• १२ पुस २०८१, शुक्रबार

'खानेपानीको अभाव हुन दिने छैनौँ'

blog

बिन्दु थापा 

पाल्पा, पुस ११ गते । तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले पछिल्लो समयमा नगरका कुनै पनि घर होटल व्यवसायी, सर्वसाधारण, सङ्घ संस्था, अस्पताललाई पानीको अभाव हुन नदिने गरी काम गर्न थालेको जानकारी दिएको छ । समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले तानसेनलाई काकाकुल अवस्थाबाट मुक्त गरेर अहिले यहाँका उपभोक्ताको घरमा प्रशस्त पानी पुर्‍याउन सकेको बताउनुभयो । 

श्रेष्ठले होटल तथा व्यवसायी,उद्योग, अस्पताल, सङ्घ संस्थालाई थप पानीको आवश्यकता परे आधिकारिक पत्र कार्यालयमा पठाएर पानी उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।

तानसेन खानेपानी उपभोक्ता समितिको नयाँ टिम आएसँगै  तानसेन नगरपालिकामा पानीको अभाव नभएकोमा उपभोक्ताहरु खुसी छन् । अहिले सिस्नेमूलबाट ८० हजार लिटर, तीनधारा मूलका दुई ट्याङ्कीबाट ६० हजार लिटर, होलाङदीको मूलबाट ८० हजार लिटर पानी दैनिक जम्मा हुने गर्दछ । यसका साथै बाझा मूलबाट गुरुत्व आकर्षण शक्तिबाट जाने पानीले मिशन अस्पताल, भुसलडाँडा, गोर्खेकोट क्षेत्रमा पुर्‍याइएको छ ।  

तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले पानीको आवश्यकतालाई दृष्टिगत गर्दै पानीको व्यवस्थापन गर्दै आएको छ । नगरमा ३० लाख लिटर पानीको आवश्यकता हुने भए पनि दैनिक १७ लाख लिटर पानी जम्मा हुने गर्दछ जसको कारण दिन बिराएर पानी वितरण गरिने समितिका सदस्य महेन्द्र खातीले जानकारी दिनुभयो ।