• २६ पुस २०८१, शुक्रबार

मादलबाट राम्रो आम्दानी

blog

मादल बेच्दै जुठे बादी । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, कात्तिक २१ गते । चाडपर्वको समयमा घोराही उपमहानगरपालिका–१४, झिगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । अन्य समयमा मादलको कारोबार खासै नहुने भए पनि दसैँतिहारमा भने बिक्री राम्रो हुने गरेको बताउनुभयो । 

दसैँतिहारका अवसरमा मादल बिक्रीसँगै बिग्रिएका मादल बनाएर डेढ लाख रुपियाँसम्म आम्दानी गरेको उहाँको भनाइ छ । दसैँतिहारमा २५ वटा नयाँ मादल बिक्री गरेको र पुराना मादलको मर्मतबाट कमाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना मादल मर्मत गर्दा कम समयमा राम्रो आम्दानी हुने गर्दछ । दसैँमा थारू समुदायमा नाचका लागि र तिहारमा देउसीभैलो खेल्नका लागि मादलको माग बढी नै हुने गरेको छ । जसले गर्दा हाम्रो आम्दानी हुने गरेको छ ।” नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि दैनिक १५/२० जना मानिस आउने गरे पनि एक्लै काम गर्न धौ धौ परेको उहाँले बताउनुभयो । 

चाडपर्वको समय भएकाले मादल बनाउन आउने मानिसको सङ्ख्या धेरै भएको भन्दै उहाँले भन्नुभयो, “यो समय मादल बनाउने भ्याइनभ्याइ रहेको छ । अहिले जति धेरै काम गर्न सक्यो, त्यति धेरै आम्दानी हुने भएकाले दिनरात नभनी नयाँ मादल बनाउन र मर्मतमा लाग्ने गरेको छु ।” अन्य महिनामा खासै काम नहुने भए पनि असोज र कात्तिकमा मादलको कारोबार बढी हुने गरेको उहाँको भनाइ छ । 

मादल बनाउन जानेको मानिस पछिल्लो समय पाउन गाह्रो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले सानैमा बुवाबाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिकेँ, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु तर अहिलेका नयाँ पुस्तासँग न मादल बनाउने सिप छ न आकर्षण छ ।” विगत ५० वर्षदेखि निरन्तर घोराहीमा मादल बनाउँदै र बिक्री गर्दै आएका बादीको घरपरिवारको मुख्य स्रोत नै यही हो ।

बादीले भन्नुभयो, “सानैदेखि नै मादल बनाउने काममा लागेँ, हातमा अरू सिप छैन । उमेरले साथ दिएसम्म आफ्नो पेसा छोड्ने मन छैन ।” मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक सामग्री जस्तै काठ, छाला र खरी पाउनै समस्या भएको उहाँले बताउनुभयो । यसरी बनाइएका मादल साइज अनुसार तीन हजार पाँच सयदेखि ३० हजारसम्ममा बिक्री हुने गर्दछन् । मादल बनाउन मेहनत बढी हुने भन्दै उहाँले सबै सामग्री तयार भएमा कम्तीमा पनि एक व्यक्तिलाई दुई दिन लाग्ने बताउनुभयो ।