• २६ पुस २०८१, शुक्रबार

धुलिखेल अस्पतालमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’

blog

गत मङ्गलबार पनौतीका एक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ को सफल प्रत्यारोपणपछि सामूहिक तस्बिर खिचाउँदै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली । तस्बिर सौजन्य : धुलिखेल अस्पताल

बनेपा समाचारदाता 

बनेपा, कात्तिक २१ गते । काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालले आफ्नो इतिहासमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’ को सफल प्रत्यारोपण गरेको छ ।

अस्पतालले मुटुको धड्कन घटबढका कारण हुन सक्ने स्वास्थ्य जटिलता रोक्न अस्पतालमा पहिलो पटक जिल्लाको पनौतीका एक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ राखेको हो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, डा. सूर्यराज पाठक, डा. निशान भट्टराईसहित  स्वास्थ्यकर्मीको टोलीले पहिलो पटक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ प्रत्यारोपण गरेको हो । “डुअल चेम्बर पेसमेकर एक विशेष प्रकारको मुटुमा राखिने ब्याट्री हो । मुटुको धड्कनमा गडबडी भयो भने पेसमेकर (जनबोली अनुसार ब्याट्री) राख्नुपर्ने हुन सक्छ । धड्कन नियमित बनाउन पेसमेकर राखिन्छ,” अस्पतालका मुटुरोग विशेषज्ञ डा. कोजूले भन्नुभयो । उहाँले अस्पतालमा पहिलो पटक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ राखिएको बताउनुभयो । मुटुरोग विशेषज्ञ भट्टराईले मुटुको धड्कन कम तथा रोकिएका बिरामीको धड्कन नियमित गर्न त्यस्ता बिरामीको मुटुमा पेसमेकर (ब्याट्री) राखिने बताउनुभयो । “मुटुभित्र चार वटा कोठा हुन्छन्, तीमध्ये दाहिनेतर्फका दुई कोठामा पेसमेकरका दुई वटा तार राखिन्छ भने साथमा छातीको माथिपट्टि सानो शल्यव्रिmया गरेर बनाइएको भागमा ब्याट्री राखिन्छ । यसलाई ‘डुअल चेम्बर पेसमेकर’ भनिन्छ,” डा. भट्टराईले भन्नुभयो । उहाँले ‘डुअल चेम्बर पेसमेकर’ राख्न जटिल भए पनि यसले बिरामीका लागि धेरै राम्रो हुने बताउनुभयो । “गत मङ्गलबार अस्पतालमा हाम्रो विभागका नियमित बिरामी हिँड्दा थकाइ लाग्ने, चक्कर लाग्ने समस्या लिएर आउनुभयो । जाँच गर्दा उहाँमा राख्नुपर्ने आवश्यक भएपछि हामीले ‘डुअल चेम्बर पेसमेकर’ राखेका हौँ । यो राखेपछि ब्याट्रीले माग अनुसारको तरङ्ग आफैँ दिन्छ । यसले मुटुले गर्नुपर्ने सामान्य काम गर्न मद्दत गर्छ र बिरामीलाई हिँडडुल गर्नसमेत सहज हुन्छ,” उहाँले थप्नुभयो । उहाँले पहिला पहिला मुटुमा ‘सिङ्गल चेम्बर पेसमेकर’ राखिँदै आए पनि प्रविधिको विकाससँगै ‘डुअल चेम्बर पेसमेकर’ राख्ने चलन बढेको बताउनुभयो । उहाँले डुअल चेम्बर पेसमेकरमा राखिएको ब्याट्रीले आठदेखि १० वर्षसम्म काम गर्ने बताउँदै ब्याट्रीको आयु छ÷छ महिनामा जाँच गरिने बताउनुभयो । 

डा. भट्टराईले ‘सिङ्गल चेम्बर पेसमेकर’ राख्दा एउटा बिरामीले एक लाखदेखि एक लाख २० हजारसम्म र ‘डुअल चेम्बर पेसमेकर’ राख्दा दुई लाख ३० हजार रुपियाँसम्म खर्च हुने बताउनुभयो । त्यसमध्ये एक लाख रुपियाँ स्वास्थ्य बिमाबाट बेहोर्न सकिने जानकारी उहाँले दिनुभयो । धुलिखेल अस्पतालमा सुरु भएको ‘डुअल चेम्बर पेसमेकर’ तथा मुटुसम्बन्धी विशिष्ट उपचारबाट काभ्रेपलाञ्चोकसहित मध्यपहाडी र तराईका मुटुरोगी लाभान्वित हुन सक्ने छन् । ‘डुअल चेम्बर पेसमेकर’ मनमोहन कार्डियोथोरासिक, गङ्गालाललगायतका राजधानीका अस्पतालमा राखिँदै आएको छ । उपत्यकाबाहिरका कमै अस्पतालले मात्र यो सेवा सुरु गरेका छन् ।