अमरराज नहर्की
तनहुँ, मङ्सिर ४ गते । पृथ्वीराजमार्ग मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले यहाँ निर्माण गरेको सडक छ महिना पुरा नहुँदै भत्किएको छ । आयोजनाको पूर्वीखण्डले आँबुखैरेनी गाउँपालिका–२ बबुवामा सडक शुक्रबार भासिएर भत्किएको हो ।
२० मिटर दुरीसम्म सडक पूर्णरुपमा भासिएको र आसपासको क्षेत्र पनि चर्किने क्रम बढ्दै गइरहेको आँबुखैरेनी गाउँपालिका-२ का वडाध्यक्ष आसबहादुर गुरुङले बताउनुभयो । काम गुणस्तरीय गर्न गुरुङले आग्रह गर्नुभयो । गुरुङले भन्नुभयो, "भर्खरै निर्माण भएको सडक भत्किएको छ लापरबाही भयो मापदण्ड पुरा गरी निर्माण गर्न माग राखेका छौँ ।"
पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले पानीको मूल पलाएको कारणले गर्दा सडक भत्किएको र पानी तर्काएर पुर्न निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो । भण्डारीले भन्नुभयो, "बिग्रिएको सडकको पुनर्निर्माण हुन्छ त्यसमा स्थानीयले चिन्ता लिनु पर्दैन फेरी बनाउन निर्देशन दिइसकेका छौँ ।"
पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई वि.सं. २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । वि.सं. २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।
पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।
सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।