• २३ पुस २०८१, मङ्गलबार

अतिरिक्त हुलाक कार्यालय खारेज

blog

गुल्मी समाचारदाता 

गुल्मी, कात्तिक २१ गते । गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहतमा रहेका ६१ वटा अतिरिक्त हुलाक कार्यालयमध्ये १३ वटा खारेज भएका हुन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली, २०८० कार्यान्वयनमा ल्याएसँगै सो सङ्ख्यामा जिल्लाका अतिरिक्त हुलाक कार्यालय खारेज गरिएको हुलाक अधिकृत खेतबहादुर खत्रीले जानकारी दिनुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ देखि हुलाकको पुनर्संरचना सुरु गरेसँगै एक पालिका एक हुलाक नीति कार्यान्वयन गर्ने क्रममा सबैभन्दा पहिले अतिरिक्त हुलाक खारेज गर्ने तयारी अगाडि बढाएको थियो । सोही अनुसार अतिरिक्त हुलाकमा कार्यरत तीन प्रकारका कर्मचारी हुलाक प्रतिनिधि, डाँकवाहक र पत्र वितरक ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

यहाँ रहेका अतिरिक्त हुलाक कार्यालयमा कार्यरत १७९ जना कर्मचारीमध्ये ८३ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । नयाँ पदपूर्ति नहुने भएपछि बिस्तारै कार्यालय पनि खारेज हुने हुँदा नेपाल सरकारको नीति अनुसार यहाँका १३ वटा अतिरिक्त हुलाक खारेज भएको हुलाक अधिकृत खत्रीले बताउनुभयो ।

जिल्लाका म्यालपोखरी, दरबार देवीस्थान, जुभुङ, मर्भुङ, दर्लिङ, पौँदी अमराई, खड्गकोट, जोहाङ, हर्दिनेटा, हुँगा, ग्वादी, अर्लाङकोट र अर्खले गरी १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् । जिल्ला हुलाक कार्यालयको मातहतमा विभिन्न स्थानमा ११ वटा हुलाक कार्यालय र ४८ वटा अतिरिक्त हुलाक कार्यालय छन् । गत आव २०८०/८१ मा यस जिल्लामा सबैभन्दा धेरै हुलाक वस्तुको आयात गरिएको छ । विभिन्न जिल्लाबाट ५१ हजार ४१७ र विदेशबाट दुई हजार ३०३ हुलाक वस्तु आयात भएको हुलाक अधिकृत खत्रीले बताउनुभयो ।