• २१ मंसिर २०८१, शुक्रबार

दाङमा खाद्यले किसानसँग धान खरिद गर्दै

blog

देउखुरीको गढवा गाउँपालिकामा किसानसँग धान खरिद गर्दै खाद्यको टोली । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक २२ गते । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान गरिद गर्न सुरु गरेको छ । खाद्यले बुधवारदेखि देउखुरीको गढवा गाउँपालिकाबाट यो बर्ष धान खरिद गर्न सुरु गरेको हो । 

पहिलो दिन ११ क्विन्टल धान खरिद गरेको खाद्यले दोस्रो दिन विहीबार करिव एक सय क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । जिल्लामा आठसय क्विन्टल धान गरिद गर्ने लक्ष्य लिएको खाद्यले धान खरिदका लागि गढवा गाउँपालिकासँग सम्झौता गरेको थियो । 

सोहीअनुसार अहिले गढवा गाउँपालिकामा किसानको बस्तीमै पुगेर धान खरिद गरिरहेको शाखा प्रमुख सुनारले बताउनुभयो । किसानको बस्तीमै आएर धान खरिद गरिरहेको भन्दै शाखा प्रमुख सुनारले भन्नुभयोे, ‘यसले गर्दा किसानले धानको सरकारले तोकेको मूल्य पाउनुभएको छ ।’ 

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य खाद्यले प्रतिक्विन्टल ३४ सय १० रुपियाँका दरले धान खरिद गरिरहेको बताउनुभयो । धान खरिदका लागि स्थानीय तहसँग समेत सम्झौता समेत गरेको भन्दै शाखा प्रमुख सुनारले यो बर्ष गढवा गाउँपालिकासँगै राप्ती राजपुर गाउँपलिका, लमही नगरपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा धान खरिद गर्ने तयारी गरिएको बताउनुभयो ।  

खाद्यले एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने जनाएको छ । खाद्यले जिल्लामा यस वर्ष आठ हजार क्विन्टल धान खरिद गर्ने भएकोछ । केही वर्षअघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष धान खरिद गर्ने निर्णय गरेको हो । 

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्न थालेको हो । असोज २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१–८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५ सय ८० रुपियाँ तोक्ने निर्णय भएको छ । जिल्लामा खाद्यले मोटा धान मात्र खरिद गर्ने जनाएको छ ।