नारद कोहार
तौलिहवा (कपिलबस्तु), मंसिर ५ गते । कपिलबस्तुका कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन्। गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्ने मान्छेको आभव हुन थालेपछि जिल्लाको किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् ।
जिल्लामा अधिकांश ठाउँमा अहिले धान पाकेर पनि थन्क्याई सकिएको छ । अहिले किसानले दाइँका लागि थ्रेसर मेसिनको प्रयोग गरेका हुन् । गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कपिलवस्तुका किसान थ्रेसर मेसिनतर्फ आकर्षित हुँदै गएका हुन् ।
कपिलवस्तु नगरपािलका –६ थुम्हवा बस्ने किसान बरईका अनुसार गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल रहेको बताउनुभयो । पाइएका खेतालाको खर्च पनि महँगो छ । उहाँले भन्नुभयो, ‘थ्रेसर मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले खेती थन्क्याउन थ्रेसर मेसिनकै भर पर्ने गरेका छौं ।’
त्यस्तै, यशोधरा गाउँपालिका –२ भडेहरका कृषक तौलेश्वर तेलीले थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको बताउनुभयो । गोरु पाइन छाडे, जनशक्ति छैन कामदारको अभाव छ’ उहाँले भन्नुभयो, ‘यहीबेला मेसिन भित्रियो । सानोखाले भएकाले जताततै लान पनि सजिलो छ ।’
थ्रेसर मेसिन सञ्चालक लालबहादुर चौधरीका अनुसार थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने बताउनुभयो । उहाँले २ हजार ५ सय रुपियाँ प्रतिघन्टा थ्रेसर मेसिनले धान पराल छुट्याएको लिँदै आएका बताउनुभयो । कपिलवस्तुका किसानमा थ्रेसर मेसिनप्रति निकै नै आकर्षण रहेको चौधरीले बताउनुभयो ।
आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाए पनि मौलिक दाइँ संस्कृतिलाई पनि जोगाउनु उत्तिकै आवश्यक रहेको कृषक सानो विपत अहिरले बताउनुभयो ।
जिल्लाको दशवटै स्थानीय तहका किसानले थ्रेसर मेसिनबाट धान पराल छुट्याउने गरेका छन् । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलका अनुसार जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धानखेती हुने गरेको बताउनुभयो ।