नेपालमा विभिन्न जातजाति, वर्ण, धर्म र सम्प्रदायका विभिन्न भेषभूषा भएका मानिसको बसोबास छ । यी सम्पूर्ण जातजाति आआफ्नो किमिमले चाडपर्व, उत्सव, जात्रा र मेला सञ्चालन गर्ने गर्छन् । यी सम्पूर्ण जातजाति, वर्ण, धर्म र सम्प्रदायलाई जोड्ने सेतुको काम छठपर्वले गरेको छ । तराई भूभागमा सम्पूर्ण जातजातिले मनाउँदै आइरहेको छठपर्वमा धनी र गरिबबिचको भेदभाव गरिँदैन । गरिब परिवारका व्यक्तिले छठपर्र्वका लागि चाहिने सामग्री मागेर ल्याई मनाउने गर्छन् ।
छठपर्र्वका लागि मग्दा जोसुकैले पनि खुसीले दिने प्रचलन छ । वैज्ञानिकको धारणा अनुसार सूर्य किरणमा बसेर नुहाउनाले मानव शरीरमा लाग्ने केही रोगको निराकरण हुन सक्छ । घाममा बसेर नुहाउनाले मानिसको आँखाको तेज बढ्ने र आयु वृद्धि हुने जनविश्वास छ । सूर्यको प्रकाशबाट मानिसले आफ्नो शरीरमा चाहिने भिटामिन ‘डी’ प्राप्त गर्न सक्छ साथै बच्चा जन्मिने समयमा लाग्ने जन्डिस रोग पनि निको हुन्छ । सबै मान्यतालाई ध्यानमा राखी मानिस स्वस्थ रहन र आयु वृद्धि हुने छठपर्वकै माध्यमबाट सूर्य पूजा गर्ने गर्छन् । सूर्य देवता मात्र नभई समस्त प्राणीको जीवनदायी शक्ति पनि हो । सन्तान नहुने महिला सन्तान पाउन सूर्य उपासना गर्ने गर्छन् । समस्त जगत् साथै मानवका लागि अति आवश्यक भएकाले सूर्य पूजाप्रति जनविश्वास बढ्दो छ ।
छठ सबै जातजातिले साझा रूपमा मनाउन थालेका छन् । सामान्य अर्थमा भन्ने हो भने छठ पौराणिक तथा धार्मिक पर्व हो । यो पर्व विशेषतः नेपालको तराई पूर्व कोशी प्रदेश र मधेश प्रदेशमा भव्यसाथ मनाउने गरिन्छ । यो पर्वले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पनि व्यापकता पाएको छ । खास गरी काठमाडौँ उपत्यकाको नदी किनार साथै अन्य जलाशयमा पनि धुमधाम साथ छठपर्र्व मनाउने गरिन्छ । नेपाल तराईको विभिन्न जिल्लाबाट आएर बसोबास गर्नेहरूले छठ विशेष पर्वका रूपमा मनाउने गर्दछन् । नेपालको पश्चिम तराईमा पनि यो पर्व मनाउने गरिन्छ । छठ वर्षमा दुई पटक कात्तिक शुक्लषष्ठी र चैत्र शुक्लषष्ठीमा मनाउने गरिन्छ । यो पर्व वर्षमा दुई पटक मनाए पनि कात्तिक शुक्लषष्ठीमा मनाइने छठपर्वले बढी लोकप्रियता पाएको छ । तराईका विभिन्न वर्ण तथा जातजातिका मानिस व्रत बसी एउटै जलाशयमा समान रूपले भक्तिभावसाथ सूर्य देवतालाई अघ्र्य दिई पूजाआजा गर्छन् । सूर्य भगवान्को उपासना गर्ने परम्परा बौद्धिक कालदेखि चल्दै आएको हुँदा नेपाली छठपर्व श्रद्धा, विश्वास, नियम, निष्ठा र पवित्रतालाई ध्यानमा राखी सूर्यको पूजा गर्छन् ।
वेद पुराणमा उल्लिखित मान्यता अनुसार प्राचीन समयमा श्रीकृष्णका पुत्र साम्बाले आफू कुष्ठरोगद्वारा पीडित हुँदा सूर्य उपासना गरी सो रोगबाट मुक्ति पाएका थिए । भारत, चीन, जापान आदि देशमा पनि सूर्यलाई देवताका रूपमा मान्ने परम्परा छ । विश्वको लोकसंस्कृति तथा प्राचीन संस्कृतिमा पनि सूर्य देवतालाई भगवान्को रूपमा मानी पूजा गर्ने परम्परा कायमै छ । नेपालमा गोपाल वंशपछि किराँत शासनमा पनि प्रकृतिका विभिन्न देवतामध्ये सूर्य देवतालाई मुख्य देवता मानी पूजा गर्ने परम्परा थियो । लिच्छवि कालमा राजा मानदेवको शासन कालमा सूर्य मूर्तिको प्रतिष्ठान गरी पूजा गर्ने चलन छ ।
अंशु बर्माको शासन कालमा मुद्राहरूमा सूर्य चिह्न अङ्कित र शिला लेखमा पनि सूर्य चिह्न अङ्कित पाइएकाले पनि सूर्य पूजा गर्ने चलन थियो भन्ने स्पष्ट हुन आउँछ । जगदीशचन्द्र रेग्मीको भनाइ अनुसार पशुपतिनाथको आर्यघाटनेर एक गोलाकार पत्थर छ । त्यसमा एक जना ब्राह्मण पुण्ययोगीले स्थापना गरेको लेखिएको छ । त्यसैले नेपालमा लिच्छवि कालमा पनि व्यापारी वर्ग र ब्राह्मण वर्गमा सूर्य पूजाले व्यापकता पाएको थियो भन्न सकिन्छ ।
ऋग्वेदमा सूर्यबाट मानिसले दिनमा उज्यालो प्राप्त गर्न सक्ने भएकाले यसको प्राकृतिक र स्वाभाविक रूपमा पूजाआजा गरिनु पर्छ । यसैले सूर्य पूजाको थालनी मानिसको सृष्टिसँगै भएका तथ्य शुक्ल्यजुर्वेदमा उल्लेख छ । समस्त चराचर जगत्मा सूर्य छन्, त्यसैले मानिसले आदित्य ब्रह्म गरेर सूर्यको उपासना ग¥यो भन्ने उसले चिताएको कुरा पूरा हुने जनविश्वासछ ।
सूर्य देवताको उपासना गर्ने परम्परा बौद्धिक कालदेखि चल्दै आएको हुँदा यस क्षेत्रका मानिस छठपर्र्वमा श्रद्धा विश्वास, नियम, निष्ठा र पवित्रतालाई ध्यानमा राखी सूर्यको पूजा गर्छन् । छठपर्र्व चार दिनसम्म मनाइन्छ । चार वटा दिनका नाम बेग्लाबेग्लै छन् ।
अरवा अरवाइन : पहिलो दिन चौथी तिथिमा पर्ने पर्वलाई अरवा अराइन भन्छन् । यसको अर्थ हो– नुहाउनु र खानुभन्दा एक दिनअघि नै माछा, मासु, लसुन, प्याज, कोदो, फापर, मसुरो जस्ता खाद्य वस्तु खाइँदैन । व्रतालु नुहाइधुवाई गरी सात्विक भोजन गर्छन् ।
खरना : दोस्रो दिन पञ्चमीमा पर्ने यस पर्वलाई खरना भन्छन् । यस दिन व्रत बस्ने व्यक्तिले दिनभर निर्जल उपवास बस्नु पर्छ । राति चन्द्रमाको उदयपछि मात्र चन्द्रमालाई खिर पकाई अर्पण गरी सोही प्रसाद आफूले एक पटक मात्र खानुपर्ने विधान छ । बाँकी खिर घरपरिवार सबैलाई प्रसादका रूपमा बाँडिचुडी खाइन्छ ।
सन्ध्या अघ्र्य : षष्ठी तिथिमा पर्ने यस पर्वलाई सन्ध्या अघ्र्य दिइने पर्व वा छठपर्र्व भन्छन् । यस दिन व्रतालु र सबै परिवार मिली पूजा सामग्री लिई छठका गीत गाउँदै सजिसजाउ भएर इनार, पोखरी, नदी, सागर, जलाशय भएको पूजा गर्ने घाटमा जान्छन् । उक्त ठाउँमा गोबर माटोले लिपी पूजाका सामग्री मिलाएर राख्छन् । सोही ठाउँमा चामल, पिठोको रेखी हाली नयाँ वस्त्र धारण गरी पवित्र मनले अस्ताउँदो सूर्यलाई दण्डवत्, प्रणाम गर्दै पानीमा तीन पटक डुबुल्की मार्छन् । त्यसपछि एक घण्टा अगावैदेखि अघ्र्य दिन प्रतीक्षामा रहेका व्रतालु अस्ताउने लागेको सूर्यलाई पूजा सामग्री पालैसित देखाउँदै अघ्र्य दिन्छन् । सो अघ्र्य दिँदा व्रतालु आफ्नो इच्छा पूरा होस् अर्थात् भाकल गरेको सिद्धि होस् भनी बर मागी पोखरी, नदी, जलाशयको किनारमा आई बस्छन् । भिजेको लुगा फेरेर नयाँ लुगा लगाई भक्तजनसँगै छठी गीत गाई रमाउँछन् । कोही व्रतालु रातभरि समूह भई गीत गाई पोखरी, नदी किनारमा जागरण बस्छन् भन्ने कोही भक्तजन पूजाको सबै सामग्री लिई घरमा फर्किन्छन् ।
पारन : चौथो दिन सप्तमी तिथिमा पर्ने यस पर्वलाई पारन भन्छन् । यसको अर्थ हो– छठपर्र्वको सामग्री । यस दिन सूर्य उदाउनुभन्दा एक दुई घण्टाअगावै सम्पूर्ण सामग्रीसहित पोखरी नदी जलाशयमा पुग्छन् । व्रतालुहरू पोखरी, नदी, जलाशयमा डुबुल्की मार्छन् र उदाउँदो सूर्यलाई अघ्र्य दिनका लागि लोटामा पानी भरेर आफ्नो मनकामना पूरा होस् भनी वर माग्दै उदाउँदोे सूर्यको प्रतीक्षामा रहन्छन् । भाकल गर्ने वा नगर्ने पनि व्रतालु सूर्य भगवान्लाई पवित्र मनले ध्यान गरी पूजाको सामग्री हातमा लिई उदाउँदो सूर्यको अघ्र्य दिने गरिन्छ । सबै सामग्री सूर्य भगवान्लाई अर्पण गरी व्रतालु उक्त ठाउँको परिक्रमा गरी पुनः जलाशय किनारमा आउँछन् । सो समय छठ कथा वा गीत सुन्ने वा श्रवण गर्ने प्रचलन छ । यसरी व्रत कथा वा छठ गीत सम्पन्न भएपछि छठी मइया वा सूर्यलाई अघ्र्य दिई अर्पण गरिसकेको प्रसाद घरपरिवार र सबै सदस्यले बाँडीचुडी खाने गरिन्छ । यसरी राष्ट्रिय पर्व छठ व्रत समापन गर्ने चलन छ ।