काठमाडौं, मङ्सिर २९ गते । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् ।
यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ । योमरी खाइने भएकाले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यही दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेलेझैं बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल संवतअनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ ।
यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि योमरीको चुच्चोअनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास छ ।