• १२ पुस २०८१, शुक्रबार

बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित

blog

पहाडी क्षेत्र राइकोटका किसान बिक्रीका लागि सुन्तला टिप्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, कात्तिक २१ गते ।
 नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् । अहिले किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।

अघिल्ला वर्षहरूमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने हुँदा किसानलाई सुन्तला बिक्री गर्न सहज भएको छ । नवलपुर जिल्लाको जिल्लाको बौदिकाली, बुलिङटारका पहाडी क्षेत्रका बबक, राइकोट, जौबारी लगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ ।

नवलपुरको बौदीकाली–५, बबकका गेस बहादुर रानाको दैनिकी सुन्तला टिप्ने र सङ्कलन गरी बेच्दै बित्ने गरेको छ । पेसाले शिक्षक भए पनि बिहान बेलुकाको समयमा कृषिमा समय दिँदै व्यावसायिक सुन्तला खेती गरेको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तला पूरै पाकिसकेको छैन तर चाडपर्व परेकाले छिटो टिपेर बिक्री गरेका छौँ । बबकबाट दसैँदेखि अहिलेसम्म करिब ८० क्विन्टल सुन्तला बिक्री गरिसकेका छौँ । सुन्तलाको ग्रेड अनुसार प्रतिकेजी  ५५–६० मा बिक्री भइसकेको छ ।” बबकमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ ।

बबक कृषि तथा पशुपालन फार्म दर्ता गरी करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गरेका रानाको परिवारले गत वर्ष सुन्तलाबाट करिब २० लाख आम्दानी भएको बताउँछन् । तीन सय २० सुन्तलाका बोट रोपेका रानाका परिवारले पनि उत्पादन भएको सुन्तलाको बजारीकरणमा समस्या झेल्नुपरेको छैन । बबकका २५ घरपरिवारले लगाएका सुन्तला बिक्रीका लागि आफूले सङ्कलन गरी व्यापारिक केन्द्रमा पुर्‍याउने गरेको रानाले बताउनुहुन्छ ।

यस्तै बुलिङटार ५ राइकोटका किसान भीम कुमारी डिसुवा मगरलाई यस पटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । केही वर्ष अघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने भए पनि अहिले व्यापारीले बगैँचाबाटै मूल्य गरी सुन्तला खरिद गरेर लैजाने गरेको उहाँको भनाइ छ । यस वर्ष गत वर्षभन्दा सुन्तलाको फल समेत राम्रो लागेको हुनाले सुन्तलाको उत्पादन बढ्ने मगरले बताउनुभयो  ।

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरवारी, झयालबास लगायतका ठाउँमा खुद्रा तथा होलसेलमा व्यापारी समक्ष घरघर पुर्‍याउने गरेको यामबहादुर खण्डलुक मगरले बताउनुभयो । व्यापारीको माग अनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजार सम्म पुर्‍याए मात्रै हुने उहाँले बताउनुभयो । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उहाँको भनाइ छ ।

गत वर्ष एक हजार ३४६ मेट्रिक टक सुन्तला उत्पादन भएकोमा यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरले जनाएको छ । जिल्लाको बौदीकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा करिब ८१८ हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि परियोजनाले व्यावसायिक खेतीका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ ।