• १३ पुस २०८१, शनिबार

साझा गन्तव्य खुसी

blog

खुसी एक माध्यम अनेक हामी सानो छँदा कुनै खाने वा लगाउने चिज पाउँदा खुसी हुन्थ्यौँ । पछि स्कुल पढ्ने क्रममा कक्षामा परिणाम राम्रो पाई स्याबासी पाउँदा खुसी हुन्थ्यौँ । आइए बिए पढेपछि नोकरी पाउँदा खुसी भयौँ । विवाह हुँदा र सन्तानप्राप्तिमा पनि कम खुसी भएनौँ । त्यस्तै कति खुसी आए अनि गए । ती खुसीले एउटा पाठ सिकाएर गए, त्यो हो खुसीका क्षण कारण टिकाउ हुँदैनन् । फरक व्यक्ति र उही व्यक्ति तर फरक समयमा पनि खुसी हुने कारण फरक हुन्छन् । हुन त खुसी हुनुभन्दा सुखी हुनु राम्रो अनि सुखी हुनुभन्दा पनि आनन्द प्राप्ति गर्नु अझ राम्रो हो भनेर आध्यात्मिक साधकले भनेका छन् । तथापि खुसी हुनुलाई धैरैले जीवनको उद्देश्यका रूपमा व्यक्त गरेको हामी पाउँछौँ । सायद जीवनको हिसाबकिताबमा खुसी, सुखी र आनन्द तीन वटैबाट साझा लिन सकिने केही हुन्छ भने त्यो खुसी नै हुन्छ । 

जीवनको सही अर्थ भनेको रुँदारुँदै मुसुक्क मुस्कुराउन सक्नु हो भनिएको छ । या यसो भनौँ मुस्कानको महत्वभित्र जीवनको सार्थकता लुकेको हुन्छ । असन्तुलनको जोखिमका बिच मनलाई सन्तुलित राख्नु र संवेगउपर विजय प्राप्त गर्नु वास्तवमा जीवन जिउने परिपक्व मार्ग हो । समान्यतया मनको स्वभाव नै प्राप्त भएकोमा असन्तुष्ट रहने हुन्छ । यस्तो चञ्चल र चुलबुले मनलाई वशमा राख्न साधना आवश्यक छ । खुसी हुने माध्यम, कारण र आधार केलाउनुपर्ने हुन्छ । 

खुसी हुनका लागि खास गरी चार वटा पक्षमा ध्यान पु¥याउनुपर्ने भनिएको छ । पहिलो हो केही यस्तो चिज प्राप्त गर्नु, जसलाई देख्दा, सुन्दा, छुँदा, स्वादबाटै वा गन्धबाटै मन पराइयोस् । यसरी मन पराउने माध्यम अरू नभए ज्ञानेन्द्रीय हुने गर्छ । सुमधुर सङ्गीत सुन्नु, प्राकृतिक सुन्दरतामा रमाउनु, मिठोमिठो खानु आदि यसमा पर्छन् । दोस्रो हो आफू संलग्न भएको काममा रमाउनु । दैनिक जुन काममा धेरै समय बित्छ त्यो काम मन पराएर गर्नु नै खुसी हुने प्रमुख स्रोत हो । तेस्रो भनेको हामीले स्थापित गर्ने सम्बन्ध हो । जुनसुकै नाता सम्बन्धको भए पनि सुखद सम्बन्धले हामीलाई खुसी राख्न सहयोगी हुन्छ । यस्तो सम्बन्धमा एकले अर्काको हित चिताएको हुनु पर्छ मङ्गलभाव राख्न सक्नु पर्छ । चौथो भनेको बौद्धिक सोखको विषय जस्तो कि लेखपढ गर्ने, कलासाधना गर्ने, अरूलाई सिकाउने वा पढाउने वा गाइड गर्ने । यी सबैमा हामीले धेरै चिजले भरिपूर्ण हुनुभन्दा पनि आफूमा चाहिने धेरै पक्ष विद्यमान भएको बोध हुनु ज्यादा महìवपूर्ण हुने भनिएको छ । यदि हामीले धेरै चिजको अपेक्षा राख्यौँ र कम मात्र प्राप्त ग¥यौँ भने हामी खुसी हुने सम्भावना वा खुसीको मात्रा कम हुन्छ । यदि सम्भव भएका विषयमा मात्र अपेक्षा चाहना राखियो भने र प्राप्तिका लागि उत्तिकै मेहनत गरियो भने परिणाम प्राप्तिपश्चात् खुसी हुने सम्भावना बढेर जान्छ । एकै पटक धेरै अपेक्षा राख्दा स्वाभाविक रूपमा सबैमा उत्तिकै राम्रो परिणाम आउँदैन र खुसी रहने हाम्रो चाहना जोखिममा पर्छ । जसका कोही हुँदैनन्, जसको केही हुँदैन उनैका लागि समर्पित रहने व्यक्ति र संस्थाको काम नियाल्दा थाहा लाग्छ कि हाम्रो मायाको खाँचोमा रहेकालाई सहयोगका हातहरू बढाउनु भनेको पनि आफूलाई खुसी राख्ने माध्यम हो । यसको ज्वलन्त उदाहरणका रूपमा मानव सेवा आश्रमका सेवा केन्द्रमा निरन्तर अरूका लागि क्रियाशील युवाको जीवन खुसीले भरिएको हुनु निकै प्रेरणादायी विषय हो । 

जीवनले स्वाभाविक रूपमा हामीलाई सद्भाव, स्वास्थ्य, खुसी र शान्ति दिलाउन चाहन्छ । प्राकृतिक रूपमा कहिल्यै पनि हामीलाई रोग लागोस्, दुर्घटना होस् वा दुःख भोग्नु परोस् भन्ने हुँदैन । यी विषय जीवनप्रदत्त होइनन् । हाम्रो अपेक्षा, हाम्रो परिवेश र सांसारिक कारणले गर्दा अन्योल दुःख र असफलता हात लाग्छन । फलस्वरूप केही समयका लागि भए पनि प्राप्त हुने खुसी, मनको शान्ति र सफलता तुरुन्तै आकाशको फल जस्तो बन्न पुग्छन् । 

विचार जस्तो, त्यस्तै जीवन

हाम्रो भाग्य वा भविष्य बदल्ने हो भने हाम्रो सोचाइ र सोच्ने तरिकामा बदलाव ल्याउनु जरुरी छ । दिमाखमा चल्ने विचारले विश्वास निर्माण हुन्छ । जे कुरामा विश्वास हुन्छ, त्यही काम गर्न इच्छा जाग्छ । त्यसैले विचार बलियो अस्त्र हो कामका लागि । ‘यद भावं तद् भवति’ अर्थात् हामी जे सोच्छौँ त्यस्तै बन्छौँ भनेर शास्त्रमा भनिएको छ । यदि हामीले विचार गर्दैखेरि गर्न सक्दिनँ, सोच्न सक्दिनँ, सम्झिन सक्दिनँ, जान्दिनँ, बुढो र बुढी भएँ, मलाई कसैले वास्ता गर्दैन भन्ने विचार पालेर बस्यौँ भने आफैँलाई कमजोर बनाउँदै जान्छौँ । ठ्याक्कै यसको सकारात्मक पाटोको रूपमा म जे कुरा गर्ने आँट गर्छु, त्यो म गर्न सक्छु भन्यो भने हाम्रो अवचेतन मनले हामीलाई काम फत्ते गर्नेतर्फ डो¥याउँछ । विचारको शक्ति महान् हुनेमा खप्तड स्वामी, थोमस मर्फीलगायतले आफ्नो चर्चित पुस्तकमा बताएका छन् । यस्तो सकारात्मक विचार यदि निदाउनुअघि र निद्रा छाडेपछिको समयमा गहिरो चिन्तनका साथ गर्न सकियो भने अवचेतन मनमा विचारको बीजारोपण भए जस्तो रहन जाने बताइएको छ । ब्रह्मकुमारी शिवानीले निदाउनुअघि गर्ने सङ्कल्पले जीवनलाई सार्थक बनाउने बताउनुभएको छ । 

यसरी हुन्छ खुसी

सबभन्दा राम्रो पूजा भनेकै खुसी हुनु हो भनिएको छ तर खुसी रहन त्यति सजिलो छैन । यस्तो लाग्छ कि जीवनमा खुसी अगाडि अगाडि दौडिरहेको छ, हामी पछाडि पछाडि पछ्याइरहेका छौँ । अर्काेतिर पाएको चिजमा सन्तुष्ट नहुने मानवीय स्वभाव हुन्छ । भएको चिजवस्तु र पाएको उपलब्धिमा खुसी हुँदै एक पटकमा एउटा लक्ष्य प्राप्तिमा लागि पर्नु खुसी हुने सही मार्ग हुन सक्छ । हामीले आफूमा उत्पन्न भएको संवेगलाई के कसरी व्यवस्थापन गर्दछौँ, त्यसमा पनि हामी खुसी हुने वा दुःखी रहने कुरा निर्भर गर्छ । अगुवा गुरुले भन्नुभएको छ कि रिस उठेको बखत कसैलाई जवाफ दिनु उपयुक्त होइन अर्थात् त्यस बखत कुनै नयाँ काम थालनी गर्नु हुँदैन । खुसी भएको बखत अरू व्यक्तिलाई यो गर्छु, त्यो गर्छु भनेर विश्वास दिलाउनु र आफू चिन्तित भएको बखत कहिल्यै पनि कुनै महत्वपूर्ण निर्णय लिने काम नगर्नु भन्ने गरिन्छ । यो भन्नुको पछाडि त्यस्तो अवस्थामा व्यक्तिले सन्तुलन गुमाउने र संवेग प्रभावी भई असम्भव विषय बोल्ने सम्भावना हुन्छ भन्न खोजिएको हो । 

सतगुणी, राजसी र तामसी सुख

भागवत गीतामा तीन प्रकारका सुखको वर्णन गर्दै भगवान् भन्नुहुन्छ, जुन सुख सुरुमा विष समान हुन्छ अर्थात् जब मनुष्य मेहनत गर्छ, उसलाई कठिनाइ महसुस हुन्छ । सुरुमा कठिनाइ अनुभव भए पनि परिणाममा अमृत समान हुन्छ, त्यो आत्मा स्वरूपमा समाहित बुद्धि, प्रशन्नता, निर्मलता र स्थिरताको सुख अनुभव गर्छ, त्यो सतोगुणी सुख हो । अर्काे सुख छ राजसी सुख, जुन सुख विषय र इन्द्रीयहरूको संयोगबाट उत्पन्न हुन्छ । त्यो पहिला त अमृत समान अनुभव हुन्छ तर परिणाममा विषतुल्य हुन्छ, त्यो राजसी सुख हो । जुन सुख आत्मोन्नतिप्रति अन्धो, सुरुदेखि अन्तिम समयसम्म मोहग्रस्त छ, जुन आलस्य, निद्रा र प्रमादबाट उत्पन्न हुन्छ, त्यो तामसी सुख हो । अल्छि व्यक्ति दिनभर यदि ओछ्यानमा सुतिरहन्छ, ऊ त्यसलाई सुखको अनुभव गर्छ भने यस्तो सुख तामसिक सुख हो । पृथ्वीमा यस्ता कुनै प्राणी छैनन्, जुन प्रकृतिद्वारा उत्पन्न यी तीन गुणबाट मुक्त होऊन् । तीन गुण कहीँ न कहीँ कसैमा धेरै कसैमा थोरै प्रतिशत भएकै हुन्छ । राजसी र तामसी गुणलाई सन्तुलनमा राख्नै सात्विक खालको खाना र जीवनव्यवहार गर्दा नै व्यक्ति खुसी रहन सक्छ । 

ध्यान साधना खुसीको अथाह स्रोत

एकै पटक धेरै विचार उत्पन्न हुनु भनेको बेचैनी र अस्थिर मनको कारण हुन्छ । अस्थिर मन खुसी हुने मार्गको अवरोधक हो । तसर्थ मनलाई धेरै चल्न नदिने विधि अवलम्बन आवश्यक हुन्छ । वास्तवमा स्वाशप्रश्वास प्रक्रियालाई विचार प्रक्रियाको इन्धन मानिन्छ । यदि श्वास र प्रश्वासको बिचको अन्तरालमा ध्यान दिन सकियो भने मनलाई अलगै राख्न मद्दत पुग्छ । यो अभ्यासलाई प्राणायाम पनि भनिन्छ । श्वास लिने र फाल्नेको बिचमा र फाल्ने र लिनेको बिचमा जुन अन्तराल हुन्छ अर्थात् शून्यपन हुन्छ, त्यसलाई बढाउन कोसिस गर्नु र सोही शून्यतामा केन्द्रित गर्नु नै वास्तवमा ध्यान हो । सामान्यतया मनलाई एउटै कुरामा नौदेखि ११ सेकेन्डसम्म रोक्न सकियो भने एकाग्र भएको मानिन्छ । एकाग्र हुने क्रमलाई नौ पटक ग¥यो भने मनन हुन्छ र मनन नौ पटक गर्न सकियो भने ध्यान हुन्छ । यसबाट प्रस्ट भयो कि ध्यानको तहमा पुग्न सकियो भने मनलाई लामो समयसम्म स्थिर राख्न सकिँदो रहेछ । ध्यानमा सफल हुनु भनेको खुसी हुने अभ्यासमा सफल हुनु पनि हो । 

खुसी हुने तरिकाको सम्बन्धमा सदगुरुले चार वटा उपाय बताउनुभएको छ । स्वयम्लाई माया गर्ने र आफैँमा सकारात्मक चिन्तन गर्ने, शारीरिक अभ्यास वा साधना गर्ने, नियमित रूपमा डायरीमा अनुभूतिलाई उतार्ने बानी बसाल्ने र फुर्सदको समय परिवारजन तथा साथीभाइसँग संवाद गरेर बिताउने । हिजोआज सुनिने अरू विधिमा आवश्यकता कम गर्दै जाने तर जिम्मेवारी लिन पछि नपर्ने, तुलना नगर्ने, वर्तमानमा जिउने, जे काम गर्दा पनि ध्यानपूर्वक र रुचिपूर्वक गर्ने जस्ता जीवन जिउने कौशल हुन् । खुसी हुने उपायको सूची लामो हुन सक्छ तर आधारभूत रूपमा उल्लेखित केही मात्र विषयलाई जीवन पद्धतिमा उतार्न सके पुग्ने देखिन्छ । 

उपसंहार

एउटा भनाइमा यदि तिमीलाई हाँस्न आउँदैन भने दुकान नखोल भनिएबाट खुसी हुनुको महत्व अनुमान लगाउन सकिन्छ । हामी आफ्नो जीवनलाई सार्थक र सफल बनाउनका लागि आधारभूत विषयलाई दाउमा लगाउनु हुँदैन । प्रकृतिको विरुद्ध, आचरणको विरुद्ध, प्रचलित कानुनको विरुद्ध र मानवीयताको विरुद्ध कुनै पनि काम गर्नु हुँदैन । यी कामले हामीमा रहने शान्ति गायब हुन्छ र खुसी पनि रहँदैन । अरूको खुसी खोस्ने र अमानवीय कार्य गर्ने कृत्रिम माध्यमले खुसी भइहाले भने पनि त्यो खुसी क्षणिक हुन्छ । आफूले पूरा गर्नुपर्ने काम, आफूले रोजेको काम वा सङ्गठनमा रहेर सम्पादन गर्ने भनेर आफ्नो जिम्मामा आएको कामलाई पूरा मन लगाएर गर्नु नै वास्तवमा खुसी हुने सही मार्ग हो । लक्ष्यसहितका काम पूरा गर्दै जाँदा देखिने नतिजाबाट नै व्यक्ति खुसी रहन्छ । खुसीलाई टिकाउ बनाउन भने स्वयम्लाई माया, आध्यात्मिक साधना र मानवीय सेवा आवश्यक पर्छ । आउनुहोस् सबै मिलेर खुसी रूपी साझा गन्तव्यतर्फ अगाडि बढौँ ।

Author

नेत्र सुवेदी ‘प्रयास’