• १२ पुस २०८१, शुक्रबार

खोप लगाएका बालकको मृत्यु, अभिभावक आन्दोलित

blog

खोप लगाएका बालकको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीय । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, पुस ११ गते ।
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका हुन् ।

बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका –३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो । दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो । राति र्‍याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लैजादै त्यहाँ उपचार हुन नसकेपछि त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो ।

बर्थिङ सेन्टरमा बालकलाई पोलियो रोगविरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपिभी र रोटा डोज खुवाइएको थियो ।

घटनापछि निष्पक्ष छानबीन र क्षतिपूर्तिको माग राखी अभिभावक र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन् । बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप लगाएका बालकको मृत्यु भएको विषयमा क्षेत्री स्वास्थ्य निर्देशनालयलाई खबर गरी अनुसन्धान टोली पठाइदिन माग गरेका छौं । पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युको कारण खुल्न सक्छ ।” 

घटनापछि गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुक्षाकर्मीको टिमले स्थानीयहरूसँग छलफल गरिरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले जानकारी दिनुभयो ।

बालकको मृत्युपछि अभिभावक र स्थानीयले सडक अवरुद्ध गरेपछि स्थानीय जनप्रतिनिधि र अभिभावकबिच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सचना अधिकारी पवनकुमार शाहीले बताउनुभयो । सुरक्षाका लागि प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।