• ५ कात्तिक २०८१, सोमबार

सहकारी छानबिन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही सुरु भएको छ: सञ्चारमन्त्री गुरुङ

blog

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ ।

काठमाडौँ, कात्तिक ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरुवाती कारबाही सुरु भएको बताउनुभएको छ ।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु भएको बताउनुभएको हो । 

उहाँले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताउनुभयो। 

उहाँले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताउनुभयो । उहाँले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा (नेपाल र मैथिली) मा समाचार सम्प्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रसारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रसारण गरिएको जानकारी दिनुभयो ।

उहाँले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार सम्प्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताउनुभयो । उहाँले ८ वर्षको गोरखापत्रको रेकर्ड डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले सय दिनको हनिमुन पिरेड पार गर्दैछौँ । यो सय दिनभित्र नेपाल सरकारको तर्फबाट विभिन्न मन्त्रालयलाई दिइएको जिम्मेवारी कहाँकहाँ पूरा भएको छ भन्ने बारेमा अब रिपोर्ट कलेक्सन हुँदैछ । हाम्रो मन्त्रालयलाई १५ वटा जिम्मेवारी दिएको थियो । त्यसमा सबै जिम्मेवारी पूरा गरेका छौँ । १८ घण्टा काम गरेको राससलाई २४ घण्टा काम गर्ने बनाऊ भनिएको थियो, त्यो हामीले बनाइसकेका छौँ । राससबाट थप दुई मातृ भाषामा नेपाल भाषा र मैथिली भाषामा पनि समाचार सम्प्रेषण गर्न भनिएको थियो, हामीले पूरा गरिसकेका छौँ । नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रसारण गरेका छौँ । २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप भनिएको थियो, दनुवार भाषा थपिसकेका छौँ । एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएको थियो त्यो सम्पन्न गरिसकेका छौँ । गोरखापत्रबाट ४४ वटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार सम्प्रेषण र प्रकाशन गर्ने काम भइसकेको छ । ८ वर्षको गोरखापत्रको रेकर्डहरू डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको छ । सहकारीको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा छौँ । प्रतिवेदनले औँल्याएका व्यक्तिलाई कारबाही गर्ने सुरुवात मात्रै भएको हो ।’’