बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर ३० गते । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय बाजुराले गरिब, दलित तथा विपन्न परिवारलाई रकम सहयोग गरेको छ । बुढीगङ्गा र खप्तडछेडेदह गाउँपालिकामा रहेका गरिब, दलित तथा विपन्न परिवारलाई व्यवसायमा उत्प्रेरित गर्ने गरेर रेडक्रसले सो रकम सहयोग गरेको हो । दयनीय अवस्था भएर जीविकोपार्जन गर्न सकस भएका यहाँका घरपरिवारलाई व्यवसायमा सहज हुने गरेर पहिलो २० र दोस्रो २० हजार गरेर ४० हजार रुपियाँ सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालयले जनाएको छ ।
जमिन सबै पहिरोले लियो । “घरमा अन्य केही आय स्रोत नभएर पेट पाल्नकै लागि भारतमा जान लागेका बेलामा रेडक्रसले मलाई व्यवसाय गर्नका लागि ४० हजार रकम दिएपछि मैले अहिले गाउँमै आरन चलाउने योजना बनाएको छु,” बुढीगङ्गा नगरपालिका–२, बजेडीका स्थानीय गगन लुहारले भन्नुभयो । गाउँमा कृषि गर्नेका लागि हँसिया, बाउसा, कोदालो चाहिने भएकाले त्यो रकम लिएर अहिले गाउँमा आरन गर्ने योजना बनाएको लुहारले बताउनुभयो ।
नेपाल रेडक्रस शाखा बाजुराले अहिले बुढीगङ्गा र खप्तडछेडेदह गाउँपालिकाका झन्डै ५५ गरिब घरपरिवारलाई २२ लाख रुपियाँ वितरण गर्ने भएको छ । अहिले पहिलो किस्तामार्फत एक जनालाई दुई किस्ता गरेर ४० हजार गरी ११ लाख रुपियाँ वितरण गरेको रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालन राजेश सुनारले बताउनुभयो । गरिब, दलित, विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेपछि अहिले उनीहरूको आर्थिक अवस्था मूल्याङ्कन गरेर त्यसलाई सुधार गर्नका लागि परियोजनामार्फत यो रकम वितरण गरेको सुनारले बताउनुभयो ।
यस कार्यक्रमले यहाँको बसाइँसराइ न्यूनीकरण गर्दै विपत् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ लाभग्राहीले आयमूलक क्रियाकलाप सुरु गर्न पाउँदा दीर्घकालीन रूपमा समुदायको सामाजिक र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको जिल्ला रेडक्रस बाजुराका सभापति मेखराज जैसीले बताउनुभयो ।