• १० मंसिर २०८१, सोमबार

मोहना घाटमा छठ पूजाको तयारी

blog

छठ पूजाका लागि तयार पारिएको मोहना नदी घाट । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, कात्तिक २१ गते ।
 कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।

छठ पर्व भव्यताका साथ मनाउनका लागि नदी घाट व्यवस्थापनको साथै तयारी गरिएको छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो । उहाँले यस वर्ष छठ मनाउने भक्तजनको सङ्ख्या विगत वर्षभन्दा अझ बढी रहने उल्लेख गर्नुभयो ।

“यस वर्ष धेरे भक्तजनको उपस्थिति रहने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “तर, नदी किनारमा ठाउँ ठुलो नरहेका कारण थोरै समस्या भएको छ ।” मोहना नदीको बहाव परिवर्तनका कारण यस वर्ष छठ पूजाका लागि नदी किनारमा धेरै ठाउँ नरहेको अध्यक्ष मण्डलको भनाइ छ ।

छठ पर्वको अवसरमा नदी घाटमा भजनकिर्तन, स्थानीय झाँकी प्रदर्शन लगायतको कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । यसै गरी, सूर्य नारायणको मूर्तिलाई धनगढी बजार परिक्रमा गरिने जनाइएको छ । पहिलो दिन अस्ताउँदो र अर्को दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउने चलन रहेको छ ।