गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हाल स्वास्थ्यमा सीमित स्रोतसाधनलाई प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयले बिहीबार आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उहाँले सीमित स्रोतमा अधिकतम लाभ लिएर उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको हो ।
अस्पतालहरूलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने भन्दै मन्त्री पौडेलले सिटी स्क्यान, एक्सरेलगायतको रिपोर्ट अनलाइन उपलब्ध गराउन सङ्घीय अस्पतालबाट काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले यस्तो सेवा अन्य अस्पतालमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले आफू सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने योजनासाथ अघि बढेको भन्दै त्यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले स्रोत अपुग हुँदा कतिपय कार्यक्रम लागु गर्न नसकिएको स्वीकार्नुभयो ।
राज्यले छुट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई एक लाखबाट पाँच लाख रुपियाँमा पु¥याउने आफ्नो घोषणा कार्यान्वयन गराएरै छाड्ने बताउनुभयो । स्वास्थ्य बिमालाई एकीकृत ढङ्गले अघि बढाउन कानुन परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
औषधीमा नागरिक धेरै ठगिएको गुनासो आइरहेको भन्दै मन्त्री पौडेलले औषधीको मूल्य समायोजनको काम अघि बढिरहेको जानकारी दिनुभयो । समीक्षा बैठकमा स्वास्थ्यतर्फ सङ्घीय निकायका प्रतिनिधि, सातै प्रदेशका प्रतिनिधि, अस्पताल, प्रतिष्ठान, केन्द्रलगायतका निकायका निर्देशकले प्रगति विवरण प्रस्तुत गर्ने छन् । समीक्षा बैठक शुक्रबारसम्म सञ्चालन हुने छ ।