सिराहा जिल्लामा रहेका १७ वटा पालिकामध्ये जिल्लाको पूर्वी र दक्षिण भारतीय सीमासँग जोडिएको गाउँपालिका हो भगवानपुर । ३३.०३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस पालिकाको पूर्वमा सिराहा र सप्तरीको सिमाना रहेको बलान नदी पर्छ । साबिकका इनर्वा, भगवानपुर र नहरा रिगौल गरी तीन वटा गाउँ विकास समिति मिलेर पाँच वटा वडामा यस गाउँपालिकाको गठन भएको हो । उत्तरमा सखुवानन्करकट्टी गाउँपालिका पश्चिममा नवराजपुर गाउँपालिका र दक्षिणमा नेपाल भारतको सिमाना पर्छ । ९० प्रतिशतभन्दा बढी किसानको बाहुल्य रहेको यस पालिकाको अध्यक्षमा नेकपा (एमाले) का जिल्ला सचिवसमेत रहनुभएका उग्रनारायण यादव विजयी हुनुभएको छ । समृद्ध भगवानपुर गाउँपालिका बनाउन शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर निर्वाचित हुनुभएका अध्यक्ष यादवसँग गोरखापत्र दैनिकका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :
तपाईं अध्यक्षमा निर्वाचित भएपछि चुनावी प्रतिबद्धता पूरा गर्न के कति काम अगाडि बढाउनुभएको छ ?
–अढाई वर्ष बित्नै लाग्दा यस पालिकाको समग्र विकासतर्फ ध्यान दिए पनि चुनावमा गरिएको प्रमुख प्रतिबद्धता शिक्षा, स्वास्थ्य र कृषि नै थियो । चुनावी प्रतिबद्धतालाई टेबुलमा मात्रै नराखी मस्तिष्कमा समेत सुरक्षित राखेर प्रतिबद्धता अनुरूप नै काम अगाडि बढाएका छौँ । आफूले सोचेर मात्रै विकास हुँदो रहेन छ । यसका लागि सकारात्मक माहोल आवश्यक हुन्छ । माहोल बनाउन केही समय खर्चियो । अब कामको गति देखिन थालेको छ ।
शिक्षा क्षेत्रमा भएका प्रगतिबारे बताइदिनुस् न ?
–यस पालिकाको शिक्षा क्षेत्रलाई सही बाटोमा ल्याउन ठुलो चुनौती थियो । भारतीय सीमा क्षेत्रमा रहेको यस पालिकाका केही विद्यार्थी भारतीय बजार लौकहा जाने गरेका छन् । अधिकांश विद्यार्थी लहानतर्फ पढ्न जान्छन् । गाउँमा रहेका गरिब तथा दलित परिवारका विद्यार्थी पालिकाको १७ वटा सामुदायिक विद्यालयमा मात्रै भर्ना रहेको अवस्थामा विद्यालयको भौतिक पूर्वाधार निर्माण र शिक्षक अभाव, शिक्षक भर्नाका लागि ‘एक कक्षा एक शिक्षक’ को नीति अख्तियार गरेर पालिकाबाट ३३ जना स्वयम्सेवक शिक्षक भर्ना गरेका छौँ । समग्रमा शिक्षा क्षेत्रमा पूरै परिवर्तन अहिलेसम्म नदेखिए पनि शैक्षिक सुधारका आधार तयार भइसकेकाले अर्को वर्षदेखि भगवानपुरको शैक्षिक प्रगतिलाई नमुनाको बनाउने गरी काम गर्न पालिकाको तर्फबाट आफू स्वयम्ले विद्यालय अनुगमन कार्यलाई गति दिइरहेको छु ।
स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगति सुस्त छ नि ? भगवानपुर स्वास्थ्य केन्द्रको सभा हललाई गाउँपालिकाले प्रयोग गरिरहेकोमा व्यापक जनगुनासो छ । यस विषयमा के भन्नुहुन्छ ?
–विरोध हुनु लोकतन्त्रमा सामान्य कुरा हो । विरोध हुनु पनि पर्छ, यसबाट सुधारको अपेक्षा हुन्छ तर विरोध सार्थक हो कि होइन, त्यो महìवपूर्ण कुरा हो । गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न नभएकाले स्वास्थ्य केन्द्रको भवन गाउँपालिकाले उपचारको समयबाहेक प्रयोग गरिरहेको सत्य नै भए पनि यसको विकल्पको खोजीमा लागिसकेका छौँ । एउटा स्वास्थ्य केन्द्र, चार वटा उपस्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा प्रभावकारी रूपमा भइरहेको छ । नेपाल रेडव्रmस सोसाइटीले उपलब्ध गराएको एम्बुलेन्स सेवाबाट थप उपचारका लागि बाहिर लैजाने व्यवस्था गरेका छौँ । गरिब तथा विपन्नलाई उपचारका लागि आर्थिक सहयोग पनि गरिरहेका छौँ । दीर्घरोगका बिरामीको उपचारका लागि स्वास्थ्य शिविर र आँखा उपचारका लागि ठाडीमा व्यवस्थापनका काम गरेर स्वास्थ्य क्षेत्रमा राम्रै काम गरिरहेका छौँ ।
नब्बे प्रतिशतभन्दा बढी किसान परिवार नै रहेको पालिकामा कृषकमुखी कार्य के भइरहेको छ ?
–अत्यन्त समसामयिक र सान्दर्भिक प्रश्न गर्नुभयो । पाँच हजार घरपरिवार मुसहर, खत्वे चमार (राम) लाई करार खेती गर्न पालिकाबाट सहयोग गरिरहेका छौँ । करार खेतीका लागि लाग्ने प्रतिकट्ठा दुई हजार पाँच सय रकम गाउँपालिकाले तिरिरहेको छ । प्रत्येक वर्ष कृषि मिटरको महसुल १६ लाख रुपियाँको किसानको बिल गाउँपालिकाबाट तिर्ने कार्य भइरहेको छ । हरेक किसिमको बिउमा पचास प्रतिशत अनुदान दिइरहेका छौँ । खेत खेतमा सिँचाइ पु¥याउन पाँच वटै वडामा नयाँ ट्रान्सफर्मर जडान कार्य अघि बढिसकेको छ । किसानलाई आइपर्ने कुनै पनि समस्या समाधान गर्न गाउँपालिकाले तुरुन्तै समाधानको नीति अपनाएको छ ।
सडक सञ्जाल निर्माणको अवस्था के रहेको छ ?
–छ किलोमिटर ढलान सडक निर्माण भइसकेको छ । १२ किलोमिटर ग्राभेल सम्पन्न गरेर हरेक गाउँटोलमा सवारीसाधन पुग्ने गरी सडक निर्माणको काम भएको छ । सडक निर्माणको कार्य सन्तोषजनक नै देखिए पनि हरेक गल्ली र मुख्य सडक व्यवस्थापनका लागि दीर्घकालीन योजना अघि बढाएका छौँ । १७ किलोमिटर चव्रmपथ निर्माणको कार्यसमेत अघि बढाउन गृहकार्यमा छौँ ।
सामाजिक सुरक्षा भत्तासम्बन्धी राम्रो कार्यको थालनी गरिरहेको चर्चा चलिरहेको छ नि ?
–सामाजिक सुरक्षा भत्ताका लागि एनआइसी एसिया बैङ्कको माध्यमबाट वडा कार्यालयबाट नै सामाजिक सुरक्षाको व्यवस्था मिलाएका छौँ । विगतमा जस्तो गाउँपालिका आउने झमेला पूरै हटाइएको छ । अशक्तलाई त वडा कार्यालयमा पनि होइन, कर्मचारीको माध्यमबाट घरमै पु¥याउने व्यवस्था मिलाएका छौँ ।
स्थानीय हाटबजारको व्यवस्थापन कसरी भइरहेको छ ?
–सबैभन्दा पुरानो बजार भगवानपुरलाई फराकिलो बनाउने काम भएको छ । जग्गाको विवाद सल्टाउने कार्य भइरहेको छ । गम्हरियामा समेत हाट लागिरहेको छ । भारतीय सीमासँग जोडिएको ठाडी बजारको अवस्था नाजुक छ । यसको व्यवस्थापनका लागि खुला सिमाना चुनौती रहेको छ । विगतका वर्षमा चिनियाँ सामान ठाडी बजारबाट सीमापारिका भारतीय ग्राहक आउँथे । अहिले भारतीय बजारमा नै सामान सस्तो पाउन थालेकाले नेपालका ग्राहक पनि भारतीय बजारतर्फ जान थालेको समस्या छ । यसको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग निरन्तर छलफलमा छौँ ।
लागुऔषध नियन्त्रण र सामाजिक जनचेतनाका लागि के कस्तो प्रयास भइरहेको छ ?
–लागुऔषध नियन्त्रणका लागि विद्यालयस्तरमा ठाडी बजारमा पटक पटक जनचेतनासम्बन्धी कार्यव्रmम गर्न र सँगसँगै धार्मिक तथा सांस्कृतिक र दाइजो प्रथा नियन्त्रणसम्बन्धी जनचेतना गर्न प्रत्येक वर्ष बिस लाख रुपियाँ विनियोजन गर्दै आइरहेका छौँ ।
विपत् व्यवस्थापनतर्फ यस पालिकाले कस्तो अभ्यास गरिरहेको छ ?
–बलान नदीले वडा नम्बर १ र ४ मा कटान जारी राखेको छ । यसको नियन्त्रणका लागि सङ्घ र प्रदेश सरकारसँग पहल थालेका छौँ । यस वर्ष सङ्घ सरकारबाट तीन करोड रुपियाँ पनि आएको छ । यस वर्ष चार हजार परिवारलाई चिसो छल्न कम्बल वितरण गर्ने कार्य अघि बढाएका छौँ ।
न्यायिक समितिले गरेका कार्य कत्तिको सन्तोषजनक छन् ?
–अढाई वर्षमा परेका १७५ वटा निवेदनलाई न्यायिक समितिले किनारा लगाएको छ । न्यायिक समितिमा रहेका वडाध्यक्ष, उपाध्यक्ष र मेलमिलाप समितिले राम्रो काम गरेको छ । गाउँपालिकाको न्यायिक समितिको काम अरू पालिकाका लागि प्रेरणादायी रहेको हाम्रो बुझाइ छ ।