• ९ मंसिर २०८१, आइतबार

मनै लोभ्याउने सुन्दर पुतली (फोटो फिचर)

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ भीमसेन मन्दिर परिसरमा फूल चुस्दै गरेका पुतली । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु कात्तिक २१ गते । विभिन्न रङमा सजिएका पुतली देखेर सबैको मन लोभिन्छ । हाम्रो वरिपरि धेरै प्रकारका पुतली पाइन्छन् । फूलको रस चुस्दै एक स्थानबाट अर्को स्थानमा उड्दा रमाइलो लाग्छ ।

संसार भर १८ हजार ५ सय प्रजातिका पुतली रहेको बताइन्छ । नेपालमा ६ सय ७८ प्रजातिका पुतली भेटिएको अभिलेख छ । पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले नेपालमा ६ सय ६० प्रजातिको पुतली रहेको रेकर्ड गर्नुभएको थियो । महेन्द्र सिंह लिम्बू, सुरेन्द्र परियार, सृष्टि पन्थी, सञ्जयराज तामाङ, पाइन्ट भान डी पोएल, अनिसा सापकोटा लगायतले थप प्रजाति फेला पार्नुभएको बताइएको छ । 

पुतलीको आयु प्रजातिअनुसार एक हप्तादेखि ६ महिनासम्म हुन्छ । केही हप्तादिन बाँच्छन्, केही एकदेखि तीन महिना । केही पुतलीको आयु ६ महिनासम्म हुने गरेको छ । भाले पुतली पोथीभन्दा केही ठुलो हुन्छ । 

संसर्गका लागि भालेले पोथी बसेको ठाउँनजिकै जान्छ । भालेले पखेटा फिँजाएर नाच्ने गर्छ । त्यही नाच राम्रो लागेर पोथी संसर्गका लागि तयार हुन्छे । अनि सँगै नाच्छ । संसर्गको केही समयपछि भाले पुतली मर्ने गरेको अध्ययनका क्रममा भेटिएको छ ।

प्रकृति सन्तुलन राख्न पुतलीको ठुलाे भूमिका हुन्छ । पुतलीले वातावरणीय काम पनि गर्छ । अप्रत्यक्ष रूपमा यसले उत्पादन बढाउन सहयोग गर्छ । फूलमा रस चुस्दाचुस्दै अन्नबाली, तेलहन र फलफूलमा पराग सेचन गर्न भूमिका खेल्छ । सानो भए पनि पुतलीलाई जैविक विविधताको महत्वपूर्ण अंश मानिन्छ ।