• १० मंसिर २०८१, सोमबार

पोखरामा क्रस कन्ट्री दौड हुने

blog

तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताबारे छलफलका लागि आयोजित बैठकमा बोल्नुहुँदै पोखरा महानगरका प्रमुख धनराज आचार्य। तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १६ गते । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुँदैछ । तिहार लगत्तै हुने अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा दौडका चार विधामा प्रतिस्पर्धा हुने छ ।

नेपाल र चीनका खेलाडी सहभागी हुने यो प्रतियोगितामा टिम समूहमा ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने छन् । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलका विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार पाउनेछन् । 

विद्यार्थी तर्फको स्पर्धामा विजेताले ३० हजार जित्ने छन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुन बाराहीघाट आएर सकिनेछ । 

प्रतियोगिताको तयारीका लागि शुक्रबार जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूसँग आयोजक संस्था र पोखरा महानगरपालिकाले छलफल गरेका छन् । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडीहरू जहाज चार्टर गरेर कुन्मिनबाट पोखरा आउने तय छ । 

प्रतियोगिताले पोखराको समग्र पर्यटन प्रवर्धनमा टेवा पुग्ने नगर प्रमुख धनराज आचार्य उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पोखरा नेपालको पर्यटन राजधानी सहर भएकाले पनि यसको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धनका लागि यस प्रकारका गतिविधिको विशेष अर्थ छ ।” पोखरामा यसका अलावा इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुँदै आएका छन् ।