शिक्षाको माध्यमबाट मानिसलाई मानिस भएर बाँच्न सिकाउँछ र सफल एवं सुखी जीवन यापन गर्न सक्षम र सम्भव बनाउँछ । शिक्षा भनेको सिक्ने सिकाउने प्रक्रिया हो, जसद्वारा उत्तरदायित्व वहन गर्न सक्ने सक्षम सिप अभिवृद्धि गर्ने, ज्ञान प्राप्त गर्न सक्ने प्रक्रिया हो । शिक्षा सामाजिक संस्कारको एक अङ्ग पनि हो । शिक्षाले मानव समाजलाई सकारात्मक प्रभाव पारी नैतिकताको पाठ पढाएको हुन्छ । विद्यार्थी जीवनदेखि सुरुवात गर्ने शिक्षाले व्यक्तित्व विकास गर्न मद्दत मिल्ने छ । विद्यार्थी भविष्यका तारा, भावी सन्तान, देशका जिम्मेवार वहन गर्नुपर्ने कर्णधार सन्तान हुन् । विद्यार्थीको समूहले नै राजा, राष्ट्रपति, नेता, डाक्टर, इन्जिनियर, विद्वान् वर्ग न्यायाधीश र अफिसर आदि बन्छन् । यसैले विद्यार्थीलाई उचित शिक्षा प्रदान गर्नु जरुरी छ ।
प्राचीन समयमा नेपालमा कचहरी, धार्मिक सभा, गुरुकुल जस्ता संस्थाले शिक्षा प्रदान गरिने छ । त्यस समयको शिक्षा साक्षरता मौलिक थियो । पछि शिक्षा दिने तरिका विभिन्न माध्यमद्वारा गरिने भयो । वैदिककालदेखि नै गुरुकुलमा बसेर वेद, दर्शन, दण्डनीति विषयमा शिक्षा लिने चलन थियो । विशेषतः हिन्दु र बौद्ध शिक्षा जस्ता धार्मिक शिक्षामै केन्द्रित हुन्थ्यो ।
गुरुको घर तथा आश्रममा बसेर शिक्षा लिने गथ्र्यो भने कोही बौद्ध शिक्षा लिनेमा विहार, वही गुम्बा, कुटीमा भिक्षु तथा बज्राचार्यबाट शिक्षा लिने गरिन्थ्यो । बिस्तारै शिक्षा शैक्षिक केन्द्रहरूको स्थापनाले शिक्षाको विस्तार हुन पुगे । मल्लकाल आएपछि शिक्षा क्षेत्रमा राजाहरूको ध्यान जान थालेपछि राजप्रसादमा विद्वान् ब्राह्मण तथा सिपयुक्तबाट आफ्ना सन्तानलाई सङ्गीत, साहित्य, कला र दर्शन तर्फ शिक्षादीक्षा दिन थाले । यस्तै राणाकालमा आएपछि संस्कृत भाषामा कर्मकाण्ड र हिन्दु समाजलाई चाहिने आधारभूत शिक्षा दिनमा जोड दिइयो ।
प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९१० मा दरबार स्कुल स्थापना गरे । यस्तै शिक्षा विभाग जस्तो स्थापना गरी केही पाठशाला स्थापना गरे । १९७५ सालमा चन्द्रशमशेरले त्रिचन्द्र कलेजको अङ्ग्रेजी माध्यमको कलेज स्थापना गरे । राणाकालको शिक्षा प्रणालीमा विशेषतः नैतिक शिक्षामा आधारित थियो । संस्कृत पाठशाला र गुरुकुलमा शिक्षा प्रदान गरिन्थ्यो । २००४ सालबाट नेपालमा आधार शिक्षासँगै साक्षरता शिक्षाको सुरु गरिए ।
नेपालमा २००७ सालको प्रजातन्त्रको उदयपछि शिक्षा नीतिमा आधुनिक शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिइयो । नैतिक शिक्षा धार्मिक र शिक्षाभन्दा पनि आधुनिक शिक्षातर्फ जोड दिइयो । पछि योजनाबद्ध रूपमा साक्षरता वृद्धि गर्न २०१३ सालबाट योजनाबद्ध सञ्चालन गर्न थालियो । पहिलो पञ्चवर्षीय योजना निरक्षरलाई साक्षर बनाउन केन्द्रित रहेको थियो । शिक्षालाई व्यावहारिक जीवनमा समयसापेक्ष हुनु पर्छ भन्ने धारणा लिई शिक्षा प्रणालीमा सुधार ल्याइयो । स्कुलदेखि लिएर विश्वविद्यालयसम्म आधुनिक शिक्षा दिइयो ।
पञ्चायतकालमा नयाँ शिक्षा ऐन अन्तर्गत २०२८ सालदेखि २०६२/ ६३ सम्म नेपालमा नैतिक शिक्षा अनिवार्य रूपमा चार कक्षादेखि आठ कक्षासम्म पढाइन्थ्यो । त्यस्तै ९ र १० कक्षामा भने ऐच्छिक विषयका रूपमा राखिएको थियो । २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गरियो यसले गर्दा संस्कृत र धार्मिक शिक्षाको पठनपाठनमा जोड दिइयो । नैतिक शिक्षाले विद्यार्थीमा देशभक्ति, राष्ट्रियता र स्वाभिमान जस्ता ज्ञान लिने अवसर मिलेको थियो ।
गणतन्त्रको जनआन्दोलनपछि संस्कृत विषय र नैतिक शिक्षालाई पाठ्यक्रमबाट हटाइयो । जसका कारण घर परिवारमा जिम्मेवारी आदर सम्मान, रीतिरिवाज र चाडपर्वमा सहभागी हुनेतर्फ ध्यान आकर्षित हुन सकेन । नैतिक शिक्षाको अभाव हुन गयो । ठुलाबडाको आदर, सम्मान, संस्कृतिप्रति वितृष्णा, चाडपर्वको ज्ञान अभाव र राष्ट्रप्रतिको नकारात्मक सोच, विदेश जाने मोहमा बढी आकर्षित हुन पुगे । शिक्षा पनि मानवीय संवेदना, संस्कृति, सभ्यता, समाज र मुलुकलाई विकासको बाटो लैजाने खालको भएन । शिक्षाले नै विद्यार्थीलाई राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकताबारे जानकारी पाउनु अवसर मिलेको हुन्छ । त्यसका लागि नैतिकताको ज्ञान अभिप्रेरित गरिने खालको शिक्षाको खाँचो छ ।
नेपाल बहुलजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मानिसले भरिएको देश हो । विभिन्न क्षेत्रमा विभिन्न जातजाति बसोबास गरेका छन् । यस्तै विभिन्न जातजातिका मानिसको भाषा, धर्म, संस्कृति र रहनसहन फरक फरक छन् । यसका लागि राष्ट्रिय एकताको खाँचो छ । राष्ट्रिय एकताको भावनाले राष्ट्रलाई एकजुट भएर अघि बढ्न अवसर दिन जरुरी छ । एकले अर्को जाति र तिनका भाषा, धर्म र संस्कृति कुराप्रति सद्भाव राख्ने हाम्रो परम्परा छ । राष्ट्रप्रति नागरिकको सचेतन नैतिक शिक्षाले प्रदान गर्ने छ । शिक्षाको माध्यमबाटै मानिस सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा सचेत बन्छ । दिन दिनमा जीवनमा आइपर्ने समस्यालाई समाधान गर्छ ।
महात्मा गान्धीले शिक्षाबाट बालक र मानिसको शरीर, मन र आत्मामा रहेका असल कुरालाई सम्पूर्ण रूपमा बाहिर ल्याउन सकिन्छ भनेका छन् । स्वामी विवेकानन्दले शिक्षाको उद्देश्य चरित्र निर्माण हुनु पर्छ भनेका छन् । नैतिकता सिकाउने शिक्षा जरुरी हुन गएको छ ।
आजको युग आधुनिक विज्ञान र प्रविधिको द्रुततर विकास र विस्तारका युग हो । आजकल मानिसमा असीमित इच्छा, आकाङ्क्षा र तृष्णामा प्रवाहित हुने भएकाले नैतिक शिक्षा लिने सम्बन्धमा ध्यान जान सकेको छैन । अचेल आधुनिक शिक्षाको विशेषता विद्यालय, विश्वविद्यालयले अर्थशास्त्र, विज्ञान, व्यवस्थापन, ललितकला, प्राविधिक शिक्षा आदि धेरै विषयका शिक्षा प्रदान गर्छन् तर सच्चा जीवन जिउने तरिका भन्ने बारेमा सिकाउने प्रक्रिया नैतिक शिक्षामा नै आधारित छन् ।
आधुनिक शिक्षाले विशेषतः काम कसरी गर्ने, कसरी कमाउने भन्ने बारेमा यथेष्ट ज्ञान दिलाउने शिक्षामा जोड दिएको हुन्छ । मानिसमा हुनुपर्ने ज्ञान जीवनको भोगाइ, दुःख, समस्या र आचरणबारे सिकाउने तर्फ ध्यान दिन सकेन । मानिसलाई चाहिने आधारभूत आवश्यकता अन्तर्गत गाँस, बास र कपास आदि महत्व हुनुको साथै सामाजिक मर्यादामा बस्ने, राज्यको संस्कृतिप्रति जानकारी लिन दिने नैतिक शिक्षा पनि उतिकै जरुरी छ ।
सबै तहका विद्यार्थीमा नैतिक मूल्य, मान्यता र आस्थालाई सम्बर्धन गर्ने ज्ञान प्रवर्धक शिक्षाको विषयमा पठन पाठन गर्न सरकारले स्कुल तथा क्याम्पसमा आवश्यक पाठ्यक्रम समावेश गर्नु जरुरी छ । यसले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक कर्तव्य, सामाजिक मूल्य मान्यताको नागरिक चेतना विकास गर्नमा सचेत हुने छ । यसैले नैतिकता, आध्यात्मिक सोच, मानवीय संवेदना, दया, माया, करुणा मैत्रीभाव, सहयोगको भावना जगेर्ना गर्ने खालको शिक्षा पाठ्यक्रममा समावेश हुनु पर्छ । शिक्षा जनचाहना अनुरूप हुनु पर्छ । मुलुकको सर्वाङ्गिण विकासका लागि नैतिक शिक्षा पनि आवश्यकता हो ।