• १२ पुस २०८१, शुक्रबार

सञ्चार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध

blog

संस्थापक अध्यक्ष स्व. भट्टराईको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्नुहँुदै प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी  ।तस्बिर : धर्बेन्द्र झा

धनुषा सामाचारदाता

धनुषा, मङ्सिर १८ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मिडिया काउन्सिल मधेश प्रदेशका संस्थापक अध्यक्ष शिवहरिप्रसाद भटट्राईको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा मिडिया काउन्सिल मधेश प्रदेशले सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारकर्मी र सञ्चार क्षेत्रको पीडालाई आफूले राम्ररी बुझेको भन्दै पत्रकारको बिमा, वृत्ति विकास, सुरक्षासहित सञ्चारगृहका लागि आवश्यक पर्ने लोककल्याणकारी विज्ञापनका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशका सञ्चार क्षेत्रका समस्याबारे संस्थागत रूपले सुझाव दिनका लागि आग्रह गर्नुभयो । उहाँले ३० वर्ष पत्रकारिता गरेका पत्रकारको सम्मानका लागि बजेट विनियोजन गर्न आफूले मन्त्रीपरिषद्मा विषयवस्तु उठान गरिसकेको भन्दै प्रत्येक जिल्लामा वरिष्ठ पत्रकारहरूको सम्मान गर्ने परिपाटी बसाल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सञ्चार माध्यममा राजनीतिक विषयवस्तु मात्रै समाचार बन्ने गरेको भन्दै समाजमा देखिएका विकृतिविरुद्ध पनि कलम चलाउनका लागि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीले सत्यतथ्यलाई उजागर गर्नुपर्ने र पीत पत्रकारितालाई निरुत्साहन गर्नुपर्ने बताउनुभयो । 

कार्यव्रmममा प्रदेश सभा सदस्य रामअशिष यादवले सरकार मिडियामैत्री भए मात्र लोकतन्त्र बलियो हुने भएकाले प्रदेश सरकारलाई मिडियामैत्री बन्न सल्लाह दिनुभयो । 

उहाँले संस्थापक अध्यक्ष भटट्राई जस्तोसुकै समस्या समाधान गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्दै पत्रकारबिच द्वन्द्व हुँदा पनि समाधान गर्ने गरेको बताउनुभयो । कार्यव्रmममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश सरकारले पत्रकारको एक लाख रुपियाँको स्वास्थ्य बिमा र सात लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्न लागेको र केही दिनभित्रै स्नातकोत्तर अध्ययनका लागि केही पत्रकारलाई छात्रवृत्ति दिने व्यवस्था गर्न लागेको बताउनुभयो । 

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतसहितकाले संस्थापक अध्यक्ष भटट्राईका नाउँमा पुरस्कारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।