बाबुराम देवकोटा
दुधौली(सिन्धुली), मङ्सिर ४ गते । सिन्धुलीको दुधौली नगरपालिका–४ बनगरा निवासी गृहिणी रञ्जना श्रेष्ठलाई घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईबस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।
‘एक घर, एक धारा’ अभियान अन्तर्गत गाउँमा एक वर्षअघि निर्माण सुरु भएको बृहत् खानेपानी योजना भर्खर निर्माण पुरा भएपछि आफूलाई फिल्टर गरेको स्वच्छ खानेपानीसँगै यो सुविधा पुगेको उहाँले बताउनुभयो ।
गृहिणी श्रेष्ठले भन्नुभयो, "खानेपानीका लागि गाँउभरिमा एउटा धारो थियो, पानी तुरर्र आउँथ्यो । पानी थाप्दा कहिले कहीँ त तछाड मछाड भएर झगडा हुन्थ्यो । उक्त योजना अन्तर्गत घर घरमा नै नयाँ धारा बनेसँगै अब भने यो समस्या सधैँलाई समाधान भएको छ ।" "अहिले त सबैको घर अगाडी धारामा चौबिसै घण्टा फिल्टर गरेको खानेपानी झर्छ, सबैलाई सुविधा भएको छ," उहाँले थप्नुभयो ।
गर्मी मौसम भने खानेपानीको मुहान सुक्न खानेपानीको लागि गाग्री बोकेर खोला–खोला हिँडेर सास्ती व्यहोरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । गाउँकै तमोर्नी खोलाको शिरमा मुहान बनाई नयाँ खानेपानी योजना निर्माण गरेपछि बनगरा र नयाँ बजारका लागि खानेपानी समस्या समाधान भएको स्थानीय उपभोक्ता बताउँछन् ।
उक्त वडाका अध्यक्ष रितबहादुर विश्वकर्माका अनुसार सङ्घीय सरकार(राष्ट्रिय योजना आयोग)को सहयोगमा बनगरा, नयाँ बजार र डकाहा बजारका गरी पाँच सय घर धुरीलाई खानेपानी सुविधा दिने गरी बृहत् खानेपानी योजना गत आर्थिक वर्ष ०८०-०८१ बाट सुरु भएको हो । पहिलो वर्ष ७६ लाख २४ हजार रुपियाँको लागतमा बनगरा र नयाँ बजारको केही भागलाई समेटर खानेपानी योजना पूरा भएको छ ।
अहिले दुई वटा, फिल्टर, ७० हजार लिटर क्षमताको पानी सङ्कलनको ट्याङ्की, इन्टेक र पाइप लाइन विस्तार लगायतका संरचना बनेको उहाँले बताउनुभयो । उक्त बजेटबाट बनगरा र नयाँ बजारमा ‘एक घर, एक धारा’का दरले ९० घरमा खानेपानी सुविधा चौबिसै घण्टा पाएको उहाँले सुनाउनुभयो । वडा अध्यक्ष विश्वकर्माले भन्नुभयो, "चालु आर्थिक वर्षका लागि पनि उक्त योजना अन्तर्गत नै एक करोड ३० लाख रुपियाँ बजेट आएको छ । उक्त बजेटको पनि टेन्डर भई सकेको छ ।"
बृहत् खानेपानी योजना यो वर्ष सकिने र उक्त योजना निर्माण पुरा हुँदा बनगरा, नयाँ बजार र डकाहा बजारमा गरी पाँच सय घर धुरीमा खानेपानी सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो । योजना वडा कार्यालय आफैले निर्माण गरेको र अब उपभोक्ताको समिति बनाई मासिक शुल्क तोक्न बाँकी रहेको वडा अध्यक्ष विश्वकर्माको भनाइ छ ।
सङ्घीय सांसद श्याम घिमिरेले निर्माण पुरा भएको उक्त योजनाको सोमबार एक समारोह बिच उद्घाटन गर्नु हुँदै निर्माण भएको खानेपानी योजनालाई दिगोपना दिन उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "मैले पनि एनजिओ मार्फत यसै जिल्लामा ५० वटा भन्दा बढी खानेपानीका योजना बनाए, तर सबै अहिले फेल भएका छन् ।"
"खानेपानीको योजना निर्माण गर्नु ठुलो कुरा होइन, निर्माण भएको योजनालाई दिगोपना दिनु चाहिँ ठुलो कुरा हो," उहाँले थप्नुभयो ।