शशिधर पराजुली
विराटनगर, मङ्सिर १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्नुभएको छ । कोशी प्रदेश सरकारको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नयुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्री भण्डारीलाई सोमबार साँझ कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारी जापान गएको विषयमा प्रहरी अनुसन्धानमा तानिएका कारण उहाँले राजीनामा गरेपछि उक्त मन्त्रालय रिक्त भएको थियो । मन्त्री भण्डारी अधिवक्तासमेत रहनुभएका कारण उहाँलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री कार्कीले रिक्त रहेको स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको थियो । तर नेपाली काँग्रेसको भागमा रहेको उक्त मन्त्रालयमा मन्त्रीको नाम काँग्रेसले सिफारिस नगरेपछि ढिलागरी मन्त्री भण्डारीको शपथ गराइएको हो ।