• २८ असोज २०८१, सोमबार

भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे

blog

भरतपुर र कालिका नगरपालिका जोड्ने मुख्य राजमार्ग कालोपत्रे गर्दै । तस्विरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज २८ गते । भरतपुरबाट कालिका नगरपालिका जोड्ने मुख्य सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट पूर्वी चितवनको कालिका नगरपालिका हुदै रत्ननगर नगरपालिकासँग जोडिएर पूर्वपश्चिम राजमार्ग जाने सडकमा कालोपत्रे कार्य भएको हो । 

वर्षौदेखि सडक बिग्रदा कालिका नगरपालिका हुदै बैकल्पिक पूर्वपश्चिम राजमार्ग जोड्ने यो मार्गमा आवतजावत गर्न समस्या हुँदैआएको थियो । 

पूर्वी चितवनको  चैनपुर, पिठुवा, खैरहनी, राप्ती नगरपालिका जान यो बाटो छोटो पर्दछ । दसैँमा सवारी साधनको चाप हुने र कालोपत्रे नहुँदा समस्या भएको महसुस गरेर कालोपत्रे गरिएको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । दसैंमा यातायात सहज गराउन मुख्य सडकखण्ड कालोपत्रे कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । 

खगेरी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा.लिले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले विपीचोकदेखि पूर्व वडा नं. ४ जाने सडक पनि कालोपत्रे गरेको छ ।  

दुवै सडक एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गरिएको हो । नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको जानकारी दिनुभयो । यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको उहाँले जानकारी दिनुभयो ।