हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक ८ गते । पछिल्लो समय सहरदेखि गाउँसम्म शौचालय सफाइ गर्ने आधुनिक मेसिन प्रयोगमा आएपछि डोम जातिको पेसा सङ्कटमा परेको छ । डोमहरू परम्परागत रूपमै सरसफाइ सम्बन्धी काम गर्ने गर्छन् ।
त्यसैपनि अप्ठ्यारो र अपहेलित काम । अझ प्रविधिको विकाससँगै सबैको पहुँचमा शौचालय सफा गर्ने सेक्सन पाइप पुगेपछि डोम जातिको रोजीरोटी नै खोसिएको छ । काम नै पाइन छोड्यो, मोरङको कानेपोखरी ६ का खुसीलाल मरिकले चिन्ता प्रकट गर्दै भन्नुभयो ।
पाँच जनाको परिवारलाई दुःखले जाउलो जुटाउँदै आउनुभएका दुखीलाललाई एक दशक अघिसम्म काम गर्न भ्याइ नभ्याइ हुन्थ्यो । ग्राहकले भनेको दिन काम गर्न कहिल्यै भ्याउनु हुन्न थियो उहाँ । गाउँ-गाउँमा सिमाना छुटाएर कामको जिम्मेवारी दिने चलन थियो । उसबेला ‘टन्न’ रक्सी पिएर नशामा लठ्ठ भई सफाइको काम गर्नु खुसीलालको दिनचर्या नै थियो । उबेला घर धनीसँग मोलमोलाइ हुँदैनथ्यो, खुसीलालले बोलेपछि घुमाई फिराई आफूले भने जति पैसा लिएरै छोड्नु हुन्थ्यो उहाँ ।
शौचालय सफा गर्नुपर्ने बाध्यता हुँदा घरधनीले मागेको दाम दिनै पर्थ्याे । तर अहिले समय फेरिएको छ । मोलमोलाइ शौचालय धनीले गर्छन् र पहिलेको तुलनामा आधाभन्दा कम पैसा दिएर काम लगाउँछन् । विगतको कमाई सम्झनामा मात्र सीमित छ । उहाँ भन्नुहुन्छ, "सहरमा सेक्सन पाइपले शौचालय सफा गर्न थाले । गाउँघरमा गोवर ग्याँसमा शौचालय जोडेर मानव मलमूत्रबाट इन्धन उत्पादन गर्न थाले । त्यसै त दुखी काम, त्यो पनि पाइन छोड्यो बाँच्नु धेरै छ तर कसरी पो बाँच्ने ?"
"अल्पसङ्ख्यक डोम जातिमा शैक्षिक, सामाजिक र राजनीतिक चेतना अत्यन्त कम छ । चेतना भएका केहीले आफ्नो जात र पहिचान नै बदलिसकेको दुखीलाल मरिकको भनाइ छ । जो धनी र पहुँचवाला भए उनीहरू हाम्रो बारेमा सोधखोज नै गर्दैनन्", दुखीलाल मरिकले भन्नुभयो ।
डोम जातिका केही युवाले सरकारी अस्पतालमा पोष्टमार्टम गर्ने जागिर पाएका छन् । तर त्यहाँ पनि उनीहरूको जागिर स्थायी हुन्न । अकालमा मरेका मानिसको लासमाथि छुरा चलाउने कष्टपूर्ण काम गरे बापत उनीहरूले थोरै पैसा पाउँछन् । पछिल्लो समय पोष्टमार्टममा समेत अन्य जातिका मानिसको प्रवेशले उनीहरू काम विहीन हुन थालेका छन् ।
गाउँदेखि सहरसम्म कामको अभाव भएपछि डोम जातिहरू अचेल वेत बाँसको कामबाट दैनिक गुजारा चलाउन थालेका छन् । वेत, बाँस र चोयाको काम गर्न खप्पिस उनीहरू भन्छन्, शौचालय सफाइको काम पाइन छोड्यो । पाइए पनि अन्य जातिले सफाइको काम गर्न थालेपछि डाला, पङ्खा, नाङ्ला, डोका बुन्न थालेको हौँ । परम्परागत पेसा सङ्कटमा परेपनि पापी पेट त भर्नै पर्ने, आफूलाई त एक छाक नखाऊ है भन्दा पनि हुँदो रहेछ । तर, छोराछोरीलाई नहुने ।
एक सय ५० रुपियाँमा किनेको एक घना बाँसलाई खिपेर चोया बनाउँछन्, अनि त्यही चोयामा हातको सीप भर्छन् र पङ्खा, डाला, बनाएर १५० रुपियाँको बाँस ७ सय रुपियाँ सम्म बेच्छन् । पैसा मनग्गै कमाइ हुन्छ तर बचत गर्ने बानी उनीहरूमा छैन । राम्रो कमाइ भएकाबेला बिहानदेखि साँझसम्म अघाउँजु मदिरापानको नशा लिन बानी परेका उनीहरू छठ पर्वमा बाँसका सामग्री बेचेर राम्रो कमाइ गर्छन् । तर पैसा भएपछि पैसा नसकिउन्जेल उनीहरू काम गदैनन् ।
त्यस्तै बानीले २० वर्षअघि अमितादेवीका श्रीमान् दसनु मरिकको रगत छाँदेर मृत्यु भयो । "यो घटनाले केही वर्ष सबैलाई झस्कायो तर अब त सबैले बिर्सेछन् क्या हो, बानी उही छ," झन्डै ६० पुगेका दुखीलालले विगत सुनाउनुभयो ।
अभाव, अशिक्षा र अज्ञानताका बिच जिन्दगी चलाइरहेका डोम जातिका समस्यालाई न त राज्यले सम्बोधन गरेको छ । न त गैरसरकारी सङ्घ संस्थाले नै। देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसक्दा पनि डोम जातिका समस्या ज्यूका त्युँ छन् । उनीहरूका समस्या सम्बोधन गर्ने जिम्मा राज्यको हो । तर राज्य पनि बेखबर छ ।
तीन तहमा सरकार भए पनि कुनै सरकारले डोम जातिको समस्यालाई सम्बोधन गर्न सकेको छैन । औषत आयु समेत ६० को हाराहारी मात्र रहेका डोम जातिको सीप र संस्कृतिको रक्षा नगर्ने हो भने डोमहरू एकादेशको कथामा मात्र भुटिनेछन् ।