• २७ मंसिर २०८१, बिहिबार

कृषि सेनाको परिकल्पना

blog

अबको कार्यभार दिगो कृषि क्रान्ति हो । राजनीतिक पार्टी विभिन्न किसिमका सेना बनाउन तल्लीन छन् । साइबर सेना, आइटी सेना, युथ फोर्स, अखिल फोर्स, वाईसिएल, तरुण फोर्स यी सबै दस्ता सेना पुलिस जस्ता पार्टीका फोर्स हुन् । यिनको समाजमा खासै भूमिका देखिएको छैन । यस्ता प्रकृतिका राजनीतिक सङ्गठन उत्पादन र रचनात्मक कृषिमा जोडिनु सान्दर्भिक हुन्छ । 

राजनीतिक पार्टीका भातृ सङ्गठन र जनवर्गीय सङ्गठन असल उद्देश्य र नियत राखेर गठन गरिएका थिए । प्रजातन्त्र पुनर्बहाली र गणतान्त्रिक व्यववस्था ल्याउन यिनीहरूको योगदान विशेष र स्मणरीय छ । त्यसयता यिनीहरूका क्रियाकलाप अपवादमा राम्रा पनि छन् तर केही जनवर्गीय सङ्गठनलाई हेर्ने आममान्छेको दृष्टिकोण सकारात्मक छैन । यिनको रचनात्मक, सिर्जनात्मक क्षमता, उमेर र ऊर्जालाई कृषि उत्पादन र रोजगारमूलक व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ । 

उद्योगधन्दा, कलकारखाना सिप र प्रविधियुक्त कम्पनी खोल्नु पर्ने र व्यावसायिक बन्नुपर्नेहरू किन विभिन्न नामका सैनिक र अर्ध सैनिक नामक दस्ता खोल्न र चलाउन चाहन्छन् ? प्रतिस्पर्धा गर्छन् ? किन राजनीतिक पार्टीहरू यस्ता कुरालाई प्रोत्साहन गर्न फोर्स र सैनिक नामक संस्था खोलिदिन मरिहत्ते गर्छन् ? के आजको अवस्था युवा र विद्यार्थीलाई राजनीतीकरण गर्न उक्साउनु हो ? युवालाई अर्थोपार्जनका क्रियाकलापमा लगाउनु पर्ने होइन र ? युवा सङ्गठनको हिजो आवश्यकता थियो किनकि मुलुकमा प्रजातन्त्र स्थापनार्थ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि युवाको भूमिका समाप्त भयो । प्रजातन्त्र स्थापना भएपछि त्यस प्रयोजनका लागि गठित सङ्घ सङ्गठनलाई मुलुक निर्माणमा लगाउनुपर्ने हो । आजसम्म कुनै पनि राजनीतिक दलले यस्तो कर्म गर्न उचित ठानेनन् । अब यस दिशामा अघि बढ्नु पर्छ ।

श्रमजीवी पौरखी र पसिनाको कमाइमा विश्वास गर्ने मेहनत र बुद्धिले बाँच्ने जनशक्ति पैदा गर्नु पर्छ । काम सेवा र विशेष महìवको क्षेत्र पहिचान गरी तदनुकूल जनशक्ति निर्माण गर्न राज्य चुक्दै आयो । अब यसको औचित्य पुष्टि गर्नु पर्छ । 

राज्यले आत्मनिर्भर, स्वाभिमानी र कर्मशील पुस्ता जन्माउन किन विशेष क्षेत्रको प्राथमिकीकरण गर्न जानेन ? हाम्रो आवश्यकता र सम्भावना के हो भन्नेतिर नीतिनिर्माताको ध्यान जानु पर्छ । हामीसँग के छ ? कुनै सम्भावना स्रोत र समयमा नभएर हामी पछाडि परेका हौ र ? पक्कै होइन हामीसँग यथेष्ट सम्भावना छन् तर हामी हाम्रा सम्भावना र अवसरमा निशाना लाउन पटक–पटक चुकेका छौँ । अझै पनि हाम्रो चेत खुलेको छैन ।

असीमित सम्भावना र अथाह प्राकृतिक स्रोतसाधन भएर पनि हामी मगन्ते छौँ । ठग भएका छौँ । हामीले हामीलाई हाम्रो सम्भावना र शक्ति अनि भविष्यलाई ठगेका छौँ । आफ्नो सुगन्ध भुलेर अर्काको दुर्गन्धमा मुग्ध छौँ । संसारको भोक र शरीर जीवन र जगत पृथ्वी र प्राणीसँग सारभूत रूपमा जोडिएको पेसा कृषिलाई हेय बनाएर हामीले केही दशकदेखि आफ्नो खुट्टामा बन्चरो हान्दै छौँ ।

हामीसँग प्रसस्त कृषियोग्य जमिन छ पानी माटो छ तर इच्छाशक्ति भएका केही गरौँ । स्वदेशकै माटोमा नङ्ग्रा खियाउ भन्नेहरू पनि नभएका होइनन् । कृषि प्रविधि, मल बिउबीजन, कृषि यन्त्र र कृषि औजार कृषकको सुविधा अनुसार छैन । सिँचाइको आधुनिक स्वरूप छैन । कृषिलाई उद्यमको रूपमा विकास गर्न ‘कृषि लोन’ सहज छैन फलस्वरूप यहीँ आफ्नै भूमिमा केही गरौँ, श्रम र पसिनाले आफ्नै मातृभूमि भिजाऔँ भन्ने चाह राख्ने युवा पलायन हुन बाध्य छ । 

स्वदेशमै रहे बसेको युवा पनि कृषि गर्न नाक खुम्च्याउँछ । किनभने हाम्रो शिक्षाले कृषिलाई विशेष सम्भानायुक्त क्षेत्र र स्वाभिमान युक्त कर्मशील पेसा मानेकै छैन । बरु हलो जोतेर माम खानुलाई हीन कर्मको रूपमा परिभाषित गरेको छ । जागिर र अन्य पेसालाई अब्बल ठानेको छ तर कृषिकर्मलाई दुःखीले गर्ने केही गर्न नस्कनेले गर्ने पेसाको रूपमा परिभाषित गरेर कृषिको अथाह सम्भावनालाई बन्ध्याकरण गर्न मद्दत गरेको छ । युवा शक्ति, सामथ्र्य र समयको बर्बादी भइरहेको छ ।

कृषिलाई सम्मानित पेसा मान्दैन र कृषकलाई हेला होचोको दृष्टिगोचर गर्छ । राज्यको नीति पनि किसानमैत्री छैन । कृषिलाई राज्यले आफ्नो अर्थतन्त्रको मेरुदण्ड किताबमा मात्रा स्वीकार गर्छ । वास्तविक धरातलमा स्वीकार गरेर तदनुकूल नीति र निर्णय गर्न सकेको छैन । जसको कारण रेमिट्यान्सको भरमा देश चलेको छ । आत्मनिर्भरता पराय बनेर परनिर्भरता परिचय बनेको छ । रेमिट्यान्सले धानिने देश र वैदेशिक रोजगारीलाई उच्च प्राथमिकता दिने देशको पहिचान बनेको छ । 

कुनै बेला खाद्यन्न निर्यात गर्ने देश अहिले सबै कुरामा पर निर्भर छ । आयातित कुरामा बाँचेको छ । उत्पादन छोडेर विदेशी समानको दलाली र बिचौलिया बन्नु परेको छ । आफ्नो उत्पादन भयो भने बेच्ने बजार छैन । विदेशी उत्पादनसँग कृषकले दुःखले उत्पादन गरेको वस्तुले प्रतिस्पर्धा गर्न सक्दैन । कृषिमा प्रतिकूलता नै प्रतिकूलता भएको कारण कृषि श्रम बजारमा काम गर्ने श्रमिकको अभाव छ । श्रमको मूल्य पनि कम छ तसर्थ नेपाली युवा खाडीका श्रम बजारमा पसिना र श्रम अनेकन खतरा मोलेर बेच्न बाध्य छन् । अतः राज्यले कृषि सेना निर्माण गर्ने जरुरत देखेको छु । 

बाँझो खेतबारी हरभरा बनाउन, पशु पन्छी पालन गर्न, कृषि जन्य उत्पादनमा आत्मनिर्भर बन्न, अन्न, तरकारी, फलफूल र माछा मासु यथेष्ट उत्पादन गरेर विदेश निर्यात गर्न, अनि जडीबुटी खेती, संशोधन प्रवर्धन र निकासी गर्न, बेरोजगार घटाउन, वैदेशिक रोजगारी कम गरी स्वदेशमै रम्ने रमाउने वातावरण बनाउन, पर्यावरणीय असन्तुलन कम गर्न खेती अनिवार्य सर्त हो । जसका लागि हामीसँग पर्याप्त भूमि छ । उपयुक्त हावापानी छ ।

कृषिको वैज्ञानिकीकरण बजारीकरण, यान्त्रीकरण र औद्योगिकीकरण र कृषिलाई उद्योग र कृषकलाई उद्यमी बनाउन सरकारले कृषिसम्बन्धी अत्याधुनिक, अनेकौँ सिप, ज्ञान र प्रविधिले दक्ष कृषि सेना गठन गर्न पहल थालोस् । कृषिको व्यवस्थापकीय पक्षमा जति छिटो ध्यान दिन सकिन्छ त्यति छिटो नेपाली आत्मसम्मान र स्वाभिमान उँचो रहन्छ । खाद्यान्नमा आत्मनिर्भर रहने र विश्व बजारमा श्रम गर्न जाने युवालाई रोक्ने निति बनाएर कृषि सेनामा युवाको आकर्षण बढाउने कार्यक्रम राज्यले बनायो भने देशको मुहार फेरिने छ । बाँझा भूमि हराभरा हुने छन् । 

वन जङ्गल हरियाली बन्ने छन् । कृषिलाई पर्यटनसँग जोडेर स्वदेशी उत्पादनको प्रयोग गर्दै स्वदेशी उत्पादनलाई प्रचारप्रसार गरी विश्व बजारमा पठाउने वातावरण बनाउन राज्यले लागि प¥यो भने असम्भव केही छैन । 

कृषि सेनाको सम्भावनाबारे विस्तृत अध्ययन गरेर यसको कार्यान्वयन गर्न राज्यले सोच्ने हो भने स्वरोजगारी बढ्ने, उत्पादन बढ्ने र वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घट्दै जाने छ । सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको सङ्ख्यालाई सिजनल कृषि सेना वा सबैलाई पालैपालो कृषि सेना बनाएर आवधिक रूपमा काम लगाउने मोडल पनि विकास गर्न सकिन्छ । यसो हुँदा भएको जनशक्तिको प्रयोग भयो र राज्यलाई आर्थिक भार पनि नपर्ने हुन्छ । यसरी सम्भव हुँदैन भने हरेक पालिका स्तरमा कृषि सेना गठन गरेर कृषि कर्ममा लगाउन सकिन्छ गाउँ समाज, युवाविहीन र जनशक्ति विहीन हुनुको आजको दुरावस्था रहँदैन । यो विषयमा बौद्धिक बहस चलोस् कृषि सेनाको सम्भाव्यता र जटिलता बारे अध्ययन होस् भन्ने हेतुले यो विषयको उठान गरिएको हो । कति व्यावहारिक कति अव्यावहारिक ? कति उपयुक्त कति अनुपयुक्त विवेचना हुने छ, कति सार्थक कति निरर्थक यो विषयमा पार्टीहरूले आफ्ना स्थानीय नेता कार्यकर्तालाई कम्तीमा आफ्नो कृषियोग्य भूमि बाँझो नराख्न उर्दी गर्‍यो भने पनि कृषिमा नव जीवन आउँछ । 

स्थानीय पार्टी कमिटीहरू कृषिमा आबद्ध भएर आफ्नो वरपर जमिन बाँझो नराख्ने जसरी हुन्छ जे उत्पादन हुन्छ त्यो उत्पादन गर्ने नीति अवलम्बन गर्दा मात्र पनि कृषिमा बहार आउँछ । राजनीतिक पार्टीले आफ्ना भातृ सङ्घ सङ्गठन विशेषत युवा विद्यार्थीलाई पार्टीको कृषि सेनामा अनुवाद गर्नु एउटा विकल्प हुन्छ भने अर्को छुट्टै कृषि सेना गठन गरेर सेना प्रहरीमा जनताका लागि कृषि युनिट बनाएर पनि कृषिमा काम गर्न सकिने मोडेलबारे बौद्धिक विमर्श सैद्धान्तिक छलफल र नीतिगत स्पष्टता बारे ज्ञान निर्माण गरौँ ।

Author

सञ्जीव कार्की