नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर १८ गते । केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको ‘जिपिएस’ र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मङ्सिर ५ गते राति बर्दिया क्षेत्रमा भारतबाट प्रवेश गरेको सो पाटेबाघको ‘जिपिएस लोकेसन’ का आधारमा सम्पूर्ण जानकारी प्राप्त गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो । उहाँले भारतबाट नेपाल प्रवेश गरेको पाटेबाघको घाँटीमा रेडियो कलर जडान गरिएकाले सो पाटेबाघ नेपाल प्रवेश गरेदेखि नै उच्च निगरानीमा राखिएको बताउनुभयो।
बर्दिया निकुञ्जका अनुसार अन्दाजी सातआठ वर्षको सो भाले पाटेबाघ मधुवन–२ स्थित कर्तनियाघाट हुँदै खाता कोरिडोर भएर नेपाल प्रवेश गरेको थियो । त्यसपछि बाघ गोविन्दपुर बग्नाहा वन क्षेत्रमा पुग्यो । त्यसपछि ज्योतिपुरको वन क्षेत्रमा प्रवेश गरेको देखिएको छ । त्यहाँबाट हर्नवा गएको र अहिले कुसुम्बा र कृष्णसार संरक्षण क्षेत्रमा रहेको देखिएको छ । दुई दिनदेखि उक्त क्षेत्रमा रहेको झोलुङ्गे पुलदेखि एक किलोमिटर दुरी रहेको जङ्गल क्षेत्रमा सो बाघ रहेको निकुञ्जले जनाएको छ । पाटेबाघले दैनिक करिब पाँचदेखि छ किलोमिटरसम्म यात्रा गरिरहेको छ।
पाटेबाघलाई निकुञ्जले भारतीय पक्षसँग समन्वय गरेर निगरानी गरिरहेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामले बताउनुभयो । सो बाघका कारण मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्जले पनि कार्यालयबाट ‘जिपिएस’ का माध्यमबाट निगरानी गर्नुका साथै ड्रोनसहित छ जना प्राविधिकको टोली खटाएको छ ।
पछिल्लो दुई दिनयता बाघ एउटै स्थानमा रहेकाले आहारा भेट्टाएको वा धेरै थाकेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ । सो बाघ कतै देखिएमा डिभिजन वन कार्यालय, कृष्णसार संरक्षण क्षेत्र, बर्दिया प्रहरी, निकुञ्ज र जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आह्वान गरिएको र सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ ।