• १२ पुस २०८१, शुक्रबार

छठघाट निर्माणका लागि सात लाख सहयोग

blog

छठघाट बनाइँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, कात्तिक २१ गते ।
लहान नगरपालिकाको उत्तर पूर्वबाट बग्ने खुटी खोलामा छठ पर्व मनाउन घाट सजाउनका लागि लहान नगरपालिकाले सात लाख सहयोग गरेको छ ।

छठ पर्वमा लहानका सहरी क्षेत्रका वडा नम्बर १, ४, ५, ६, ७, ८, ९ र १० नम्बरका हजारौं भक्तजनले मनाउने छठपर्वको घाट सजाउन व्यक्तिगत खर्चबाट  छठघाटको सजावट दुई थरीका देखिने हुँदा छठघाट निर्माण समितिका अध्यक्ष समाजसेवी नवीन गुप्ताले  सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘छठघाट एकै किसिमको होस् भन्ने उद्देश्यले लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले वडा नम्बर ४, ५, ६, ७ र ८ का वडाध्यक्षहरु रामनाथ पण्डित, मो करिम, राम औतार शर्मा र श्याम सोनीको माध्यमबाट छठघाट सजाउन उक्त रकम खर्च गरिनेछ ।’’

लहान नगरपालिकाले यसवर्ष छठघाट निर्माणका लागि गरेको सहयोगले दलित विपन्न समुदायलाई ठूलो राहत मिलेको लहान–६ की रामकुमारी पासवानले बताउनुभयो । उहाँका अनुसार छठका लागि केरा र पूजा सामग्री खरिद गर्न पाँच हजारभन्दा बढी खर्च हुने अवस्थामा छठघाट निर्माणका लागि समेत दुई हजारसम्म खर्च हुन्थ्यो । छठघाटमा विद्युत् जडान समेत गरिदिएको सहयोगबाट दलित विपन्न समुदायका व्रतालुहरु निकै खुसी भएको उहाँको भनाइ छ ।

सातवटा वडाका हजारौं भक्तजनहरुका लागि लहान–४ देखि १० नम्बर वडासम्म खुटी खोलाको पश्चिमी किनारमा नगरपालिकाको जेसिबी, ट्याक्टरले घाट निर्माणमा दीपावली सकेलगत्तै काम गरिरहेको लहान–७ का वडाध्यक्ष रामऔतार शर्माले जानकारी गराउनुभयो ।

खुटी खोलाको किनारमा रहेको लहान–४, ५ र ९ मा रहेको सघन मुस्लिम बस्तीका स्थानीयहरु समेत छठपर्वमा हिन्दुहरुले पूजा गर्ने छठपर्वमा सहभागी भएर सामजिक एकता र सद्भाव देखाउँदै आइरहेको लहान–५ का वडाध्यक्ष मो करिमले बताउनुभयो ।

धार्मिक र सांस्कृतिक कार्यक्रमलाई महत्त्व दिएर लहान नगरपालिकाले हिन्दु र मुस्लिम समुदायले मनाउने पर्वहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन लहान नगरपालिका २४ वटै वडाका वडाध्यक्षहरुसँग समन्वय गरेर आउने वर्षदेखि अझै महत्त्व दिइने लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।

‘‘छठ पर्वको अवसरमा खुटी खोलामा छठघाट आपसी भेटघाट शुभकामना आदानप्रदान गर्ने व्यवस्था समेत मिलाइएको छ । सामाजिक एकता सद्भाव र नगरको विकासका लागि सबैको सहकार्यको आवश्यकता रहेको सन्देश प्रवाह गर्न जोड दिइएको छ’’,नगरप्रमुख चौधरीले भन्नुभयो ।