• २८ पुस २०८१, आइतबार

पाउँदुरे नाचको जगेर्ना

blog

अमरराज नहर्की 

तनहुँ, मङ्सिर ३ गते । व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँदुरे नाँच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवा जुट्न थालेका हुन् । 

पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जगेर्ना गर्न पाका पुस्ताको अगुवाइमा पाउँदुरे नाच देखाउने र युवालाई सिकाउने गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाँच लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवा लागेको गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामान्यतया पाउँदुरे नाच्न तीन जना चाहिन्छ । दुई जना मारुनी अनिवार्य हो । केटा मान्छेलाई मारुनी बनाउँदा केटी मान्छेले लगाउने लुगामा सिँगार्नु पर्छ । एउटा समूहमा कम्तीमा दुई जना मादल बजाउन जान्ने मान्छे अनिवार्य चाहिन्छ भने गीत गाउन त जति भए पनि हुन्छ । “पाउँदुरे नाच्दै आउनुभएका टेकप्रसाद गुरुङ गुरुङ समुदायको निकै पुरानो नाँच हो,” उहाँले भन्नुभयो, “हामी पाका पुस्ताले यसलाई आजसम्म संरक्षण गरेका छौँ, हाम्रा छोरा नातिले गर्छन्, गर्दैनन्, सिकाउन भने थालेका छौँ । 

हाम्रो पहिचान र परम्परा बिर्सन हुँदैन भनेका छौँ ।’ पछिल्लो पुस्ताले पनि नाचमा चासो भने राख्न थालेको उहाँको भनाइ छ ।  पाउँदुरे नाचमा प्रस्तुत हुने गीतमा चारै दिशाका देवीदेवतालाई पुज्ने गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न देवीदेवतालाई पुजेर टुक्का बनाउँदै गीत भनिने उहाँले जानकारी दिनुभयो ।  

समाजमा आबद्ध ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउँदुरे नाच्ने गर्नुभएको छ । पाउँदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निर्वाह गर्नुभएको छ ।