• १० मंसिर २०८१, सोमबार

तीन कृतिमाथि अन्तरविमर्श

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते । साहित्यकार रमेश भान्दाइद्वारा लिखित कृतिहरू गङ्गाजल (लघुकथासङ्ग्रह), न आदि न अन्त्य (कथासङ्ग्रह) र बन्द ढोका (उपन्यास) माथि अन्तरविमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

सो कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद दाहालले लेखकको लेखाइ उत्कृष्ट भएको बताउँदै ८० वर्षको उमेरमा पनि उहाँको रचना गर्न सक्ने क्षमताको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कृतिको प्रतीक्षा रहिरहने बताउनुभयो । साहित्यकार रामप्रसाद पन्तले कृतिबारे भन्नुभयो, “उहाँले कृति निकालेर आफ्ना छोराछोरी भनौँ या एउटा सम्पत्ति नै जोड्नुभयो, जुन सम्पत्ति कहिल्यै सकिँदैन । यो भागबन्डा हुँदैन । यो आउने पुस्ताका लागि पनि धेरै नै उपयुक्त हुने छ । यसलाई कसैले चोरेर, ढाँटेर, लिएर जान सक्दैन । उहाँले यस्तो सम्पत्ति कमाउनुभएको छ ।” यसै गरी डा. तुलसी भट्टराईले पुस्तकमा उठाइएका पात्रहरू र घटनाक्रम उत्कृष्ट खालको भएको बताउनुभयो । 

लेखक भान्दाइले कार्यक्रममा उपस्थित सबै मेरो शुभचिन्तकको प्रोत्साहनले नै आफूले कृति लेख्न सकेको बताउनुभयो । उहाँले आफ्नो कृतिमाथि समालोचकलाई जे जस्तो लाग्छ, त्यही मात्र लेखिदिन पनि आग्रह गर्नुभएको थियो । वक्ताहरू विष्णुविभु घिमिरे, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्राज्ञ दिनेशराज पन्त, सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्र कोइराला र कल्पना खनाललगायतले तीन वटै कृतिमाथि आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा समालोचक युवराज मैनाली गङ्गाजल लघुकथा र न आदि न अन्त्यमाथि विचार विमर्श गर्नुभएको थियो ।