समृद्धि एक गुणात्मक र तुलनात्मक अवस्था हो, जसलाई एकै वाक्यमा परिभाषित गर्न वा कुनै नम्बरमा मूल्याङ्कन गर्न सकिँदैन । तथापि राष्ट्रको उन्नति भएको वा सम्पन्न भएको वा राष्ट्रका सबल पक्षको बढीबढाउ भएको अवस्थालाई राष्ट्रको समृद्धि भनिन्छ । समृद्धि निरन्तरको यात्रा हो न कि कुनै गन्तव्य । राष्ट्रको आर्थिक, सामाजिक, भौतिक तथा राजनीतिक पक्षलगायतका समग्र क्षेत्रमा भएको वा हुने सकारात्मक बढोत्तरी नै समृद्धि हो । नेपालको संविधानको प्रस्तावनामा उल्लिखित ‘..लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ ।’ व्यवस्थाले यिनै पक्षलाई निर्देशित गरेको पाइन्छ । उपरोक्त राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिबद्धता र सव्रिmयतासहितको सहकार्य अपरिहार्य छ ।
समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ज्ञान, सिप, पुँजी, प्रविधि र उच्चस्तरको व्यावसायिक दक्षता रहने निजी क्षेत्रको अहम् भूमिका रहने तथ्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूले पुष्टि गरिसकेको छ । संविधानले निर्देशित गरेको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनुका अतिरिक्त साधनस्रोत र सक्षमतायुक्त निजी क्षेत्रको प्राथमिक दायित्व हो ।
नेपालका आवधिक योजनाहरूले समेत निजी क्षेत्रलाई राज्य विकासको एक अभिन्न र जिम्मेवार क्षेत्रका रूपमा स्वीकार गरेको छ । पन्ध्रौँ योजनाले लिएको दीर्घकालीन राष्ट्रिय लक्ष्य अन्तर्गतका समृद्धिका चार लक्ष्य, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व र उच्च र समतामूलक राष्ट्रिय आय हासिल गर्न निजी क्षेत्रको निर्णायक भूमिका रहन्छ । यस योजनाले ‘सार्वजनिक निजी साझेदारीको माध्यमद्वारा उत्पादनशील र रोजगारमूलक आर्थिक वृद्धि’ गर्ने सोच लिएको थियो । योजना अवधिमा निजी क्षेत्रबाट सार्वजनिक निजी साझेदारीमा करिब सात खर्ब ५० अर्ब लगानी हुने अपेक्षा लिएको थियो । सोह्रौँ योजनाको अवधारणापत्रले समेत उल्लिखित नीतिगत प्राथमिकतालाई निरन्तरता दिँदै समृद्ध राज्य निर्माणमा निजी क्षेत्रको उल्लेख्य भूमिकाको अपेक्षा गरेको छ । हरेक वर्षको सरकारका नीति तथा कार्यक्रमले निजी क्षेत्रसँग सहकार्य गरी सो क्षेत्रको विकासमा सहजीकरणर संवर्धन गर्दै सरकारको नियमनकारी भूमिकालाई सरल, सहभागितामूलक र पारदर्शी बनाउँदै लगेको छ । परिणातः नेपालको निजी क्षेत्रको विकास र विस्तार हुँदै गएको तथ्य योजनाबद्ध विकासमा निजी क्षेत्रको योगदान तथा अर्थतन्त्रमा यस क्षेत्रको उदीयमान उपस्थितिले पुष्टि गर्छ ।
निजी क्षेत्रले खेलेका भूमिका
समृद्धि यात्रामा निजी क्षेत्रले पु¥याएको योगदान तथा खेलेको भूमिका महत्वपूर्ण रहेको हुँदा यसका सकारात्मक र सुधारापेक्षी पक्षहरूको समीक्षा गर्न आवश्यक छ । विषेशतः २०४६ सालको राजनीतिक परिवर्तन सँगसँगै लिइएको उदारीकरणको नीति एवं सूचना प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकासले नेपालमा निजी क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । सूचना तथा सञ्चार, बैङ्क तथा वित्तीय सेवा, जलविद्युत्, यातायात, निर्माण तथा पूर्वाधार, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा यस अवधिमा भएको उल्लेखनीय विस्तार तथा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान छ ।
पछिल्लो समयमा शिक्षा, स्वास्थ्य, पर्यटनलगायत सेवा क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य लगानी परिचालन भएको र सेवा विस्तार भई देशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान दुई तिहाइ नजिक पुगेको छ । सेवा क्षेत्रको विस्तारले रोजगारी सिर्जनामा समेत निजी क्षेत्रको योगदान बढेको छ । जलविद्युत् उत्पादनको क्षेत्रमा निजी क्षेत्रको प्रवेशपश्चात् यस क्षेत्रमा नेपाल आत्मनिर्भर हुँदै निर्यातमार्फत चुलिँदो व्यापार घाटा कम गर्न सहयोगी हुने परिस्थिति विकास हुँदै गएको छ । शिक्षा क्षेत्रमा भएको विकासले अन्तर्राष्ट्रिय स्तरको शिक्षा देशभित्रै हासिल गर्न सकिने वातावरण बन्दै गरेको छ भने स्वास्थ्य क्षेत्रमा समेत जटिल र गम्भीर प्रकृतिका स्वास्थ्य समस्याको उपचारसमेत देशभित्रै उपलब्ध भई सेवा नै प्राप्त नहुने तथा सेवाका लागि ठुलो रकम बिदेसिने अवस्थामा न्यूनीकरण भई यी क्षेत्रमा देश आत्मनिर्भरतातर्फ उन्मुख भएको छ ।
उल्लिखित उपलब्धि हुँदाहुँदै निजी क्षेत्र समस्यारहित भने छैन । यस क्षेत्रका कतिपय समस्याका लागि स्वयम् निजी क्षेत्र जिम्मेवार रहेको पाइन्छ भने कतिपय नीतिगत समस्यासमेत रहेका छन् । निजी क्षेत्र विकासका संवाहक, सरकारको सहयात्री र जनताका सहयोगी हुनुपर्नेमा उल्लिखित समस्या र कतिपय अवस्थामा नकारात्मक सोच हाबी हँुदा उनीहरू नाफाखोर, राजस्व र सार्वजनिक स्रोतसाधनको अपचलनकर्ताका रूपमा समेत चित्रित भइरहेको पाइन्छ । यस्तो भाष्य सिर्जना हुनुका पछाडि तपसिलबमोजिमका प्रवृत्ति जिम्मेवार रहेको पाइन्छ ः
क. सिन्डिकेट, कार्टेलिङ, उत्पादक र उपभोक्ताकाबिच बहुतहको बिचौलियाको अनपेक्षित उपस्थितिका कारण कमजोर बजार प्रतिस्पर्धाले आमउपभोक्तामा परेको नकारात्मक असर ।
ख. अनौपचारिक कारोबार, न्यून बिजकीकरण, चोरी तस्करी, हुन्डी कारोबार, अवैध क्षेत्रमा लगानी, उच्च राजस्व चुहावट तथा मूल्य र आपूर्तिमा अस्वाभाविक उतारचढावका कारण निजी क्षेत्रमाथिको विश्वसनीयतामा ह्रास ।
ग. शिक्षा, स्वास्थ्यलगायतका सेवा क्षेत्रको चर्को मूल्य र न्यून गुणस्तरका कारण आमनागरिकमा व्यप्त अविश्वास र असन्तुष्टि ।
घ. उत्पादनमूलक कृषि तथा औद्योगिक क्षेत्रमा भन्दा वाणिज्य र व्यापारलगायतका सेवा क्षेत्रमा अधिक केन्द्रित हुनु । प्राथमिक तथा द्वितीय क्षेत्रको विकासबिना तृतीय क्षेत्रको विकास दिगो नहुने हुँदा सो क्षेत्रमा अपेक्षित लगानी नहुनुका कारण निजी क्षेत्रप्रति विश्वशनीयतामा प्रश्न उठ्ने गरेको ।
ङ. निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएको उच्च लागत र न्यून गुणस्तर एवं तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्दा धकेलिएको समय र महँगिएको सार्वजनिक निर्माणले निजी क्षेत्रको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ ।
च. निजी क्षेत्रमा श्रम र श्रमिकको उचित सम्मान हुन नसकेको, श्रम शोषण हुने गरेको तथा निजी क्षेत्र व्यावसायिक रूपमा भन्दा व्यक्ति वा पारिवारिक घेराभित्र सञ्चालन हुने गरेको आमगुनासो रहेको छ ।
छ. विविध कारणले निजी क्षेत्रको बढ्दो लागत, न्यून उत्पादन तथा उत्पादकत्व एवं कमजोर प्रतिस्पर्धात्मक क्षमताका कारण यस क्षेत्रको अपेक्षित संस्थागत विकास हुन सकेको छैन ।
निजी क्षेत्रसँगको अपेक्षा
समाजमा जोसँग अपेक्षा हुन्छ उसैको टीकाटिप्पणी गरिन्छ । निजी क्षेत्र समाजको एक अभिन्न अङ्ग र अर्थतन्त्रको प्रमुख खम्बा भएका कारण नै यस क्षेत्रमा भएका कमीकमजोरीको चर्चा गरिन्छ । ती कमजोरी सुधार हुने अपेक्षा राखिन्छ । साथै सो क्षेत्रमा रहेका खराबीले आमनागरिकको जनजीवनमा गम्भीर नकारात्मक असर र देश विकासमा समेत ठुलो धक्का पुग्न जान्छ । तसर्थ देशको अर्थतन्त्रको प्रमुख खम्बा निजी क्षेत्रमा रहेका कमीकमजोरीको तत्काल सुधार अपरिहार्य छ । यसका लागि तपसिलबमोजिमको सुधारको अपेक्षा गरिन्छ ः
क. समाजमा असल र इमानदार उद्यमी व्यवसायी रहन्छन् र तिनलाई सरकार र समाजले सहजीकरण, सम्मान र सहयोग गर्नु पर्छ भन्ने मर्मका साथ नीतिगत सुधार र कार्यसस्कृति अवलम्बन गरिनु पर्छ ।
ख. लोकतान्त्रिक शासन प्रणालीको प्रमुख आधार कानुनको शासन भएकाले कानुनको अवज्ञा अक्षम हुने हुँदा गैरकानुनी गतिविधि निर्ममताका साथ नियन्त्रण गर्नमा निजी, प्रशासनिक र राजनीतिक क्षेत्रको कटिबद्धता एवं अग्रव्रिmयाशीलता हुनु पर्छ ।
ग. सरकारको प्राथमिकता प्राथमिक क्षेत्रको सबलीकरण, द्वितीय क्षेत्रको विकासमार्फत तृतीय क्षेत्रको स्थायित्व कायम गरी समग्र आर्थिक विकासको दिगोपना सुनिश्चित गर्ने हुनु पर्छ ।
घ. उत्पादन लागत घटाइ उत्पादकत्व बढाउन आवश्यक नीतिगत, कार्यप्रणाली तथा व्यवस्थापकीय सुधार गरिनु पर्छ ।
ङ. निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, निर्माण तथा पूर्वाधार विकासलगायतमा हासिल गरेको परिमाणात्मक उपलब्धिलाई विस्तार गर्दै गुणात्मक सुधारमार्फत जनविश्वास स्थापित गर्न इमानदार र उचित प्रयास गर्नु पर्छ ।
च. निजी क्षेत्रको संस्थागत विकासका लागि निजी क्षेत्रले व्यावसायिक र सङ्गठित रूपमा सञ्चालन भई संस्थागत सुशासनको सुनिश्चितता गर्नु पर्छ ।
नेपालको संविधानले सरकारी, निजी तथा सहकारीलाई अर्थतन्त्रको प्रमुख संवाहकको रूपमा अङ्गीकार गरेको छ, नेपालको आर्थिक विकासमा यी तिनै क्षेत्रको अहम् भूमिका रहन्छ । कुनै एक क्षेत्रको विकासबिना देशको समग्र विकास हुन नसक्ने र एक क्षेत्रको विकासले अर्को क्षेत्रको विकासलाई भरोसायोग्य टेवा पुग्ने हुँदा तिनै क्षेत्रका सबल पक्षको प्रवर्धन र कमीकमजोरीको निरन्तरको सुधार नै आजको आवश्यकता हो । राष्ट्रिय अर्थतन्त्रको विकासबाट नै नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन सक्छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य पूरा गर्नु राजनीतिक क्षेत्र, सरकार र निजी क्षेत्रलगायत प्रत्येक सचेत नागरिकको कर्तव्य हो ।