भर्पाईसमेत बनाइसकेको उहाँलाई थाहै भएन । किनभने उहाँलाई त्यतिबेला जीवनका लागि एक गाँस रोटी काफी थियो । जहाँ पाउनुहुन्थ्यो त्यही भुल्नुहुन्थ्यो सारा जीवन । स्थिति साम्य भएपछि र बुझ्ने भएपछि उहाँले आफूसँग भएको प्रमाणहरू बोकेर बाँकी रहेको १२ कट्ठा जग्गामा लागेको मोहियानी हकविरुद्ध भूमिसुधारमा मुद्दा हाल्नुभयो । उहाँले करिब चालिस वर्ष मुद्दा लड्नुभयो तर जित्नु भएन । वडा अध्यक्ष चुनाव जित्नुअघि र कर्मचारीको रूपमा तत्कालीन गाविस सचिव हुँदा पनि लक्ष्मीलाई बिनाजानकारी विपक्षीलाई नै कानुनी रूपमा मजबुत हुने गरी दुई पटकसम्म सिफारिस दिनुहुन्छ । बलियो प्रमाण हुँदाहुँदै लक्ष्मी कमजोर हुनुहुन्थ्यो । गाउँको जमिनदारले पहुँचको आधारमा राज्यशक्तिको उपयोग कसरी गर्छन् र उल्टै कमजोर मानिसको जमिन कसरी हड्पिन्छन्, यो बलियो उदाहरण हुन् । लक्ष्मी भन्नुहुन्छ, “पैसा र पहुँच नहुँदा बर्बाद मात्र भयो । कानुनी न्याय खोज्दा ज्ञान भयो तर न्याय भएन । हाकिमले पटक पटक बोलाएर भनेका थिए तिम्रो प्रमाण मजबुत छ तिम्रै पक्षमा फैसला हुन्छ, यसका लागि एक लाख खर्च गर्नु पर्छ तर मैले पैसा तिर्न सकिन । मुद्दा फैसला भएको पाँच वर्ष भइसक्यो सप्तरीको भूमिसुधारमा जग्गा बाँडफाँट अझै भएको छैन । विपक्षीले नै जबर्जस्ती खाइरहेको छ ।”
माथि उल्लेखित प्रतिनिधि घटना मात्र हुन् । तराई मधेशमा यस्ता मुद्दा र घटना घरैपिच्छे छन् । प्रहरीका अनुसार गाउँघरमा मिलापत्र गरेको घटनाबाहेक मधेश प्रदेशमा मात्र आर्थिक वर्ष २०८९/८० मा ४१ हजार ८७४ विभिन्न अपराधका मुद्दा तथा उजुरी परेका छन् । आव २०८०/८१ मा यो सङ्ख्या तीव्र विकास भएको छ । पछिल्लो छ महिनामा मात्र ३६ जनाको हत्याको उजुरी परेको छ । प्रहरी प्रशासन र अदालतदेखि जनप्रतिनिधिसमेत सामाजिक मुद्दा मामिलामै अधिकांश समय खर्चिरहेका छन् । जनप्रतिनिधि र जिम्मेवार मानिसहरू निष्पक्ष नहुँदा र आफ्ना मान्छेहरूको पक्षमा उभिँदा र फैसला गर्दा न्याय प्रणालीमाथिको विश्वास घट्दो छ । किनभने न्यायपालिका स्वतन्त्र हुन्छ । न्यायाधीशलाई फैसला गर्ने स्वविवेकीय अधिकार हुन्छ । कुनै मुद्दाको बहसमा एउटा न्यायाधीशलाई कसुदार लाग्यो भने उनले कसुर अनुसारको सजायको फैसला गर्छ तर त्यही मुद्दा त्योभन्दा माथिल्लो अदालतमा पुग्दा कसुरको गम्भीरता हेरी र कसुरदारलाई भएको सजायमा विचार गर्दा यदि कसुरको गम्भीरता कम देखिन्छ भने त्यहाँका न्यायाधीशले फेरि सजायमा तलमाथि गर्ने अधिकार राख्छ । त्यसैले मधेशमा बाक्लो जनसङ्ख्या र बाक्लो जनसङ्ख्यासँगै धेरै समस्या हुने गरेको कारण न्यायिक क्षेत्रमा ठुलो रूपमा आर्थिक, समाजिक र राजनीतिक चलखेल हुने गर्छन् । यसरी मधेश र मधेशी जनता जहिले पनि शासनिक प्रशासनिक रूपमा चरम ठगी र शोषणमा परिरहेका हुन्छन् । प्रहरी प्रशासन र न्यायालयमा राजनीतिक दलको भागबन्डाको आधारमा गरिने र हुने दृश्य अदृश्य रूपमा बढुवा र न्यायाधीश नियुक्तिले झन् यो समस्या विकराल बनेको छ । पहुँचविहीन नागरिकको न्याय पनि सजह पहुँच हुन सकेको छैन । कतिपय अवस्थामा न्यायप्रणाली निष्पक्ष हुन सकिरहेको छैन ।
मधेशमा व्यापक अशिक्षा, गरिबी र सचेतना अभावको कारण घरैपिच्छे, घरैभित्र र व्यक्तिपिच्छे समस्याले ग्रसित छन् । त्यसमा पनि जग्गा जमिनसम्बन्धी ठुलो समस्या छ । जातीय र धार्मिकलगायत समस्या उस्तै छन् । समस्याहरूको बाक्लो उपस्थिति र टकरावले मधेशीहरूको जीवन आपसी सङ्घर्षमै बित्छ । कि त अदालत धाएर या आफ्नो पेटका लागि गरिने मजदुरीमै बित्छ । राज्यको विभेद र लापरबाही तथा नागरिकको समानजनक व्यवस्थापनबिना मधेशी नागरिकको जीवन कहालीलाग्दो छ । राज्य शक्ति, स्रोतसाधनको असमान प्रयोग र वितरण तथा न्यायिक कमजोरीले समेत छरछिमेक र दाजुभाइमा अंशबण्डाको एक इन्चको जग्गा विवाददेखि बालबालिकाबिच हुने सामान्य झगडा र गाईवस्तुले खाई दिने बालीनालीले पनि ठुला मान्छेहरूको बिचमा हुने मुद्दा मामिलादेखि हत्या, आत्महत्यालगायतका विभिन्न घटना हुनु मधेशमा सामान्य घटना जस्तै हुन पुगेको छ ।
जहाँ बसोबास बाक्लो हुन्छ त्यहाँ समस्या पनि बाक्लै हुन्छन् । किनभने त्यहाँ हरेक सोच, चिन्तन र प्रवृत्तिका मानिसहरूको जमघट रहेको हुन्छ । जुन एकआपसमा टकराउने र जुध्ने भइरहन्छ । पहाडभन्दा सहर र मधेशको गाउँबस्तीमा बाक्लै जनसङ्ख्या हुन्छन् । त्यसैले यहाँका समस्याहरू पनि बाक्लै छन्, बाक्लै हुन्छन् । कम जनसङ्ख्या भएको पहाडीलगायतका ठाउँमा प्रशासनिक भिडभाड कम हुन्छन् । समस्या पनि कमै छन् तर त्यही बाक्लो जनसङ्ख्या भएको मधेशको प्रशासनिक क्षेत्रमा भिडभाड धेरै हुन्छ । समस्या पनि धेरै छन् । यहाँका प्रहरी प्रशासन र अड्डा अदालत समस्यामा परेका मानिसले खचाखच भरेको हुन्छ । एउटै खालको समस्या र दृश्यले भरिभराउ रहन्छन् । हामीले यसलाई कसरी लिने, बुझ्ने र व्यवहार गर्ने त्यो हाम्रो चेतना र बुझाइमा भर पर्छ । सकारात्मक दृष्टिकोण भएका मान्छेहरू यसलाई सकारात्मक रूपमा लिने र परिवर्तनको पक्षमा उभिने गर्छन् भने नकारात्मक सोचका मानिसहरूले नकारात्मक तरिकाले लिने, सोच्ने र गिजोल्ने गर्छन् ।
मधेश र मधेशीप्रति अधिकांश मानिसको मनोविज्ञान परिवर्तन हुन सकेको छैन । मधेशी जनता मुद्दा मामिलामा अल्झेकै कारण मधेशमा अपराधका घटनामा वृद्धि भएको छ । उनीहरू आफ्नैलाई चिन्दैनन् । सरकार, जनप्रतिनिधि र कर्मचारीसमेत यसको परेशानी खेपिरहेका हुन्छन् । त्यसैले मधेश र मधेशीलाई भूगोलको रूपमा लिनु र व्यवहार गर्नु हुँदैन । मधेशलाई हरेक हिसाबले सम्मान चाहिएको छ र सोही अनुसार यहाँको समस्याको समाधान गर्नु पर्छ । यहाँको शासन प्रशासनसमेत राज्यको चरित्र अनुसार निर्माण गर्नु पर्छ । यहाँको हरेक क्षेत्रको विकास निर्माण सोही अनुसार गर्नु पर्छ । आपसी सद्भाव, आत्मसम्मान र स्वाभिमानका साथ सम्मानजनक रूपमा बाँच्ने खालको राज्यको चरित्र निर्माण गर्नु पर्छ । हरेक किसिमले सम्भावनाको क्षेत्रको रूपमा मधेशलाई लिइनु पर्छ । यहाँ समस्यासँगै सम्भावना उत्तिकै छन् । मधेशमा एकै ठाउँमा बाक्लो बस्तीसँगै बाक्लो जनसङ्ख्या छ । त्यसैले यहाँ मान्छे मान्छेको बिचमा धेरै विवाद र समस्या छन् । पहाडको भन्दा मधेश मुद्दा मामिलामा आक्रान्त छ । ‘जहाँ समस्या हुन्छ, त्यहाँ सम्भावनाहरू पनि उत्तिकै हुन्छन्’ भन्ने भनाइलाई आत्मसात् गर्नै पर्छ । देशलाई सबैभन्दा धेरै राजस्व दिने ठाउँ मधेश नै हो । सबैभन्दा बढी जनसङ्ख्या र कृषि उत्पादन दिने क्षेत्र मधेश । सबैभन्दा बढी जातीय, क्षेत्रीय, धार्मिक र पर्यटन तथा सांस्कृतिक विविधता बोकेको उर्वर भूमि मधेश । यहाँ देश बनाउनका लागि हरेक सम्भावना उतिकै छन् ।