• २६ पुस २०८१, शुक्रबार

कबड्डी प्रतियोगिताको उपाधि जमुवा क्लबलाई

blog

प्रथम वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेपछि पुरस्कार ग्रहण गर्दै जमुवा क्लब इनरुवा । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक २१ गते ।
सुनसरी सदरमुकाम इनरुवा ९ बबिया जमुवा खेल मैदानमा सम्पन्न भएको प्रथम वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि जमुवा क्लब इनरुवाले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा जिराइत क्लब इनरुवा ८ लाई पराजित गर्दै उपाधि चुमेको जमुवा क्लबले नगद सात हजार रुपियाँसहित पुरस्कार, सिल र पदक पाएको छ । त्यसैगरी पराजित हुँदै उपविजेतामा चित्त बुझाएको जिराइत क्लब इनरुवा ८ ले तीन हजार पाँच सय रुपियाँसहित दोस्रो पुरस्कार, सिल र पदक प्राप्त गरेको छ ।

बबियामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकका लागि खेलकुद” मुल नाराका साथ इनरुवा प्रथम वडास्तरीय कबड्डी प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो । इनरुवा ९ का वडा सदस्य तथा समाजसेवी रामसुन्दर मेहताले युवा खेलाडीहरुलाई प्रोत्साहित गर्न र खेलप्रति जागरुकता बढाउन जमुवामा प्रथम वडास्तरीय कबड्डी प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नुभएको हो ।

मेहताका अनुसार जिल्लामा पहिलोपटक इनरुवा नगरपालिका –९, बबिया (जमुवा), सुनसरीमा हजारौं दर्शक र १० टिमको सहभागितामा खेल सम्पन्न भएको हो । इनरुवा नगरपालिकाको विभिन्न वडा, बबियावासी र इनरुवा ९ नं.वडा कार्यालयको संयुक्त सहयोग तथा धनलक्ष्मी कृषक समूह बबियाको आयोजनामा सञ्चालित प्रथम वडास्तरीय कबड्डी प्रतियोगितामा उपाधिसहित प्रथम र उपविजेतासहित द्वितीय स्थान हासिल गर्न सफल टिमलाई पुरस्कार, सिल र पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा विजेता र उपविजेता खेलाडी तथा टिमलाई आयोजकसहित विशिष्ट अतिथि इनरुवा ९ नम्बर वडाध्यक्ष बसिर मंसुरी, इनरूवा –५ का वडा अध्यक्ष अनिल पोखेल, नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरी अध्यक्ष चिनेश्वर मेहता र धनलक्ष्मी कृषक समूहका अध्यक्ष उपेन्द्र मेहता, पत्रकार जयकृष्ण यादवसहितले पुरस्कार वितरण गर्नुभयो ।