• ५ पुस २०८१, शुक्रबार

व्यापार लगानी प्रवर्धन सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका उद्योगमन्त्री च्योङबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्धन फ्रेमवर्क (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

मन्त्री भण्डारीले टिआइपिएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।

कोरियाका मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीले नेपालमा जलविद्युत्, अटोमोबाइल, एसेम्बललगायतका क्षेत्रमा लगानी गरेको बताउनुभयो । उहाँले टिआइपिएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बताउनुभयो । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभएका थियो ।

कोरिया–नेपाल बिजनेस फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिनुभयो ।

यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बिच नेपाली उत्पादनको बजार प्रवर्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ कुवान किमबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेष गरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने छ । यसबाट नेपाल र दक्षिण कोरियाबिचको व्यापार घाटा कम हुने विश्वास छ । हाल कोरियासँग नेपालको व्यापार घाटा करिब सात अर्ब रुपियाँ छ । 

नेपालबाट हाल फेल्ट, गलैँचा, धागोलगायतका परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासङ्घको विश्वास छ । 

समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कोरियाबिच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्क प्रस्तुत गर्दै विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलो पटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिनुभयो । 

उहाँले पूर्वाधार विकासको महत्व औँल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, सहरी योजना, होटेल रिसोर्ट, केबुलकार र स्मार्ट सिटीमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गर्नुभयो ।