• २८ पुस २०८१, आइतबार

मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

blog

सडक निर्माणको काम हुँदै । तस्विर– ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ३ गते । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । 

सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक रूपमा बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवत–जावत बन्द गरिएको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिनुभयो । 

पर्वतका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा आइतबार जलजला गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजनाका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि सहितको बैठकले सडक निर्माणको कामलाई सहज बनाउन मङ्सिर ११ गतेसम्म दैनिक रूपमा ६ घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय भएको आयोजनाका सूचना अधिकारी चापागाईँले बताउनुभयो । 

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको छ । १३ किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । 

‘मालढुङ्गादेखि बेस हाल्ने काम सुरु भएको छ । मालढुङ्गा नजिकको सडकमा ठुलो ढुङ्गा खसेका कारण ढुङ्गा फुटाउन पनि सडक बन्द गर्नुपर्ने भएको छ । सवारी साधनको अत्यधिक चाप भएकाले आवत–जावत बन्द गरेर सडक निर्माणलाई गति दिन खोजेका छौँ’ सूचना अधिकारी चापागाईँले भन्नुभयो ।

एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । 

सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का कृष्ण जेभीका प्रतिनिधि दलबहादुर खड्काले मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणलाई तीव्रता दिएको बताउनुभयो । उहाँका अनुसार अहिले कुस्मा नगरपालिका –१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८ नाग्लीबाङको खनियाघाटसम्म बेस हाल्ने काम सकिएर प्राइम कोर्ट गर्ने तयारी गरिएको छ ।   

मालढुङ्गादेखि बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन २०७७ चैतमा  ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक निर्माण प्रभावित हुँदै आएको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । 

सार्वजनिक खरिद ऐनको १३ औँ संशोधनअनुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएपछि पुनः आगामी असार मसान्तसम्म म्याद थपिएको छ ।  

सडक निर्माणमा ढिलाइ हुँदा म्याग्दी र मुस्ताङ जाने यातायातका साधन सञ्चालन र यात्रुहरूलाई आवत–जावतमा समस्या भएको छ । साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको जलजला गाउँपालिका –४ का वडाध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । 

सडक निर्माणमा ढिलासुस्ती भएपछि पर्वतको जलजला र म्याग्दीका सर्वसाधारणले सडक निर्माणलाई गति दिन दबाब अभियान सञ्चालन गरेका छन् । सडक फराकिलो, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको मालढुङ्गादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्रका लागि सहायक बेस बिछ्याएको छ । 

विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अझै सुस्त रहेको छ । 

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर वि.स. २०७९ कात्तिकदेखि सडकको काम अलपत्र पारेपछि मुख्य ठेकेदार काममा फर्किएर निर्माणको काम अघि बढाइएको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताउनुभयो । 

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्रे गरिएको भए पनि एक दशक यता सडक जीर्ण बनेको छ । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।