• ११ पुस २०८१, बिहिबार

राउटेले गरे महायज्ञमा मधुस दान

blog

मानवसेवा आश्रमले सुर्खेतमा सञ्चालन गरेको महायज्ञमा मधुस दान गर्दै राउटे समुदाय । तस्बिर सौजन्य : मानवसेवा आश्रम, सुर्खेत

सुर्खेत समाचारदाता

सुर्खेत, मङ्सिर २८ गते । जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायले सुर्खेतमा मानवसेवा आश्रमद्वारा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा दान गरेका छन् । गत मङ्सिर २१ गतेदेखि सुरु भएको महायज्ञमा बिहीबार राउटेले आफूहरूसँग भएको काठको मधुस, पन्यु, पिर्का र कोसी दान गरेका हुन् । 

आश्रमले सडकमा आश्रित सहयोगापेक्षी मानवको उचित व्यवस्थापनका लागि महायज्ञबाट सङ्कलित रकमले भवन बनाउन लागेको हो । महायज्ञ सञ्चालन मूल समितिका संयोजक डा. नवराज केसीले राउटे समुदायले पनि आफूहरूसँग भएको सिपमूलक वस्तु दान गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । केसीले भन्नुभयो, “महायज्ञमा आफूसँग जे जस्तो छ, सोही अनुसार मानिसले दान गरेका छन्, शुभ काम थालिएको हुँदा राउटे समुदायले गरेको दानले मानवीय भावना जगाएको छ ।” अहिले राउटे वीरेन्द्रनगरनजिकै गिरीघाट खोलामा बस्दै आएका छन् । 

उहाँले महायज्ञ करिब करिब अन्त्य हुन लाग्दा दाताको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो । बुधबार मात्रै दाताबाट दुई करोड रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ । महायज्ञमा भक्तजनको उत्साहजनक उपस्थितिले थप हौसला बढेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार बुधबार संस्थागत र व्यक्तिगत रूपमा ३२५ जनाले दान गरेका छन् भने नौ वटा व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता आएका छन् । 

बुधबार क्याप्टेन दिनेश प्रतिष्ठानले सबैभन्दा बढी एक करोड रुपियाँ दान गरेको छ । आश्रमको ज्येष्ठ नागरिक मनोरञ्जन पार्क निर्माणका लागि सो दान गरिएको हो । यस्तै जाजरकोटको कुसे गाउँपालिका, जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले  १५ लाख ५१ हजार, भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले दुई कोठा निर्माण गर्न करिब १२ लाख, प्रदेश अस्पतालका पूर्वनिर्देशक प्राडा. डम्बर खड्काले एक कोठा निर्माणका लागि छ लाख, रामकुमार पन्तले एक कोठा निर्माणका लागि छ लाख, बारेकोट गाउँपालिका, जाजरकोटका अध्यक्ष वीरबहादुर गिरीले एक कोठा निर्माणका लागि छ लाख, जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष वेदबहादुर शाहीले एक कोठा निर्माणका लागि छ लाख, सानीभेरी गाउँपालिका रुकुमपश्चिमका अध्यक्ष बर्खबहादुर विष्टले एक कोठा निर्माणका लागि छ लाख, नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बरबहादुर रावतले एक कोठा निर्माणका लागि छ लाख रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला धार्मिक वन तथा देउतीबज्यै सामुदायिक वन उपभोक्ता समितिले १८ हेक्टरभन्दा बढी जग्गा प्रदान गरेएको छ । महायज्ञबाट पाँच करोड रुपियाँ सङ्कलन हुने अपेक्षा गरिएको छ । महायज्ञमा प्रत्येक दिन पाँच हजार भक्तजनले अवलोकन गर्ने गरेको आयोजक समितिले जनाएको छ ।  मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले कर्णालीमा प्रदेशस्तरीय भवन निर्माणका लागि महायज्ञ सञ्चालन गर्दै आएको हो ।  महायज्ञ शुक्रबार समापन हुने आयोजक समितिले जनाएको छ ।