• २६ पुस २०८१, शुक्रबार

प्रदेश सरकारको योजना पर्यटकीय स्थल प्रवर्धन

blog

मुख्यमन्त्री चेतनारायण आचार्य सिद्धार्थ केबुलकारका विषयमा जानकारी लिनुहुँदै । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

बुटवल समाचारदाता 

बुटवल, कात्तिक २१ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशका ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा एक वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको लुम्बिनी केबुलकार र एक महिनाअघि सञ्चालनमा आएको सिद्धार्थ केबुलकार तथा बुटवलको ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्रको सोमबार र मङ्गलबार अवलोकन भ्रमण गर्दै प्रदेश सरकारले ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्न योजना बनाएको बताउनुभएको हो ।    

उहाँले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर पाल्पाको वसन्तपुर, पाल्पाकै रानीमहल, प्युठानको स्वर्गद्वारीलगायतका महìवपूर्ण स्थलमा घुम्ती रूपमा मन्त्रीपरिषद्को बैठक राख्ने योजना रहेको बताउनुभयो । 

लुम्बिनी केबुलकारको अवलोकन भ्रमण गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन, कृषि र उद्योगबाटै लुम्बिनी प्रदेशको विकास सम्भव भएको विश्वास व्यक्त गर्नुभयो । रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रूपमा विकास गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । 

भारतका पर्यटक नेपाल भित्र्याउन सके नेपालको बजार चलायमान बनाउन सहज हुने र बुटवलमा सञ्चालनमा आएका लुम्बिनी र सिद्धार्थ केबुलकारका विषयमा समेत प्रचारप्रसार गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड छ ।

लुम्बिनी केबुलकार अवलोकनसँगै मुख्यमन्त्री आचार्यले वसन्तपुरमा रहेको कामाख्यादेवी मन्दिरको दर्शन गर्नुभएको थियो ।

२०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबुलकारमा १७ महिनामा आन्तरिक र बाह्य गरी तीन लाख १५ हजार पर्यटक चढेको केबुलकारका अपरेसन म्यानेजर डिएन कायस्थले बताउनुभयो । 

यसै गरी मुख्यमन्त्री आचार्यले मङ्गलबार बिहान बुटवलमै रहेको सिद्धार्थ केबुलकारको समेत अवलोकन गर्नुभएको छ । त्यस क्रममा केबुलकार सञ्चालक समितिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सिद्धार्थ केबुलकारको विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । 

बुटवलको देउरालीडाँडादेखि पाल्पाको नुवाकोटगढी जोड्ने सिद्धार्थ केबुलकारको लम्बाइ १.९४ किलोमिटर छ । 

केबुलकारका सञ्चालक माधव नेपालले सिद्धार्थ केबुलकार प्रालिमा सामान्य अवस्थामा दैनिक पाँच हजार यात्रु बोक्ने क्षमता रहेको उक्त केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको जानकारी दिनुभयो । 

बुटवलकै ऐतिहासिक एवं पुरातात्त्विक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तरपूर्वपट्टिको शिखर देउराली हुँदै पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालन भएकाले अब यस क्षेत्रको पर्यटन विकासमा ठुलो टेवा पुग्ने अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताउनुभयो । 

केबुलकार पाँच सय मिटर जङ्गलको बिच हुँदै जान्छ भने बाँकी डेढ किलोमिटरको यात्रामा बुटवलसहित पर परसम्मको दृश्यावलोकन गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । 

केबुलकारको अन्तिम गन्तव्य पाल्पाको नुवाकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । नुवाकोट विगतमा राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार रहेको ठाउँ हो । यही ठाउँमा बसेर कर्णेल उजिरसिंह नेतृत्वको सेनाले अङ्ग्रेजलाई परास्त गर्न युद्ध रणनीति प्रयोग गरेको विभिन्न पुस्तकमा उल्लेख छ ।